बढैयातालको योजनामा मौलिक हक पहिलो प्राथमिकता
- शनिबार जेठ २१ , २०७९
मानबहादुर चौधरी, बर्दिया । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले आगामी आर्थिक वर्षको योजना तथा बजेट विनियोजन गर्दा संवैधानिक रुपमा सुरक्षित मौलिक हकलाई पहिलो प्राथमिकतामा राख्ने बताउनु भएको छ ।
इन्सेक र मानवअधिकार निगरानी समुहको संयुक्त आयोजनामा बढैयाताल वडा नम्वर ६ मैनापोखरमा शुक्रवार आयोजित शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा सार्वजनिक सुनुवाई कार्यक्रममा सो कुरा बताउनु भएको हो । शिक्षा, स्वास्थ्य, खाद्य र आवास जनताको मौलिक हक अधिकार भएकाले यसको संरक्षण र योजनाबद्ध कार्यान्वयन गर्ने ठाउँमा आफुलाई जनताले पु¥याएकोले जहिले पनि प्रतिवद्ध हुने बताउनु भयो ।
कार्यक्रममा मानवअधिकार समुहले पहिचान गरेका शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको सवाललाई पुरा गर्न मागगर्दै पालिका उपाध्यक्ष अधिकारीलाई ज्ञापन पत्र पनि बुझाउनु भयो । कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, आवासको क्षेत्रमा पालिकाबाट भएका कार्यक्रम र आगामी दिनमा गर्ने कार्यक्रमको बारेमा सम्बन्धीत शाखाका प्रमुख, प्रतिनिधीले कुराहरु राख्नु भएको थियो ।
कार्यक्रमका सहभागिहरुले शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाएर बजेट बिनियोजन गर्न माग गरेका छन् । मानव अधिकार निगरानी समुहका संयोजक हरिबहादुर घर्तीले आफुहरुले जनप्रतिनिधी र सम्बन्धीत निकायलाई नागरिकहरुको दैनिक जनजीवनसंग प्रत्यक्ष सम्बन्ध राख्ने मौलिक हक अधिकारको सवाल पहिचान गरी निरन्तर वकालत गर्दै आएकोले निरन्तरता दिईरहने बताउनु भयो ।