गेरुवा–राजापुर क्षेत्रमा बारम्बार लोडसेडिङ हुँदा स्थानिय हैरान
- आइतबार असार १२ , २०७९
मिन अधिकारी, राजापुर । बर्दियाको भौराक्षेत्रमा भैरहेको अघोषित लोडसेडिङले स्थानीय उपभोक्ता समस्यामा परेका छन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा विद्युत सेवा सञ्चालन गर्न राजापुरको नयाँगाउँमा सवस्टेशन निर्माण गरेपछि विद्युत सेवा अवरुद्ध नहुने विश्वास लिएका भौरा क्षेत्रका स्थानीय अहिलेको विद्युत अनियमितताको मारमा परेका हुन् ।
विद्युतको अनियमितता हुन थालेपछि यस क्षेत्रको जनजीवन र अधिकांश व्यापार व्यवसायहरु समस्यामा पर्न थालेको गुनासो व्यापारीहरुको रहेको छ । वर्षामा भवितव्य बाहेक लाईन काट्न परे पनि सुचना गरेर बन्द गरेमा सहज हुने स्थानीयको सूझाव छ । राजापुर वितरण केन्द्रका प्रमुख सुनिल पौडेलले आफुहरु भौराक्षेत्रको विद्युत सुचारु र नियमित गर्न निरन्तर लागि रहेको र कुनै पनि कारणले अबरुद्ध गर्न परे सुचना गरेर मात्रै अबरुद्ध गर्ने गरेको वताउनु भयो ।
कहिले काँही सिष्टम फेल हुने समस्या र राजापुरमा आउने ३३ केभीको लाईन कैलालीको लम्की, टिकापुर हुदै आउने भएकाले उतैबाट धेरै समस्या आउने गरेको राजापुरको वितरण केन्द्र प्रमुख पौडेलको भनाई छ । विद्युत अनियमितता समस्या समाधानका वारेमा आफु लम्की, टिकापुर वितरण केन्द्रका प्रमुखसँग छलफल गरि अगाडि बढ्ने उहाँको भनाई छ । यस्तै गत वर्ष राजापुर क्षेत्रको विभिन्न गाउँमा विद्युत सर्ट भएर भएको नोक्सानीको आफुहरुले क्षतिपूर्ति नपाएको पिडितले गुनासो गरेका छन् । विद्युत सर्ट हुदाँ सो क्षेत्रमा क्षती हुने गरेको छ ।
तत्कालिन वितरण केन्द्रका प्रमुख शशीकान्त तिवारीलाईलाई गत साउन १९ गते ३ लाख ४० हजार ६ सय १५ रुपैयाँ बराबरको क्षती विवरणका बारेमा ज्ञापन पत्र पेश गरेका स्थानीयले क्षतिर्पूिर्त नपाएको गुनासो गरेका हुन् । क्षतिपूर्तिका वारेमा विद्युत सर्ट भएर भएको नोक्सानीको विवरणहरु सबै शाखाबाट केन्द्रमा पठाउने गरिएको र केन्द्रले मूल्याङ्कन गरेर निर्णय लिने भएकाले आफुहरुले केही भन्न नसक्ने वितरण केन्द्र प्रमुख पौडेलको भनाइ छ ।