मधुवनमा ५ बर्षमा ५ लाख बिरुवा रोपिने : नगरप्रमुख भाट
- आइतबार जेठ ८ , २०७९
हरि गुरुङ, मधुवन । बर्दियाको मधुवन नगरपालिका अन्र्तगत खाता जैविक मार्गमा अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाईएको छ । डिभिजन वन कार्यालय बर्दियाको आयोजना सतिसाल र विजय सालको बृक्षारोपणगर्दै जैविक विविधता दिवस सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मधुवन नगरपालिका नगरप्रमुख तेज बहादुर भाटले हरेक बर्ष एक लाख बिरुवा सङ्गै पाँच बर्षमा पाँच लाख बिरुवा एक नम्बर वडा देखी नै नम्बर सम्म रोप्ने योजना रहेको बताउनु भयो । हामी नेपाली कांग्रेसबाट विजयी भएपनि अब हामी सार्वजनिक ब्याक्ति हौं । यस खाता जैविक मार्ग भित्र बसोबास गर्ने हरेक उपभोक्ताहरु मेरो परिवार हो । यहाँका मानिसलाई दुःख पर्नु भनेको मलाई दुख पर्नु हो । नगरप्रमुख भाटले भन्नुभयो, कसैलाई दुख नपरोस् दुःख परे हरदम तत्पर रहनेमा प्रतिबद्धता गर्छु । यस जैविक मार्गलाई सफल बनाउन खाता समन्वय समिति, डिभिजन वन कार्यालय बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज र मधुवन नगरपालिका मिलेर काम गर्नु पनेमा उहाँको जोड छ ।

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस सन १९९२ देखि मनाउदै आईरहेको डिभिजन वन कार्यालय बर्दियाका डिभिजनल प्रमुख प्रवीण विडारीले बताउनु भयो । विडारीले नवनिर्वाचित नगरप्रमुख, उप–प्रमुख तथा वडा अध्यक्षहरुलाई बधाई तथा शुभकामना दिनुभएको छ । डिभिजन वन कार्यालय बर्दियाका डिभिजनल प्रवीण विडारीको सभापतित्वमा कार्यक्रम गरिएको हो । कार्यक्रम संचालन डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत टंक बहादुर गुरुङ्गले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा मधुवन नगरपालिकाका उप–मेयर अनिता चौधरी, अतिथिहरुमा मधुवन नगरपालिकाका एकदेखि चार सम्मका नवनिर्वाचित वडा अध्यक्षहरु, ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाका प्रहरी प्रमुख, वि.ओ.पी. भग्रैया बर्दियाका सशस्त्र प्रहरी वल प्रमुख, खाता सामुदायिक वन समन्वय समिती मधुवन नगरपालिका वडा नं.–३ का अध्यक्ष र सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।
