fbpx

मधुवनका बाख्रापालक किसानलाई उपकरण हस्तान्तरण

मधुवनका बाख्रापालक किसानलाई उपकरण हस्तान्तरण


चुरेकुञ्ज, बर्दिया । मधुवन नगरपालिकाका ४३ जना व्यवसायीक बाख्रा पालक कृषकहरुलाई घाँसकाट्ने मेसिन (चापकटर) दाना पिस्ने मेसिन अनुदानमा वितरण गरीएको छ ।

नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजनाको ५० प्रतिशत अनुदान सहयोगमा सानोश्री सानाकिसान कृषि सहकारी संस्थाले चापकटर, दाना पिस्ने मेसिन, बाल्टि, एप्रोन, बुट लगाएतका सामाग्रीहरु वितरण गरेको हो । बाख्रापालन व्यवसायका लागि छनौट भएका कृषकहरुलाई व्यवसाय सञ्चालन गर्नका लागि सहज होस भनेर सामाग्री वितरण गरीएको नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजनाका प्रतिनीधि सुसन वलीले बताउनु भयो ।

नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजनाको सहयोगमा सानोश्री सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा गत भाद्र ८ गते बाख्रापालन तथा खसीबोका उत्पादन कार्यक्रम सञ्चालन भईरहेको छ । सहकारीको प्रस्तावमा ५० प्रतिशत कृषकले बेहोर्ने गरी दुई करोड बराबरको कार्यक्रमको सम्झौता भएको सहकारीका मुख्य प्रबन्धक दयाराम तिवारीले बताउनु भयो । उहाँले ५० जना कृषकहरु बाख्रा पालनका लागि छनौट हुनुभएकोमा हाल ४३ जनाले कार्यक्रम अन्र्तगत बाख्रापालन गरीरहनु भएको बताउनु भयो । उहाँका अनुसार तिनै कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ४३ ओटा चापकटर दिईएको हो । त्यसैगरी दुई घरपरिवार कृषकहरुको साझेदारी हुने गरी २५ ओटा दाना पिस्ने मेसिन दिईएको छ ।

त्यसैगरी आवश्यक्ताको आधारमा २० जोर गमबुट, २० जोर पञ्जा, २० जोर एप्रोन र ३० ओटा खसी पार्ने मेसिन र दुईओटा खसी जोख्ने मेसिन दिइएको छ । अपुग भएका सामाग्रीहरु थप सामाग्री दिईने मुख्य प्रबन्धक तिवारीले बताउनु भयो ।
मुख्यप्रबन्धक तिवारीका अनुसार छनौटमा परेका ४३ ओटा कृषकहरुको घरमा व्यवस्थीत बाख्राको खोर, कम्पोष्ट मल बनाउने स्थान बनाई प्रयोगमा आईसकेका छन् ।

कार्यक्रममा सामाग्रीहरु वितरण गर्दै प्रमुख अतिथी मेक बहादुर गुरुङ्गले अनुदानको लागि मात्र नभएर व्यवसाय बढाउनका लागि सामाग्रीहरुले कृषकलाई सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भयो । अनुदान पाउनका लागि मात्र नभएर व्यवसाय बढाई, आर्थिक उन्नती होस भन्ने सबैको चाहना हो । कृषकहरुको आर्थिक अवस्थाको आधारमा वर्गिकरण गरेर अनुदानका कार्यक्रम अगाडी ल्याउनु पर्ने उहाँले बताउनु भयो ।

मधुवन नगरपालिका पशुशाखा प्रमुख गणेश बोहोराले मधुवन नगरपालिकामा धेरै सहकारी र संघ संस्थाहरुले प्रपोजल बनाएर आयोजनामा पेश गरेपनि तिन ओटा सानाकिसान बाहेक अधिकांश समुह तथा संस्थाहरुले यस कार्यक्रम सञ्चालन गर्न नसकेको बताउनु भयो । उहाँले कृषकहरु व्यवसायको भन्दा पनि अनुदानको पछाडी दौडेको हुनाले यस्तो भएको बताउनु भयो । धेरै कृषकहरुले अनुदान लिने र व्यवसाय सञ्चालन नगर्ने समस्या रहेको बताउनु भयो ।

कार्यक्रमको समापन गर्दै सानोश्री सानाकिसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष धर्मराज थापाले कृषकहरुको सुविधा र सहुलियतका लागि मधुवन नगरपालिकाले कृषिमा बजेट छुट्याउनु पर्ने बताउनु भयो । उहाँले मधुवन नगरपालिकाले सानोश्री सानाकिसानले सञ्चालन गरेको चिस्यान केन्द्रको विद्युत विल बेहोर्ने हो भने कृषकहरुको आलु निःशुल्क राख्ने बताउनु भयो । उहाँले सानाकिसान सहकारी सदैव कृषकहरुको पक्षमा लड्ने बताउँदै चिस्यान केन्द्र निर्माण, धान खरिद, धानको विउ उत्पादन र वितरण गरीएको बताउनु भयो ।

तपाइको मत