fbpx

मधुवन नगर पालिकाको बजेट रोजगारी देखि हरियाली सम्म

मधुवन नगर पालिकाको बजेट रोजगारी देखि हरियाली सम्म

हरि गुरुङ, मधुवन । बर्दियाको मधुवन नगरपालिकाले शिक्षामा विशेष जोड दिदै शुक्रबार नगर सभा सम्पन्न गरेको छ । मधुवन नगरपालिकाको दशौं नगर सभामा नगर उप–प्रमुख अनिता चौधरीले आर्थिक बर्ष २०७९/०८० को अनुमानित बजेट १ अर्व ५ करोड ६८ लाख २८ हजार रुपैया प्रस्तुत गर्नुभएको छ ।

चालू बजेट तर्फ ७३ करोड १६ लाख रुपैया र पुँजीगत तर्फ ३२ करोड ५३ लाख २५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ । मधुवन नगरपालिकाले शिक्षा तर्फ विशेष जोड दिएको छ । पालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि कक्षा १० सम्म निःशुल्क र कुनै पनि शिर्षकमा शुल्क लिन नपाईने प्रावधान राखेको छ । विद्यालयलाई अतिआवश्यक चाहिने विद्युत महशुल, परिक्षा, खानेपानी र शिक्षक तलब अन्य मसलन्द खर्चका लागी १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
त्यसैगरी कक्षा ११/१२ र क्याम्पसमा अध्ययनरत गरिब, जेहेन्दार तथा अपाङ्गता भएका विध्यार्थीका लागी छात्रवृत्तिको ब्यवस्थापन गर्न आवस्यक बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले वडा स्तरीय योजना संचालनका लागि ९ वटै वडामा प्रति वडा ८५ लाखका दरले रकम विनियोजन गरेको छ । मधुवन नगरपालिकाले भौतिक पुर्वाधार तथा शहरी विकासका लागि २ करोड, शिक्षा, युवा तथा खेलकुद तर्फ ४ करोड ५० लाख, स्वास्थ्य तर्फ १ करोड ७० लाख, पशु सेवा तर्फ १ करोड ५ लाख, कृषि सेवा तर्फ ८० लाख, महिला, वालबालिका, जेष्ठ नागरिक तथा लक्षित बर्ग तर्फ ६० लाख, न्यायीक समिती तर्फ १५ लाख र घरेलु उधोग तथा सहकारी विकास तर्फ २० लाख रकम विनियोजन गरेको नगर उपप्रमुख अनिता थारुले बताउनु भएको छ ।

तपाइको मत