जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा : राजापुर नगर प्रमुख
- आइतबार जेठ ८ , २०७९
मिन अधिकारी, राजापुर । राजापुर नगरपालिकाका नव निर्वाचित नगरप्रमुख दिपेश थारु (राजेश) ले नगर प्रमुखको पद बहाली गरेसँगै स्वास्थ्य कल सेन्टर राखी जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने घोषणा गर्नुभएको छ । ६ बुँदे योजनाहरु घोषणा गदैै नगरप्रमुख थारुले सम्पूर्ण मतदाता र राजापुरबासीहरुमा धन्यवाद ज्ञापन गर्दै जनताको पक्षमा काम गर्ने बताउनुभएको छ ।
उहाँले संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको स्थापनाका लागि जीवन उत्सर्ग गर्नुहुने महान सहिद, बेपत्ताहरु प्रति हार्दिक सम्मानगर्दै नगरपालिकामा सहिद पार्क निर्माण गर्ने र द्वन्द्वकालमा बेपत्ता सहिद भएका परिवारलाई जिवीकोपार्जनका लागि सिप र पुँजीको व्यवस्था गर्ने निर्णय गर्नुभएको छ ।
युवाहरुलाई माग अनुसारको सिपमूलक तालिम संचालन गर्ने, कृषि कल सेन्टर राखि कृषि, पशु सेवा घरमै गएर दिइने, शैक्षिक योजना निर्माण गरि कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गरिनुका साथै उच्च शिक्षा अध्ययन सहयोगका लागि छात्रबृत्ति कोष स्थापना गर्ने प्रतिवद्धता गर्नु भएको छ । नागरिक गुनासो सुन्न प्रत्येक १५÷१५ दिनमा फरक फरक स्थानमा जनतासँग पालिका कार्यक्रम संचालन गर्ने घोषणा गर्नु भएको छ ।
