बन्यजन्तुबाट सुरक्षाको मागगर्दै राजापुर सडकखण्ड अवरुद्ध
- सोमबार जेठ २३ , २०७९
विष्णु अधिकारी, बर्दिया । बर्दियाको गुलरिया राजापुर सडक खण्ड अन्तर्गत मधुवन नगरपालिकाको ओराली बजारमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । पटक पटक जंगली जनावरका आक्रमणबाट स्थानीयले ज्यान गुमाउदा समेत सम्बन्धित निकायले वेवास्ता गरेको भन्दै सडक अवरुद्ध गरेका हुन् ।
जेठ १० गते मधुवन नगरपालिका वडा नं. २ कोठिया गाउँकी कौसिला पालको पाटे बाघको आक्रमणका कारण ज्यान गएको घटना सेलाउन नपाउदै चितुवाको आक्रमणमा सोमवार ४१ बर्षिय अस्मिता थारुलाई चितुवाले आक्रमण गरि गम्भिर घाइते बनाएको छ । स्थानीयबासीले बारम्बार जिल्ला प्रशासन कार्यालय, डिभिजन बन कार्यालयलाई तारबार गरि व्यवस्थापन गर्न र आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिई स्थानान्तरण गर्न आग्रह गरेता पनि बेवास्ता गरेकोभन्दै स्थानीयहरुले आक्रोश व्यक्त गरेका छन् ।
सरकारले स्थानीयलाई जंगली जनावर संरक्षण गर्नका लागि अग्रसर गराएको छ तर तिनै संरक्षित वन्यजन्तुबाट स्थानीय असुरक्षित हुँदा राज्य टुलुटुलु हेरिरहेको स्थानीय तारा वि.कले बताउनु भयो । सम्बन्धित निकायले वन्यजन्तुबाट स्थानीयलाई सुरक्षित राख्नका लागि तदारुकताका साथ लाग्न उहाँको अनुरोध छ । मधुवन क्षेत्रमा मात्रै बाघ आक्रमणमा परी ९ जनाले ज्यान गुमाइसकेको खाता सामुदायिक बन समन्वय समितिका अध्यक्ष हरि गुरुङ्गले बताउनु भएको छ ।