सुत्केरी पशुलाई भत्ता दिँदा बाँसगढीका किसान लाभान्वित
- सोमबार असार २० , २०७९
विन्दु चौधरी, बाँसगढी । बाँसगढी नगरपालिकाले चालू आर्थिक वर्षमा सुत्केरी पशुलाई भत्ता वितरण गरेको छ । पोषण सुत्केरी खाद्यान्न सहयोग कार्यक्रम अन्तर्गत सुत्केरी गाई तथा भैँसीलाई भत्ता वितरण गरिएको हो ।
बासँगढी नगरपालिकाको ९ वटै वडाका ३६५ सुत्केरी पशुलाई पोषण खाद्यान्न सहयोग उपलब्ध गराउन पशुधनीलाई रकम प्रदान गरिएको नगरपालिकाको पशु सेवा शाखाका प्रमुख ठाकुरदयाल शाहले जानकारी दिनुभयो । उहाँका अनुसार साना किसानले पालिरहका हरेक पशुलाई सुत्केरी भत्ता र पोषण सुत्केरी खाद्यान्न सहयोग अन्तर्गत दुई हजारका दरले वितरण गरिँदै आएको छ । पशु सुत्केरी भत्ता वितरणमा पशुको बीमा अनिवार्य गरेपछि पशु बीमा गराउने किसानको संख्या पनि बढ्दै गएको उहाँको भनाई छ । दुई चरणमा वितरण गरिएको पशु पोषण प्रोत्साहान भत्ता गत पुषमा १९१ सुत्केरी पशुलाई वितरण गरेको थियो सोमवार १७४ सुत्केरी पशुलाई भत्ता वितरण गरेको छ ।
संघिय सरकारको ८० प्रतिशत अनुदान, १५ प्रतिशत स्थानिय तहबाट र ५ प्रतिशत किसानको लगानीमा पशुको बीमा गरिएको थियो । पशुको क्षति भएमा बीमाङ्क रकमको ९० प्रतिशत रकम सम्बन्धित पशुधनीले क्षतिपूर्तिस्वरूप पाउने गरेको पशुसेवा प्राविधिक घनश्याम तिवारीले जानकारी दिनुभयो । आगामी आथिक वर्षमा भने संघीय सरकारले दिएको ८० प्रतिशत अनुदान सहयोगमा प्रदेश सरकारका तर्फबाट २० प्रतिशत थप अनुदान दिई बाली तथा पशुपन्छी बीमा निःशुल्क गरिने व्यवस्था मिलाएको छ ।
बाँसगढी नगरपालिकाका प्रमुख खडग बहादुर खड्काले किसानको मनोबल उच्च पार्न नगरले सदैव किसान लक्षित कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रको सुधार र व्यवस्थापन बिना आर्थिक समृद्धि हासिल गर्न नसकिने भएकाले साना कुरालाई माथि उठाएमा किसानको मनोबल उच्च पार्न सकिने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको उल्लेख गनुभयो । उहाँका अनुसार बाँसगढी नगरपालिकाई दूधमा आत्मनिर्भर बनाउने सङ्कल्प पूरा गर्न किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको बताउनु भयो ।