बर्दियामा को–को भए पालिका प्रमुख र वडाअध्यक्ष (नामावली)
- आइतबार जेठ ८ , २०७९
यादव आचार्य, गुलरिया । स्थानिय तह निर्वाचन पश्चात बर्दियामा मतगणना कार्य सकिएको छ । मतगणना सकिएसँगै शपथ लिएका जनप्रनिनिधिहरुले पालिकाहरुमा शुक्रवारदेखि कार्यभार सम्हालेका छन् । पालिका प्रमुखहरुले कार्यभार सम्हाल्दै गर्दा आ–आफ्ना महत्वपूर्ण घोषणा समेत गरेका छन् ।
बर्दियामा नेपाली काँग्रेसले वर्चस्व कायम गरेको छ । अघिल्लो निर्वाचनमा ३/३ वटा पालिका विजेता एमाले र माओवादी केन्द्र यस पटकको निर्वाचनमा खुम्चिएका छन् । एमालेले बाँसगढी नगरपालिका जोगाएको छ । माओवादीले बारबर्दिया र मधुवन नगरपालिका गुमाएको छ । नेपाली काँग्रेसले मधुवन, ठाकुरबाबा, बारबर्दिया नगरपालिका थपेको छ ।
अघिल्लो निर्वाचनमा माओवादीले जित सुनिश्चित गरेका बारबर्दिया, मधुवन नगरपालिका र एमालेले जितेको ठाकुरबाबा नगरपालिका यस पटक नेपाली काँग्रेसले जितेको छ । गुलरिया नगरपालिका र गेरुवा गाउँपालिका नेपाली काँग्रेसले आफ्नो पोल्टामै राखेको छ । समग्र जिल्लाका ८ वटा पालिका मध्ये नेपाली काँग्रेसले ५ वटा प्रमुख, ४ वटा उपप्रमुख पद जितेको छ । बर्दियाको ७५ वटा वार्ड मध्ये काँग्रेसले ३२ वटा वडा अध्यक्ष जितेको हो ।
माओवादी केन्द्रले राजापुर नगरपालिका र बढैयाताल गाउँपालिका जितेको छ । जिल्लाका २ वटा प्रमुख, एउटा उपप्रमुख र २० वटा वडामा माओवादीले जित सुनिश्चित गरेको हो । बारबर्दिया नगरपालिका र मधुवन नगरपालिका गुमाएको छ तर बढैयाताल गाउँपालिकामा जित थपेको छ । नेकपा एमालेले ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउँपालिका गुमाउँदै बाँसगढी नगरपालिका जितेको छ । एमालेले जिल्लामा एउटा प्रमुख ३ वटा उप्रमुख सहित १९ वटा वडाहरु जित्न सफल भएको छ ।
बर्दियामा जनता समाजवादी पार्टी, जनमत पार्टीले १/१ वटा वार्डमा जितेका छन् । स्वतन्त्र उम्मेदवार हरुले २ वटा वडा जितेका हुन् । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकाको नेपाली काँग्रेसका प्रमुख र उप्रमुख विजयी भएका छन् । नेकपा एमालेका अमर बहादुर खड्का र टिका संसेली मगरलाई पराजितगर्दै मुक्तिनाथ यादव र सावित्रा गौतम विजयी भए । यादवले ७ हजार ९८९ मत प्राप्त गरे । विजेता उपप्रमुख गौतमले ८ हजार २०७ मत प्राप्त गरिन् । एमालेका खड्काले ७ हजार ८११ मत प्राप्त गरे । एमालेकी संसेली मगरले ७ हजार ४६२ मत प्राप्त गरे ।
मधुवन नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका तेजबहादुर भाट र उप्रमुख पदमा अनिता चौधरी विजयी भएका छन् । भाटले ८ हजार ७७५ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका लक्ष्मीप्रसाद शर्माले ७ हजार ९३१ मत प्राप्त गरे । उप्रमुख पदमा काँग्रेसकी चौधरीले ८ हजार ३३५ मत प्राप्त गरी विजयी भएकी छिन् । प्रतिस्पर्धी माओवादी केन्द्रकी शुभद्रा चौधरीले ७ हजार ८९९ मत प्राप्त गरिन् ।
बारबर्दिया नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका छविलाल थारु र उपप्रमुखमा रत्ना कुमारी पाण्डे विजयी भएका छन् । नगरप्रमुख पदमा थारुले १३ हजार ६ मत र पाण्डेले १२ हजार ४९१ मत प्राप्त गरेकी छिन् । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पदम प्रसाद ढकालले १० हजार ३५१ र उपप्रमुख नारायणी चौधरीले १० हजार ८ सय ५५ मत प्राप्त गरेका छन् ।
ठाकुरबाबा नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेसका तिलकराम लम्साल र उपप्रमुखमा नेकपा एमालेकी विना भट्टराई विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी प्रमुखमा माओवादी केन्द्रका नेत्रराज आचार्य र उपप्रमुखमा नेपाली काँग्रेसकी मञ्जुकुमारी चौधरीलाई पराजितगर्दै प्रमुख उपप्रमुख काँग्रेस र एमालेबाट निर्वाचित भएका हुन् । लम्सालले ९ हजार ४२ मत प्राप्त गरे । माओवादीका आचार्यले ६ हजार ८१८ मत प्राप्त गरेका छन् । उपप्रमुख पदकी विजेता एमालेकी भट्टराईले ८ हजार १७६ मत प्राप्त गरी काँग्रेसकी चौधरीलाई ७ हजार ६७४ मतमै समेटिन् ।
गेरुवा गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका जमान सिंह केसी विजयी भएका छन् । पालिकाको सवै वडा अध्यक्ष लगायत उपाध्यक्ष सहित केसी विजयी भएका हुन् । माओवादी केन्द्रका विश्व बहादुर थारुलाई १ हजार ७८ मतले पराजित गर्दै केसीले ७ हजार ६९८ मत प्राप्त गरेका छन् । उपाध्यक्ष पदमा काँग्रेसकी लक्ष्मी कुमारी चौधरीले ७ हजार १५३ मत प्राप्त गरी विजयी भएकी छिन् । उपाध्यक्ष पदमा माओवादी केन्द्रकी लिला चौधरीले ६ हजार ५८३ मत प्राप्त गरिन् ।
बाँसगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका खडक बहादुर खड्का र इन्दिरा चौधरी विजयी भएका छन् । प्रमुखमा माओवादी केन्द्रका भवन कुमार थारु र उपप्रमुखमा नेपाली काँग्रेसकी आकाश थारुलाई पराजितगर्दै उनीहरुले जितेका हुन् । एमालेका विजयी खड्काले १० हजार ९४७ मत प्राप्त गरे । प्रतिस्पर्धी माओवादीका थारुले ९ हजार ७६३ मत प्राप्त गरेका छन् । उपप्रमुख पदमा एमालेकी चौधरीले ११ हजार ३५ मत प्राप्त गरिन् । प्रतिस्पर्धी नेपाली काँग्रेसकी आकाश थारुले ८ हजार ५१२ मत पाईन् ।
राजापुर नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका दिपेश थारु र उपप्रमुखमा मनकला कुमारी चौधरी विजयी भएका छन् । नेपाली काँग्रेसका दिपक जंग शाह र यशोदा थारुलाई पराजितगर्दै राजापुरमा माओवादी केन्द्रले जित हात पारेको छ । प्रमुख पदका थारुले ९ हजार ८०७ मत प्राप्त गरेका छन् । शाहले ९ हजार ७६० मत पाए । उप्रमुख पदमा माओवादी केन्द्रकी चौधरीले १० हजार ८६ मत प्राप्त गरी नेपाली काँग्रेसकी यशोदा थारुलाई पराजित गरिन् । काँग्रेसकी थारुले १० हजार मत प्राप्त गरिन । प्रमुख पदमा ४७ मत र उपप्रमुख पदमा ४१ मतको मतान्तर रहेको निर्वाचन अधिकृतको कार्यालय राजापुरले जनाएको छ ।
बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका हिमालय त्रिपाठी र उपाध्यक्षमा नेकपा एमालेकी लक्ष्मी अधिकारी विजयी भएका छन् । अध्यक्षमा एमालेका लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा काँग्रेसकी पवित्रा कुमारी अर्याललाई पराजितगर्दै त्रिपाठी र अधिकारी विजयी बनेका छन् । अध्यक्ष पदमा माओवादी केन्द्रका त्रिपाठीले ९ हजार ३६७ मत प्राप्त गरे । प्रतिस्पर्धी एमालेका लाल बहादुर श्रेष्ठ ८ हजार ३०८ मतमा समेटिए । उपाध्यक्ष पदकी विजेता एमालेकी अधिकारीले ८ हजार ८८५ मत प्राप्त गरीन् । प्रतिस्पर्धी काँग्रेसकी अर्यालले ८ हजार ३१५ मत प्राप्त गरिन् ।
वडामा कसको जीत ?
गुलरिया : गुलरिया नगरपालिकाको १२ वटा वडा मध्ये नेपाली काँग्रेसले ४ वटा, माओवादी केन्द्र÷एमाले ३÷३ वटा जनमत पार्टी/जनता समाजवादी पार्टीले १/१ वडामा जित सुनिश्चित गरेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली काँग्रेसबाट वडा नम्वर १ मा जोगीराम थारु, ४ मा सुरेश गौतम, ६ मा शुधांसु प्रकाश शर्मा (लालु) र वडा नम्वर ७ को वडा अध्यक्षमा मनोज कुमार यादव विजयी भएका छन् ।
नेकपा एकालेबाट वडा नम्वर २ मा टंक प्रसाद अधिकारी, ३ मा सर्वजित यादव, ५ मा मुम बहादुर मल्ल विजयी भएका हुन् । माओवादी केन्द्रबाट वडा नम्वर ८ मा धर्मेन्द्र कुमार वानिया, ९ मा हरीप्रसाद पासवान र वडा नम्वर १२ मा रामकुमार थारु विजयी भएका छन् । जनमत पार्टीबाट वडा नम्वर १० मा लक्ष्मी नारायण लोध र जनता समाजवादी पार्टीबाट वडा नम्वर ११ मा विष्णु यादव विजयी भएका हुन् ।
मधुवन : मधुवन नगरपालिकाको ४ वटा वडा काँग्रेसले, ३ वटा माओवादीले र एमाले÷स्वतन्त्र १÷१ वडा जितेका छन् । निर्वाचन अधिकृतको कार्यालय मधुवनका अनुसार काँग्रेसबाट वडा नम्वर १ को अध्यक्ष पदमा मिन बहादुर थापा, ४ मा वलिराम चौधरी, ५ मा दिलिप गुरुङ, ८ मा मेक बहादुर गुरुङ भएका छन् । माओवादी केन्द्रबाट वडा नम्वर २ मा आशाराम थारु, ७ मा राजेन्द्र हमाल र वडा नम्वर ९ मा हर्क बहादुर बस्नेत क्षत्री विजयी भएका हुन् । स्वतन्त्रबाट वडा नम्वर ३ मा नारायण मल्ल तथा एमालेबाट वडा नम्वर ६ मा चन्द्र सिंह गुरुङ विजयी भएका छन् ।
राजापुर : राजापुर नगरपालिकामा रहेका १० वटा वडाहरु मध्ये ५ वटा वडाको अध्यक्षमा माओवादी केन्द्र, ३ वटामा नेपाली काँग्रेस, एमाले र स्वतन्त्र गरी १÷१ वडा जितेका हुन् । माओवादी केन्द्रबाट वडा नम्वर ३ मा प्रशान्त थारु, ४ मा विदुर पोखरेल, ६ मा असराज न्यौपाने, ८ मा राजेश थारु र वडा नम्वर १० मा शिवलाल थारु विजयी भएका छन् । नेपाली काँग्रेसबाट वडा अध्यक्षमा वडा नम्वर १ बाट वावुराम चौधरी, २ मा रामचन्द्र चौधरी र ९ मा विष्णु प्रसाद थारु विजयी भएका हुन् । स्वतन्त्रबाट वडा नम्वर ५ मा रमेश चौधरी, एमालेबाट वडा नम्वर ७ मा रामु थारु विजयी भएका छन् ।
बारबर्दिया : एघार वटा वार्डहरु रहेको बारबर्दिया नगरपालिकामा नेपाली काँग्रेसले ६ वटा वडा, नेकपा एमालेले ३ वटा वडा र माओवादी केन्द्रले २ वटा वडामा विजय प्राप्त गरेको बारबर्दिया नगरपालिकाका निर्वाचन अधिकृत कृष्णप्रसाद चापागाईले बताए । बारबर्दिया नगरपालिकाको नेपाली काँग्रेसबाट वडा नम्वर १ मा कैलासपति थारु, २ मा रामफेरन थारु, ३ मा नन्दलाल थारु, ४ मा सिताराम योगी, ८ मा नरबहादुर चन्द र वडा नम्वर ९ मा देवेन्द्र कुमार विष्ट विजयी भएका छन् । नेकपा एमालेबाट वडा नम्वर ५ मा लालबहादुर थारु चौधरी, ६ मा झग बहादुर वली क्षेत्री र वडा नम्वर १० मा रणबहादुर चौधरी विजयी भएका छन् । माओवादीबाट वडा नम्वर ७ मा ईन्द्रप्रसाद थारु चौधरी र वडा नम्वर ११ मा विजय कुमार चौधरी विजयी भएका हुन् ।
बाँसगढी ः बाँसगढी नगरपालिकाको ९ वटा वडाहरु मध्ये एमाले ३, काँग्रेस, ३ माओवादीले ३ स्थान जितेको छ । निर्वाचन अधिकृतको कार्यालय बाँसगढीका अनुसार एमालेबाट वडा नम्वर २ मा अर्जुन कुमार खड्का, ४ मा कृष्णप्रसाद वास्तोला र वडा नम्वर ८ को अध्यक्षमा तुल प्रसाद गौतम विजयी भएका छन् । नेपाली काँग्रेसबाट वडा नम्वर ५ मा दहवा थारु, ७ मा वलिराम चौधरी र ९ मा चन्द्र बहादुर शाही विजयी भएका हुन् । माओवादी केन्द्रबाट वडा नम्वर १ मा जयराज पाण्डे, ३ मा रामचन्द्र थारु र वडा नम्वर ६ मा लाल बहादुर क्षेत्री अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
ठाकुरबाबा : ठाकुरबाबा नगरपालिकामा ९ वटा वडाहरु छन् । जसमध्ये ५ वटा वडामा नेपाली काँग्रेस ३ वटा वडा माओवादी केन्द्र र एउटा वडा नेकपा एमालेले जितेको छ । नेपाली काँग्रेसबाट वडा नम्वर २ को वडा अध्यक्षमा कमल प्रसाद चपाइँ, ४ मा सूर्य बहादुर विष्ट, ६ मा जय प्रसाद पौड्याल, ७ मा कलम बहादुर विष्ट र वडा नम्वर ८ मा टेकबहादुर वडुवाल सिजापति विजयी भएका छन् । माओवादी केन्द्र बाट वडा नम्वर १ मा निमराज खनाल, ५ मा शम्भु प्रसाद थारु र ९ नम्वर वडाको वडा अध्यक्षमा राधा चौधरी विजयी भएकी छिन् । नेकपा एमालेबाट वडा नम्वर ३ को अध्यक्षमा श्रीकृष्ण थारु विजयी भएको निर्वाचन अधिकृतको कार्यालय ठाकुरबाबाले जनाएको छ ।
गेरुवा : गेरुवा गाउँपालिकामा रहेको ६ वटै वडाहरुमा नेपाली काँग्रेसले विजय प्राप्त गरेको छ । गाउँपालिकाको अध्यक्ष पदमा वडा नम्वर १ मा कर्मप्रसाद चौधरी, २ कृष्ण थारु, ३ निर्मल चौधरी, ४ महेन्द्र प्रसाद चौधरी, ५ धर्म प्रकाश थारु र ६ नम्वर वडामा कृष्ण गोपाल चौधरी विजयी भएका छन् । गेरुवा गाउँपालिकाका विजयी अध्यक्ष केसी पुन अध्यक्षमा विजय प्राप्त गरेका हुन् ।
बढैयाताल : बढैयाताल गाउँपालिकाका ९ वटा वडाहरु मध्ये ७ वटा वडा नेकपा एमाले एक÷एक वडा माओवादी र काँग्रेसले जितेका छन् । नेकपा एमालेबाट वडा नम्वर १ को अध्यक्षमा प्रेम बहादुर थापा क्षेत्री, २ मा डिला देव गिरी, ३ मा लल्लन अहिर, ४ मा नरे थापा, ७ मा राधेश्याम थारु, ८ मा तेजनाथ पौडेल र वडा नम्वर ९ को अध्यक्षमा विर बहादुर थारु विजयी भएका छन् । वडा न ५ मा माओवादीबाट तुलाराम चौधरी र वडा नम्वर ६ मा नेपाली काँग्रेसबाट शुक्रराज सापकोटा विजयी भएका हुन् ।