fbpx

राजापुरका दुई विद्यालयमा वडाको पढ्दै कमाउँदै कार्यक्रम

राजापुरका दुई विद्यालयमा वडाको पढ्दै कमाउँदै कार्यक्रम


मिन अधिकारी, राजापुर । राजापुर नगरपालिका वडा नं. ५ ले वडामा आर्थिक सामाजिक विकासका लागि जनप्रेमी निर्णय गरेको छ । वडामा रहेका २ वटा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पढ्दै कमाउदै उत्पादन मूलक एवम् व्यवसायमूलक योजना सञ्चालन गर्ने लगायतका निर्णयहरु गरेको छ । वडाका किसान माध्यमिक विद्यालय खल्ला जयपुर र पद्यकुमारी माविका विद्यार्थीहरुलाई प्रोत्साहित कार्यक्रम लागु गर्ने निर्णय गरेको हो ।

वडाका नवनिर्वाचित अध्यक्ष रमेश चौधरीले वडामा रहेका अतिविपन्न भूमिहीन दलित, सुकुम्वासी, द्वन्द पीडित, गरिबीको रेखामुनि रहेका नागरिकहरुका लागि प्रत्येक गाउँमा आपतकालीन सरल राहत कोष स्थापना गर्ने, व्यवसायिक कृषि गर्न चाहने वडाका कृषक, समूह, व्यवसायी, उद्यमी, फर्म, कृषकहरुले लिएको लिज (भाडा) १० विगाहा सम्मको वडा कार्यालयले नै भुक्तानी गरिदिने निर्णय गर्नु भएको छ ।

यस्तै वडा नं. ९ का वडाध्यक्ष विष्णु प्रसाद थारुले आफ्नो वडामा रहेको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेर रिफर गरिएका सबै दिदी बहिनीहरुलाई उपचारमा लैजाने एम्बुलेन्सको भाडा वडा कार्यालयले तिर्ने निर्णय गर्नु भएको छ । स्थानीय तहको निर्वाचन पश्चात स्थानिय सरकार सञ्चालनमा आएपछि वडाका स्थानीयले आफुहरुले जिम्मेवार अभिभावक पाएको महसुस हुने गरेको वताएका छन् ।

तपाइको मत