डेउढाकला स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री घोषणा
- आइतबार असार १९ , २०७९
विन्दु चौधरी, बाँसगढी । बासँगढी नगरपालिकाको डेउढाकला स्वास्थ्य चौकीलाई जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गरिएको छ । बासँगढी नगरपालिका वडा नम्बर ७ स्थित डेउढाकला स्वास्थ्य चौकीले पोषण सम्बन्धि सबै सुचकांङ्क पुरा गरेकाले एक कार्यक्रमका बिच पोषण मैत्री स्वास्थ्य चौकी घोषणा गरिएको हो ।
पोषणमैत्री स्वास्थ्य संस्था हुनका लागि हरेक स्वास्थ्य संस्थामा पोषण कर्नर स्थापना हुनेपर्ने, पोषण सम्बन्धि विभिन्न सूचना मूलक पोष्टहरु स्वास्थ्य संस्थामा प्रदर्शन गरिनुपर्ने, हरेक स्वास्थ्य संस्थाको २४ महिना सम्मका बालबालिकाहरुको नियमित वृद्धि अनुगमन गरेको ९५ प्रतिशतभन्दा माथि हुनुपर्ने, हरेक स्वास्थ्य संस्थामा स्तनपान सम्बन्धि पोष्टर टाँसेको, पूर्ण स्तनपान गराउने आमाहरु ९० प्रतिशतभन्दा माथि हुनुपर्ने, ६ महिनापछि थप खानेकुराहरु मातृशिशु तथा बाल्यकालिन पोषणको मापदण्ड अनुसार खुवाएको ९० प्रतिशत भन्दा माथि हुनुपर्ने लगाएतका पोषणमैत्री स्वास्थ्य चौकी घोषणाका लागि आवश्यकपर्ने १७ वटा सुचक पुरा हुनुपर्ने बासँगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिता घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य संस्था भएको वडा भित्र कुनैैपनि बालबालिका कुपोषण नभएको सुनिश्चित गर्नुपर्ने, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तरगत स्कुल जाने बालबालिकाले अर्धवार्षिक रुपमा जुकाको औषधि कम्तिमा ९५ प्रतिशतले खाएको हुनुपर्ने, कम्तिमा ९५ प्रतिशत गर्भवती तथा सुत्केरी महिलाले २ सय २५ चक्की आईरन फोलिक एसिड खाएको हुनुपर्ने, ६ देखि ५९ महिनाका बालबालिकाहरुले अर्धवार्षिक रुपमा भिटामिन ए र १२ देखि ५९ महिनाका बालबालिकाहरुले जुकाको औषधि ९५ प्रतिशतले खाएको हुनुपर्ने, स्वास्थ्य संस्थामा आउने सम्पूर्ण आमा तथा शिशुहरुलाई पोषण सम्बन्धि परामर्श दिएको हुनुपर्ने, नागरिक बडापत्रमा पोषण कार्यक्रम समावेश हुनुपर्ने र अभिलेख तथा प्रतिवेदन तोकिएको बमोजिम हुनुपर्ने प्रावधान छ ।
बासँगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले डेउढाकला स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य चौकी भएको बताउनु भएको छ । आगमी दिनहरुमा नगरभित्रका सबै स्वास्थ्य चौकीहरुलाई पोषणमैत्री स्वास्थ्य चौकी बनाउने बताउनुभयो । बासँगढी नगरपालिकाका वडा नम्बर ७ का वडाअध्यक्ष तथा डेउढाकला स्वास्थ्य चौकी ब्यवस्थापन समितिका संयोजक वलिराम चौधरीको अध्यक्षतामा भएको पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रममा बासँगढी नगरपालिकाका नगर प्रमुख, उपप्रमुख इन्दिरा चौधरी, स्वास्थ्य प्रमुख गिता घिमिरे, डेउढाकला स्वास्थ्य चौकीका इञ्चार्ज हुमनाथ देवकोटा, जनजागरण महिला संघकी अध्यक्ष गोमा पाण्डे, महिला स्वास्थ्य स्वयम सेविका, विद्यालयका प्रधानाध्यपक, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।