बर्दियामा पहिलो कुलिङ प्रविधि सहितको हाईटेक नर्सरी
- आइतबार जेठ १५ , २०७९
हरि गुरुङ, मधुवन । बर्दियाको मधुवन नगरपालिका वडा नं.– ४ बेलवामा कुलिङ्ग प्रविधि सहितको सेमी हाईटेक नर्सरी स्थापना भएको छ । एकीकृत कृषि तथा पशुपंक्षी बिकास कार्यालय बर्दियाको आर्थिक तथा प्रविधिक सहयोगमा हाईटेक नर्सरी स्थापना गरिएको हो ।
नर्सरी स्थापनाका लागि सार्वजनिक सुनुवाइ तथा लेखापरीक्षण कार्यक्रम सेमी हाईटेक नर्सरी पुर्वाधार निर्माण तथा ब्यवस्थापनलाई माया नर्सरी फर्म मधुवन नगरपालिका वडा नं.–४ ले आयोजना गरेको छ । कुलिङ्ग प्रविधि सहितको सेमी हाईटेक नर्सरी १९ लाख ८१ हजार ९ सय ४८ रुपैयाँको लागतमा सम्पन्न भएको छ । अनुदान रकम रु. १४ लाख ८६ हजार ४ सय ६० (७५%) र अनुदानग्राहीको योगदान रकम रु. ४ लाख ९५ हजार ४ सय ८६ (२५%) रहेको जनाईएको छ ।
हाईटेक नर्सरी १२ मिटर चौडाई र २८ मिटर लम्बाई र कुल क्षेत्रफल ३ सय ३६ वर्ग मिटरमा फैलिएको छ । माया नर्सरी फर्म मधुवन नगरपालिका वडा नं.–४ बर्दियाका प्रवन्धक माया योगी भन्नुहुन्छ यस फर्मले प्रत्येक वर्ष ८५ हजार विभिन्न जातका विरुवा र बेमौसमी जातका फलफूलका बिरुवा उत्पादन गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा मधुवन नगरपालिका वडा नं.–४ का वडा अध्यक्ष वलिराम चौधरी, विशिष्ट अतिथि मधुवन नगरपालिका कृषि शाखा प्रमुख एकराज वली अतिथि मधुवन नगरपालिका वडा नं.–४ का वडा सदस्य, राजनैतिक दलका प्रतिनिधि, गाउँ बडघर, खाता सामुदायिक वन समन्वय समितीका प्रतिनिधि, नेपाल राष्ट्रिय नमुना माध्यमिक बिध्यालय ढोढरीका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लगायत बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथी वलिराम चौधरी भन्नुहुन्छ यो हाईटेक नर्सरी हाम्रो पाठशाला हो । यसलाई लुम्बिनी प्रदेशकै नमुना बनाउन कुनै कसर बाँकी राख्दैनौं । मधुवन क्षेत्रमा वाली सुहाउँदो पहिचान गरेर मात्र कृषि पेशामा लाग्नुपर्छ यसमा धेरै चुनौतीहरु छ्न । मधुवन स्थानीय सरकारले अवसरको रूपमा लिनुपर्नेमा उहाँले जोड दिनु भएको छ । अध्यक्ष चौधरीले सेमी हाईटेक नर्सरी सफलताको शुभकामना दिनुभएको छ ।
सम्भवत बर्दिया जिल्ला मै कुलिङ्ग सिस्टम सहितको हाईटेक नर्सरी हालसम्म नभएको हुँदा यस कार्यक्रमलाई नमुनाकै रूपमा विकसितगर्दै लान सकिएमा यो ब्यवसायलाई लुम्बिनी प्रदेश कै नमुना नर्सरी बनाउन सकिने स्थानिय सरकारको भनाई छ । थप आय–आर्जनको अवसर र स्थानीय स्तरमा दक्ष जन शक्तिको रोजगारीको अवसर श्रीजना गर्न सकिने भएकाले स्थानिय तहले प्रर्बद्धनमा सहयोग गर्ने वडाको प्रतिवद्धता छ ।