श्रम सुचना बैंक स्थापना गर्ने मधुवन नगरपालिकाको निति
- शुक्रबार असार १० , २०७९
हरि गुरुङ, मधुवन । मधुवन नगरपालिकाको दशौं नगर सभामा श्रम सुचना बैंक स्थापना गर्ने निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । मधुवनका नगर प्रमुख तेज बहादुर भाटले प्रस्तुत गरेको कार्यक्रममा रोजगार ब्यवस्थापन सुचना प्रणाली मार्फत श्रम बजारमा रहेका श्रमीकहरुको सीप र क्षमताको उपयोग गर्न सहज हुनेगरी उनीहरुको ब्यक्तिगत विवरण रहेको श्रम सुचना बैंक स्थापना गर्ने लक्ष्य सहितको कार्यक्रम प्रस्ताव गरिएको हो ।
नगरसभाको प्रारम्भमा मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरीले नगरमा कार्यरत कर्मचारी लगायत जनप्रतिनिधिले मुस्कान सहितको सेवा दिन आग्रहगर्दै नगरप्रमुखलाई निति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गर्नुभएको थियो । कार्यक्रममा निति प्रस्तुतगर्दै नगर प्रमुख भाटले नगरमा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना मार्फत युवालाई रोजगारी श्रृजना गरिने बताउनु भयो । विपन्न नागरिकलाई मर्यादित रोजगारी प्रदान गर्न प्राथमिकता क्रममा परेका वेरोजगारलाई रोजगारी सुनिश्चित गर्ने बताउनु भयो ।
त्यस्तै नगरको भौतिक पूर्वाधार तथा शहरी विकासका लागि नगर गुरुयोजना निर्माण गरी भौतिक पूर्वाधार विकासका कार्यहरुलाई ब्यवस्थितगर्दै लैजाने बताईएको छ । मधुवन नगरलाई वातावरणमैत्री वनाउन सडकको दायाँबायाँ खाली रहेको क्षेत्रमा उपभोक्ता स्वयम्ले बहु उपयोगी बोटविरुवा रोपी हुर्काउने र उपयोग गर्ने गरी हरियाली प्रर्बद्धन गर्न प्रोत्साहन गर्ने निति बनाईएको छ ।
निशुल्क गुणस्तरिय शिक्षा मधुवन नगरपालिकाको प्रतिवद्धता रहेको छ । आगामी आर्थिक बर्षदेखि कक्षा १० निशुल्क पठन पाठनको ब्यवस्था मिलाईने छ । दीर्घ कुपोषणलाई न्युनिकरण गर्न हजार दिन भित्रका आमा र बच्चाहरुको पोषण सम्वन्धी कार्यक्रमहरु संचालन गर्ने निति नगरको छ । गर्भावस्ता, प्रशव तथा सुत्केरी अवस्थामा मातृ तथा बालमृत्यु रोक्न मातृशिसु कार्यक्रम संचालन गरिने छन् ।
पशुपालन ब्यवसायलाई ब्यवसायिकिकरण, आधुनिकिकरण, विविधिकरण, बजारीकरण र यान्त्रिकीकरण गरी आयात प्रतिस्थापनगर्दै निर्यातको दर बढाउने,रोजगारी स्थापना गर्ने गरिवी निवारणको मुख्य स्तम्भको रुपमा लिंदै पशु ब्यवसायलाई सम्मानित पेशाका रुपमा स्थापना गर्ने निति लिईएको छ । स्थानिय, संघीय र प्रदेस सरकारको सहकार्यमा नगरको दीगो कृषि विकास गर्नका लागि खाद्यान्न, दलहन, तेलहन, आलु तरकारी तथा मसाला बालीको उत्पादन क्षेत्र पहिचान गरी कृषक समुह, सहकारी निजि क्षेत्रसँगको सहकार्यमा पकेट ब्लक विकास कार्यक्रमलाई निरन्तरता दिईने छ ।
महिला, वालवालिका तथा जेष्ठनागरिकहरुको अधिकार सुनिश्चितगर्दै सामाजिक, जातिय विभेद न्युनिकरणका लागि सामाजिक समावेशीकरण सम्वन्धी कार्यक्रमहरु गरिनेछन् । नगरपालिकाबाट गरिने भुक्तानी प्रकृयामा विद्युतिय भुक्तानी प्रणालीको अवलम्वन गरी कारोवारलाई पूर्णतया पेपरलेस गरिने छ । नगर तथा समुदायको आयआर्जन बृद्धिगर्न पर्यापर्यटनको प्रर्बद्धनात्मक कार्यक्रमहरु गर्ने निति पेश गरिएको छ । विपद तथा जलवायु सम्वन्धी गतिविधिलाई विकास निर्माण प्रकृयामा मुलप्रवाहीकरण गरिदै लगिने छ । बाढी विमा कार्यक्रमका लागि कार्यविधि निर्माण गरिने छ । घरेलु उद्योग तथा सहकारीलाई प्राथमिकता दिई आयआर्जन तर्फ लगिने निति लिईएको छ ।
सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरिय, जनमुखी तथा चुस्त दुरुस्त बनाउनका लागि रणनितिक योजना तयार गरिने छ । नगरमा कार्यरत कर्मचारीको क्षमता विकासगर्दै न्यायिक समितिलाई सशक्त पारिने छ । घरबाट निस्कने फोहरलाई जथाभावी सडकमा नफाली नगरपालिकाबाट संकलनको लागि आउने गाडीमा स्वयम घरधनीले राखिदिने प्रणालीको विकास गरिने छ । खानेपानी तथा सरसफाई सम्वन्धी विस्तृत योजना बनाई खानेपानी तथा सरसफाई सम्वन्धि आयोजनाहरु लागु गरिने छ ।