पूर्वाधार, कृषि, शिक्षा र रोजगार केन्द्रित स्थानिय तहको बजेट
- सोमबार असार १३ , २०७९
यादव आचार्य, गुलरिया । बर्दियाका स्थानियतहहरुले निति तथा कार्यक्रम मार्फत बजेट सार्वजनिक गरेका छन् । पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारी स्थानिय सरकारको प्राथमिकतामा छन् । गुलरिया नगरपालिकाले भने वितरणमुखी कार्यक्रमहरुलाई निरुत्साहितगर्दै उत्पादन मुखी पालिका बनाउने निति लिएको छ ।
बर्दियाका गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बारबर्दिया, बाँसगढी नगरपालिका र गेरुवा गाउँपालिकाले आर्थिक बर्ष ०७९/८० का लागि निति तथा कार्यक्रमहरु मार्फत बजेट सार्वजनिक गरी घनीभुत छलफलमा ब्यस्त छन् । जिल्लाका सबै स्थानिय पालिकाहरुले पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकतामा राखेका छन् । जिल्लाकै जेठो गुलरिया नगरपालिकाले पनि आगामी बजेट निर्माणको लागि छलफल शुरु गरेको छ । कृषि, घरेलु उद्यम, पशुपालन ब्यवसायमा जोड दिई आयमुलक रोजगारीका अवसर श्रृजनागर्दै गरीबी न्युनिकरण गर्ने गुलरिया नगरपालिकाले लक्ष्य लिएको गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले बताए ।
कोभिड १९ लगायत प्राकृतिक प्रकोपबाट रोजगारी गुमाएका नगरका स्थानियलाई रोजगारी श्रृजना गरी स्वरोजगार बनाउने निति नगरको छ । बर्दियाका सबै पालिकाहरुले पूर्वाधार, कृषि, पशुपालन, सरसफाई, शिक्षा, स्वास्थ्यलाई केन्द्रमा राखी अघि बढ्ने निति लिईएको प्रमुख यादवले प्रष्ट्याए । गुलरिया नगरपालिकाले चालु आवको भन्दा बढी बजेट प्रक्षेपण गरेको छ । आगामी बर्षका लागि रु १ अर्व ५ करोड अनुमानित बजेट नगरसभामा पेश गरेको गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले बताईन् । कृषि तथा पशुपंक्षी क्षेत्रको विकास र सुधार गरी उत्पादन र उत्पादकत्व बृद्धिगर्दै रोजगार श्रृजना गर्ने लक्ष्य हाम्रो छ ।
उनले भनिन् नगरमा गुणस्तरिय स्वास्थ्य सेवा, शिक्षा, स्थायी भौतिक पूर्वाधार, कोभिड १९ रोकथाम, नियन्त्रण, आय आर्जन बृद्धि गर्ने लगायतका बिषयमा नगरले जोड दिएको छ । बर्दियाको बढैयाताल गाउँपालिकामा नगरसभा शुरु हुन सकेको छैन । बाँकी पालिकाहरु आगामी बजेट निर्माणको तर्खरमा जुटेका छन् । गुलरिया नगरपालिकाले वितरणमुखी कार्यक्रमहरुलाई निरुत्साहितगर्दै उत्पादनमुखी बनाउने तर्फ जोड दिएको गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटले जानकारी दिए । आन्तरिक, प्रदेस र संघीय सरकारको बजेटबाट आय अनुमान गरी बार्षिक बजेट सुनिश्चित गरेका छौं उनले भने । नेपालको संविधानको धारा २३० तथा स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ अनुरुप आगामी बजेटको आय ब्यय प्रस्तुत गरिएको हो ।
आन्तरिक राजस्व, राजस्व वाडफाँडबाट प्राप्त हुने रकम र विभिन्न अनुदान रकमबाट अनुमानित बजेट प्रस्तुत गरिएको छ । बर्दिया जिल्ला पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायत सरसफाईका दृष्टिले पछि पारिएको जिल्ला हो । यहाँका नागरिकका आवस्यकताहलाई प्राथमिकता दिई स्थानिय सरकारहरुले दीगो विकासका लागि प्रभावकारी रुपमा बजेट निनियोजन गर्नु पर्ने स्थानियको भनाई छ । मधुवन नगरपालिकाले पनि १ अर्व ५ करोड ६८ लाख २८ हजार रुपैया आगामी बजेट प्रस्तुत गरेको छ । पूर्वाधार, स्वास्थ्य, शिक्षा, सरसफाई, खानेपानी, रोजगारी देखि हरियाली सम्म नगरको प्राथमिकतामा परेको मधुवन नगरपालिकाका प्रवक्ता मेक बहादुर गुरुङले बताए ।
राजापुर नगरपालिको पनि बजेट सार्वजनिक गरेको । नगरउप्रमुख मनकला कुमारी चौधरीले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिदै १ अर्व ३ करोड ७४ लाख रुपैया आगामी बर्षको बजेट नगरसभामा प्रस्तुत गरेकी छिन् । बारबर्दिया नगरपालिकाको कृषि, शिक्षा, स्वास्थ्य लगायता क्षेत्रमा केन्द्रित हुँदै उपप्रमुखले ८९ करोड ८७ लाख रुपैया बजेट प्रस्ताव पेश गर्नु भएको हो । गेरुवा गाउँपालिकाले पूर्वाधार कृषि, पशु, युवा उद्यमी, स्वास्थ्य, शिक्षा, पढ्दै कमाउँदै लगायत बडघरलाई सक्षम पार्ने निति सहित ५४ करोड ५७ लाख रुपैया गाउँसभामा प्रस्तुत गरेको गेरुवा गाउँपालिकाका सुचना अधिकारी प्रकाश शर्माले जानकारी दिए ।
बाँसगढी नगरपालिकाले पनि कृषि, युवा लगायत स्वास्थ्य, शिक्षा, रोजगार क्षेत्रलाई प्राथमिकतामा राखी ८४ करोड ८९ लाख ९७ हजार रुपैया नगरसभामा पेश गरेको बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले बताएका छन् । ठाकुरबाबा नगरपालिकाले पूर्वाधार, कृषि, शिक्षा, पर्यटन, संरक्षण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ । बढैयाताल गाउँपालिकामा विवाद श्रृजना भई कार्यपालिकाको वैठक हुन नसक्दा गाउँसभाको उद्घाटन शत्र रोकिएको गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले बताए ।सभा शुरु नहुँदा गाउँपालिकाले निति तथा बजेट प्रस्तुत गर्न पाएको छैन ।