कृष्णसार संरक्षण क्षेत्रको बस्ती ब्यवस्थापन गर्न कार्यदल गठन
- आइतबार असार ५ , २०७९
चुरेकुञ्ज, गुलरिया । कृष्णसार संरक्षण क्षेत्रको बस्ती ब्यवस्थापन गर्न कार्यदल गठन गरिएको छ । कृष्णसार संरक्षण क्षेत्रका प्रमुख सरोकारवालाहरु, नवनिर्वाचित जिल्ला समन्वय समिति र स्थानियतहसँगको समन्वय वैठकले कृष्णसार संरक्षणका सवालमा आवस्यक पहल गर्ने निर्णयहरुगर्दै बस्ती ब्यवस्थापनका लागि कार्यदल गठन गरेको हो ।
संरक्षण क्षेत्रमा सर्वपक्षिय वैठकले बस्ती ब्यवस्थापन गर्न कार्यदल गठन गरेको कृष्णसार संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत विनय कुमार झाले बताए । संरक्षण क्षेत्र भित्र रहेको अब्यवस्थित बस्ती स्थानान्तरण तथा ब्यवस्थापन गर्न कार्यदल बनाईएको छ । जसअनुसार जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष, गुलरिया नगरपालिकाका प्रमुख/उपप्रमुख पदेन सदस्य, गुलरिया नगरपालिका वडा नम्वर २ र ४ का वडा अध्यक्षहरु तथा अन्य सदस्यहरुमा कृष्णसार संरक्षण क्षेत्र ब्यवस्थापन परिषदका अध्यक्ष र एकजना महिला सदस्य लगायत कृष्णसार संरक्षण क्षेत्र कार्यालयका प्रमुख सदस्य रहने गरी कार्यदल गठन भएको झाले जानकारी दिए ।
बर्दियाको गुलरिया नगरपालिका खैरापुर स्थित कृष्णसार संरक्षण क्षेत्रभित्र कुकुर पाल्न मनाही गरिएको छ । बन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित बन्यजन्तुको सूचिमा सुचिकृत बन्यजन्तु कृष्णसार कुकुर आक्रमणमा परी मर्न थालेपछि कुकुर पालन निषेध गरिएको हो । कृष्णसार संरक्षण क्षेत्रमा छाडा पशु ब्यवस्थापन र तारबार मर्मतका लागि गुलरिया नगरपालिकालाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।
संरक्षण क्षेत्रको संरक्षण ब्यवस्थापन कार्यमा नयाँ संरचना निर्माण तथा अन्य संरक्षण ब्यवस्थापन हेतु संरक्षण कार्यालयको समन्वयमा स्थानिय जनप्रतिनिधि, कृष्णसार संरक्षण क्षेत्र ब्यवस्थापन परिषदको समेत संयुक्त पहलमा समस्याहरु समाधान गर्ने निर्णय गरिएको संरक्षण अधिकृत झाले बताएका छन् । पछिल्लो समय कृष्णसार क्षेत्रमा भुस्याहा तथा घरपालुवा कुकुरको आक्रमण बढेपछि सो क्षेत्रमा कुकुर पाल्न निषेधित गरिएको हो ।