गुलरिया नगर कार्यपालिकाको प्रवक्तामा शुधान्सु शर्मा नियुक्त
- बिहिबार जेठ १९ , २०७९
मुरली गोडिया, गुलरिया । गुलरिया नगर कार्यपालिकाले नगर प्रवक्ताको रुपमा शुधान्सु प्रकाश शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । पालिकाको विभिन्न निर्णय गर्ने क्रममा नगर प्रवक्तामा गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
गुलरिया नगरपालिका मार्फत भएका काम कारवाहीलाई एकद्धार प्रणाली मार्फत सुचना प्रवाह गरि आम नागरिकको पहुँच अभिबृद्धि गर्न नगर कार्यपालिकाको प्रवक्ताको रुपमा वडा अध्यक्ष शर्मालाई तोकिएको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताउनु भयो । बर्दिया सदरमुकाम गुलरिया नगरपालिकाले एकै पटक धेरै निर्णयहरु गरेको छ । गुलरिया नगर कार्यपालिकाको पहिलो वैठकले नगरबाट प्रवाह गर्ने सेवाहरुलाई सहज बनाउन सर्वसम्मत रुपमा निर्णयहरु गरेको छ । विहिबार बसेको गुलरिया नगरकार्यपालिकाको बैठकले विभिन्न ११ वटा विषयमा सर्वसम्मत रुपमै निर्णय गरेको छ ।
स्थानिय तह निर्वाचन २०७९ मा मतदान गरि नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य तथा नगरसभा सदस्य पदमा विजयी गराउन मतदान गर्नुहुने सम्पुर्ण मतदातालाई धन्यवाद दिने पहिलो निर्णय गरेको छ । गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवको संयोजकत्वमा स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिती गठन गर्ने, नगर उपप्रमुख सावित्रा गौतमको संयोजकत्वमा स्थानिय राजस्व परामर्श समिती गठन गर्ने र कार्यपालिकामा निर्णयको लागी पेश भएका प्रस्तावमा निर्णय गर्नु पुर्व आवश्यकता अनुसार राय, सल्लाह र सुझाव लिनका लागी गुलरिया नगरपालिका कार्य सम्पादन नियमावली २०७५ को नियम १५ अनुसार विभिन्न विषयगत समिती गठन गर्ने समेत सर्वसम्मत रुपमा निर्णय भएको छ ।
बुधबार बसेको गुलरिया नगरकार्यपालिकाको बैठकले ११ वटा विषयमा एकैदिन एकैपटकमा सर्वसम्मत रुपमा निर्णयहरु गरेको गुलरिया नगर कार्यपालिका प्रवक्ता शुधांसु प्रकाश शर्माले जानकारी दिनु भएको छ ।