फाइजरको खोपलाई जापानको मान्यता
- आइतबार फाल्गुण २ , २०७७
टोक्यो । जापानले कोविड–१९ विरुद्ध फाइजर इन्कर्पोरेसनबाट विकसित खोपलाई औपचारिक मान्यता दिएको छ । जापानी स्वास्थ्य मन्त्रालयले खोपलाई सरकारले मान्यता दिएको आइतबार जनाएको हो। जापानमा कोरोना संक्रमणविरुद्ध मान्यता पाउने फाइजरको खोप पहिलो हो ।
यस वर्ष ओलम्पिक आयोजना गर्नुपर्ने जापान कोरोना संक्रमणको तेस्रो लहरबाट गुज्रिरहेको छ । सन् २०२० मै हुनुपर्ने ओलम्पिक विश्व नै कोरोना संक्रमणबाट आक्रान्त भएकाले एक वर्ष पछि सारिएको हो । पूर्वनिर्धारित कार्यक्रमअनुसार जुलाई २३ मा ओलम्पिक शुरु हुनेछ ।
जापानको एउटा सरकारी समितिले गएको शुक्रबार नै मान्यता दिन सिफारिस गरिसकेकाले फाइजरको खोपलाई सरकारले मान्यता दिने अपेक्षा गरिएको थियो । स्वास्थ्यमन्त्री नोरिहिसा तामुराले त्यसैबेला छिटो भन्दा छिटो सरकारले खोपलाई मान्यता दिने उल्लेख गरेका थिए ।
जापानी प्रधानमन्त्री योसिहिडे सुगाले अर्को सातादेखि खोप लगाउन थालिने बताएका छन् । उनले शुरुमा १० हजार स्वास्थ्यकर्मीलाई खोप लगाउने उल्लेख गरे। सरकारले यस वर्षको मध्यसम्ममा सबै जापानीहरुलाई पुग्ने खोप जम्मा गर्ने अपेक्षा राखेको छ । जापानको जनसंख्या करिब १२ करोड ६० लाख छ ।
जापानको अधिकांश भूभागमा अझै पनि संकटकाल लगाइएको छ । घातक मानिएको कोरोना भाइरसको तेस्रो लहर आएपछि जापानले फेरि संकटकाल लगाएको हो । केही सातायता कोरोनाको प्रकोप घट्दो क्रममा रहेको र राजधानी टोक्योमा आइतबार संक्रमितको संख्या ४ सयभन्दा मुनि छ ।
अहिलेसम्म करिब ४ लाख १० हजार जापानी कोरोना संक्रमित भइसकेका छन् । ६ हजार ७ सय ७२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।