बर्दियामा टाईफाईड रोग बिरुद्ध खोप अभियान शुरु
- बुधबार चैत २३ , २०७८
चुरेकुञ्ज, गुलरिया । सरकारले देशैभरी टाईफाईड रोग बिरुद्ध बालवालिकालाई खोप अभियान शुरु गरेको छ । बालवालिकालाई टाईफाईडमुक्त बनाउने अभिप्रायले अभियान शुरु गरेको हो । नजिकिँदो निर्वाचन, कोभिड बिरुद्धको खोप अभियान, एसईई परिक्षा लगायत शैक्षिक शत्रको दोसाँधमा खोप अभियान राखिएपछि बर्दियामा बुधवारदेखि अभियान शुरु गरिएको छ ।
बर्दियाको महाकवी देवकोटा माध्यमिक विद्यालयका बालबालिकाहरुलाई खोप लगाएर अभियान शुभारम्भ गरिएको छ । जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद थारुले खोप सामाग्री र प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले खोप कार्ड हस्तान्तरणगर्दै अभियानको शुरुवात गर्नुभएको हो ।चैत्र २५ गतेदेखि ०७९ वैशाक १८ गते सम्म टाईफाईड रोग विरुद्धको खोपअभियान तालिका तय गरिएको भएपनि बर्दियामा वुधवारदेखि खोप अभियान शुरु गरिएको छ । ५ बर्षदेखि १५ बर्ष मुनीका बालवालिका खोपका टार्गेट हुन् । विद्यार्थीहरुको परिक्षा नजिकिनु र विद्यालय बन्द हुने महिनामा अभियान संचालन गर्दा विद्यार्थी बालवालिकाहरु नभेटिने हुन्की भन्ने चिन्ता पनि छ ।
जिल्लामा १ लाख १० हजार ६९ जना लक्षित बालवालिकालाई खोप दिईदै छ । अभियानका लागि ५ सय ४९ जना स्वास्थ्यकर्मी र १ हजार ९८ जना स्वयंसेवक परिचालन गरिएको छ । बर्दियाका ८ वटै पालिका गरी ३ सय ८९ वटा विद्यालयहरु छन् । २ सय ७४ वटा विद्यालयहरु र ७५ वटा स्वास्थ्य संस्थाहरुलाई खोप केन्द्रका रुपमा तोकिएको स्वास्थ्य प्रमुख गोकर्ण गिरीले बताउनु भएको छ ।