स्थानिय निर्वाचनको समिक्षागर्दै राप्रपाले मनायो स्थापना दिवस
- सोमबार जेठ १६ , २०७९
मुरली गोडिया, गुलरिया । राष्ट्रिय प्रजातन्त्र पार्टी बर्दियाले ३३ औं स्थापना दिवस मनाएको छ । गाँउ, नगर, क्षेत्र लगायतका समितीका पदाधिकारीहरुको उपस्थितीमा स्थानिय तह निर्वाचन २०७९ को समिक्षागर्दै स्थापना दिवस मनाएको हो ।
पार्टीले जनमैत्री एजेण्डा लिएको भएतापनि स्थानिय नागरिकहरु माझ स्पष्ट रुपमा बुझाउन नसक्दा पराजय भोग्नु परेको छलफलमा समिक्षा गरिएको राप्रपा बर्दियाका अध्यक्ष भीम बहादुर बोहराले जानकारी दिनुभयो । भर्खर सम्पन्न स्थानिय तहको निर्वाचनामा देखिएको परिणामको गहिरो समिक्षा गर्दै पछिल्लो समयमा देखिएको पार्टी प्रतिको युवाको आकर्षणलाई ग्राहयता दिई युवा जमातलाई संगठनका विभिन्न तहमा ल्याई अगामी दिनका निर्वाचनमा राम्रो स्थान दिन प्रयास गरिने राप्रपाका केन्द्रिय सदस्य सुर्य बहादुर सिंहले बताउनु भएको छ ।
स्थानिय निर्वाचन २०७९ मा पार्टी भित्र भएको सिमित स्रोत साधन तथा शक्ति एवं युवाको चाहना तथा पार्टीले अघि सारेका योजनाहरु नागरिक स्तरमा व्यापक रुपमा बुझाउन नसक्दा पार्टीले स्थानिय तहको निर्वाचन बर्दियामा हार बेहोर्नु परेको समेत पार्टीमा आत्मलोचना गरिएको सिंहको भनाई छ । पार्टीमा बर्षौदेखि लागेका कार्यकर्ताका मनोभावना अनुसार पार्टी सहि मुल्याङकन तथा पदिय जिम्मेवारी नदिई आन्तरिक व्यावस्थापनकै कारणले पनि हार व्यहोर्नु परेको कतिपयको आंकलन छ । पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति आम नागरिकको आशा बढेको भएतापनि बर्दियामा निर्वाचनमा त्यस्तो कुनै पनि स्थानमा छाप पर्न सकेन ।
विगत देखि नै राष्ट्रबादी पार्टीका रुपमा परिचित भएको राप्रपाले पछिल्लो समयका युवाहरुको आकर्षणलाई समेत योग्यता र क्षमता अनुसार पार्टी भित्र पदिय जिम्मेवारी दिई कार्यगर्न आवश्यक रहेको केद्रिय सदस्य सिंहको बुझाई छ ।