fbpx

बाघका तस्विर विश्लेषण गरिँदै

बाघका तस्विर विश्लेषण गरिँदै


यादव आचार्य, गुलरिया । बर्दिया–बाँके कम्प्लेक्समा बाघको तस्विर लिने काम सकिएलगत्तै तस्विर विश्लेषणको थालनी गरिएको छ । बर्दिया–बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्तीक्षेत्र तथा बाघ पाईने आसपासका जंगल तथा सामुदायिक बनहरुमा अटोमेटिक क्यामरा मार्फत कैद गरिएका बाघका तस्विरहरुको विश्लेषण शुरु भएको छ ।

चितवन–पर्सा कम्प्लेक्सबाट मंसिर १९ गतेदेखि क्यामरा जडान गर्ने कार्य शुभारम्भ गरेको १० दिनपछि बर्दिया–बाँके कम्प्लेक्समा क्यामरा राखिएको थियो । तिन महिनापछि ४ वटै निकुञ्जमा बाघको तस्विर खिच्ने कार्य सकिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लिईएको तस्विर विश्लेषणको तयारी भैरहेको छ । अटोमेटिक क्यामरामा लिईएका तस्विर हरुको डाटा सुरक्षित गर्ने काम सकिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

क्यामरामा कैद भएका पाटेबाघका तस्विरहरु विश्लेषण हुँदैछ । बाघको पाटा छुट्याएर अलग्याईन्छ । फरक फरक पाटा गनेर बाघको संख्या निर्धारण हुन्छ । तस्विरहरु विश्लेषण गर्न तिन महिनाको समय लाग्छ । अधिकृत श्रेष्ठले भने ग्लोवल टाईगर डे का अवसरमा नतिजा सार्वजनिक गर्न मिल्ने गरी काम गरी रहेका छौं । पर्यटकहरुले निकुञ्जमा धेरै बाघहरु देखेको आधारमा बाघको संख्या बढ्ने अनुमान गरेका छौं । बाघका तस्विरहरु गन्दै छौं केही महिना भित्रै बास्तविक तथ्यांक बाहिर ल्याउँछौ ।

बर्दियामा ४१८ र बाँकेमा ३९८ गरी ८१६ वटा ग्रिडमा क्यामरा जडान गरिएको बाघ गणना कार्यमा प्राविधिक सहयोगगर्दै आईरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत डाक्टर रविन कडरियाले बताए । प्रति ग्रिड २ वटा क्यामराका दरले कम्प्लेक्समा १ हजार ६३२ वटा अटोमेटिक क्यामरा जडान गरी बाघका तस्विर खिँचिएका हुन् । कोष मार्फत नै तस्विर विश्लेषणको काम भैरहेको छ । उनले भने हामीले बाघको संख्या, भालेपोथी, बासस्थान लगायत बाघ पाईने क्षेत्रको समेत विश्लेषण गर्छौ । तथ्यांकमा आधारित विश्लेषण हुन्छ । यतिखेर बाघका तस्विर स्टोर गरी एनालाईसिस भैरहेको छ ।

पछिल्लो तथ्यांक अनुसार चितवनमा ९३, बर्दिया ८७, बाँके २१, पर्सा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा गरी नेपालमा २३५ वटा लोपोन्मुख पाटेबाघ छन् । यसबर्ष बाघको संख्या बढ्ने चौतर्फी अनुमान गरिएको छ । निकुञ्जमा आउने पर्यटकले दिनहुँ बाघ देख्ने गरेका छन् । बाघको साईटिग निरन्तर भएकाले पनि बर्दियामा पाटेबाघको संख्या बढ्ने अनुमान गरिएको छ । प्रभावकारी बासस्थान क्षेत्र, प्रचुर घाँसे मैदान, बाघका आहारा प्रजातीहरुको घनत्व भएका कारण बर्दियामा बाघको संरक्षण प्रभावकारी मानिन्छ ।

बाघ बढेसँगै मानव–बाघ विचको द्वन्द चरम अवस्थामा पुगेको छ । द्वन्द निरुपणगर्दै सहअस्तित्व कायम गर्न समयमै पहल गर्नुपर्ने समुदायको माग छ । तस्विर गणना सकिएपछि बाघको बासस्थान लगायत विचरण क्षेत्रको बास्तविकता पत्ता लाग्छ । कडरियाले थपे बाघ गणनाबाट विभिन्न कुराहरुको अध्ययन समेत हुने भएकाले मानव–बाघ द्वन्द नियन्त्रणमा समेत योजना बनाउन सहज हुन्छ । बाघको आनीवानी लगायत यसबाट जोगिने उपायहरुका बारेमा समुदायलाई सचेत पार्दै आएका कडरियाले प्रष्ट्याए । साभार : अन्नपूर्ण पोस्ट्बाट ।

तपाइको मत