fbpx

विद्यालयमा भर्ना शुल्क नलाग्ने वडा अध्यक्षको उद्घोष

विद्यालयमा भर्ना शुल्क नलाग्ने वडा अध्यक्षको उद्घोष


हरि गुरुङ, मधुवन । बर्दियाको मधुवन नगरपालिका वडा नम्वर १ सुर्यपटुवामा कक्षा ६ देखि कक्षा १० सम्म कुनै पनि विद्यार्थीको भर्ना शुल्क नलाग्ने भएको छ । वडा अध्यक्ष तथा निःशुल्क शिक्षा तथा शैक्षिक गुणस्तर अभिबृद्धि कार्यदलका संयोजक मीन बहादुर थापाले सुर्यपटुवामा रहेको श्री त्रिभुवन माध्यमिक विद्यालयमा अभिभावकबाट कुनै किसिमको शुल्क लिन नपाईने घोषणा गर्नु भएको छ ।

शैक्षिक सत्र भित्र भर्ना भएका विद्यार्थीका अभिभावकबाट जमा भएको ३ लाख २० हजार ७ सय रुपैया वडा अध्यक्षले अभिभावकलाई फिर्ता गराउनु भएको छ । विद्यालयलाई चाहिने अति आवश्यक मसलन्द कहाँबाट ब्यवस्थापन गर्नुहुन्छ भन्ने चुरेकुञ्जको प्रश्नमा वडा अध्यक्ष थापा भन्नुहुन्छ विद्यालयलाई चाहिने अति आवश्यक मसलन्द खर्च हामी मधुवन नगरपालिका र वडा कार्यालयबाट ब्यवस्थापन गर्ने छौं । मधुवन नगरपालिका वडा नं. १ सुर्यपटुवाका वडा सदस्य तथा श्री त्रिभुवन माध्यमिक विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राम चरण चौधरी भन्नुहुन्छ निशुल्क शिक्षा भन्ने शिक्षा नियमावली पहिले रहेता पनि विभिन्न कठिनाइले गर्दा लागू हुन सकेको थिएन ।

यस बर्षदेखि हामीले सम्पुर्ण कक्षा ६ देखी कक्षा १० सम्म कुनै पनि शिर्षकमा शुल्क नलिने ब्यवस्थापन समितिले निर्यण गरेका छौं । अभिभावक रविलाल बि.क. भन्नुहुन्छ वडा अध्यक्ष मीन बहादुर थापाले धेरै प्रशंसनिय काम गर्नुभएको छ । म उहाँलाई सलाम गर्न चहान्छु । यो काम त पहिले अध्यक्ष ज्युले गर्नु पर्ने हो तर वहाँको त्यस तर्फ ध्यान किन गएन ? उहाँको प्रश्न छ ।

म त मेहनत मजदुरी गरेर आफ्ना छोराछोरी पढाइ रहेको छु तर म भन्दा पनि अतिविपन्न बर्गले त आफ्ना छोराछोरीलाई कसरी सरकारी विद्यालयमा त्यत्रो चर्को शुल्क तिरेर पढाउन सक्छ्न । विद्यालयमा शुल्क तिर्ने बोझ हल्का भएपछि अभिभावकहरु खुशी छन् । सानो रकम पनि हाम्रो लागि धेरै ठूलो हो । छोराछोरी भर्ना गर्न आउदा शुल्क लाग्दैन भन्दा मन कति खुशी लाग्यो बखान गर्ने कुनै सिमा नै छैन । धेरै धेरै धन्यवाद वडा अध्यक्ष र वडा सदस्य तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्युलाई विकले भन्नुभयो ।

अभिभावक माया थारु भन्नुहुन्छ गएको साल कक्षा ६ मा भर्ना गर्दा १२ सय भर्ना शुल्क लाग्यो । यस पटक कति शुल्क लाग्ने हो भनी विद्यालय गई छोराछोरी भर्ना गराए र पैसा सोध्दा अहिले निशुल्क हो भन्ने जवाफ पाउँदा म त अचम्ममा परे ! सायद यस पटक राम्रो र गरिबको सरकार आयो जस्तो अनुभुती भएको महसुस गरेकी छु ।

तपाइको मत