नेपाली काँग्रेस एमालेसँग एक्लै चुनाव लड्न डरायो : केपी ओली
- शुक्रबार चैत २५ , २०७८
यादव आचार्य, गुलरिया । नेपाली काँग्रेस नेकपा एमालेसँग एक्लै चुनाव लड्न डराएको नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । बर्दियाको गुलरियामा नेपाल भुमिहिन सुकुम्वासी संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सम्वोधनगर्दै ओलीले एमालेसँग एक्लै लड्न डराएर काँग्रेसले गठबन्धन गरेको ठोकुवा गरे ।
काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी सभापतिहरुको भेलामा गठबन्धन नगरे चुनाव हारिने व्रिफिङ् गरेको कुरा ईगितगर्दै काँग्रेसले गठबन्धन गरेपनि एमालेलाई जित्न नसक्ने दावी गरे । प्रधानमन्त्रीको पद टिकाउन मात्र गठबन्धन कामयाब रहने बताए । फेरी एमालेको सरकार बन्ने ठोकुवागर्दै आउने ५ बर्षे कार्यकालमा भुमिहिनहरुको समस्या समाधान गर्ने प्रतिवद्धता ब्यक्त गरे । कागजको पानी जहाज बनाएर खिल्ली उडाउनेहरु र खेलौना रेल देखाएर हाँसो उडाउने हरुले मैले किनेको रेल, मैले बनाएको लिकमा रेल गुडाएर डिल्ली पुरेर भएपनि उद्घाटन गरेकोभन्दै प्रधानमन्त्री देउवालाई धन्यवाद दिए ।
माओवादीले कम्युनिष्टहरुको बदनाम गरेकोभन्दै छोरी, ज्वाई, भतिजा, भतिजि, दाजु, भाई र आफन्तको फलिफापमा लागेको आरोप लगाए । मन पर्यो भने दारु खाएर मरेका मान्छेको शालिक बनाउने गोली खाएर मरेकाको वास्ता नगरिएको कटाक्षगर्दै आफन्तलाई सम्मान र गोली खाएर मरेकालाई अपमान गरेको बताए । देउवा र प्रचण्डको बारेमा बोलेका ओलीले माधव नेपालको नामै लिएनन् । नेकपा एमाले सरकारमा हुँदा देशमा भएको पैसा सरकार फेरिएपछि कहाँ गयो भन्दै खोजी गरे ।
गठबन्धन सरकारको पालामा महँगी बढेको तेलको भाउसँगै लोडसेडिङ बढेको बताए । मुक्तकमैया, भुमिहिनहरु सदियौंदेखि पिडा भोगेको स्मरण गराए । नेपाली काँग्रेस गरीबको नभई धनीहरुको पार्टी भएको काँग्रेसकै नेताहरुले बताउँदै आएको औल्याउँदै नेता ओलीले ११ लाख कमैया तथा भुमिहिनहरुको ब्यवस्थापन गर्न एमालेले आवाज उठाएको प्रष्ट्याए । एमालेलाई परमादेशबाट हटाएपनि जनताको मनबाट कसैले हटाउन नसक्ने उनको जिकिर छ । एमाले देश बनाउने सबैको साझा पार्टी भएकाले निर्वाचन सम्म पार्टीलाई गतिशिल बनाउन नेता, कार्यकर्ताहरुलाई आग्रह गरे ।
नेकपा एमाले बर्दियाको समन्वय तथा नेपाल भुमिहिन सुकुम्वासी संगठनको आयोजनामा बर्दियाको गुलरिया स्थित आँप बगियामा आयोजित भेलामा हजारौं कार्यकर्ताहरु सहभागी थिए । जिल्लाका विभिन्न पालिकाहरुबाट बसमा सहभागीहरु आएका हुन् । कार्यक्रममा नेपाली काँग्रेसबाट निर्वाचित गुलरिया नगरपालिकाकी उपप्रमुख सुशिला गिरी र गुलरिया वडा नम्वर ६ का वडा अध्यक्ष निरजकुमार शर्मा सहित अन्य २५ सय जना विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेका दर्जनौं नेता कार्यकर्ताहरुलाई अध्यक्ष ओलीले फूलमाला लगाएर स्वागत गरेका छन् ।