मधुवनको सामुदायिक बनभित्र ट्रिप्पर र ट्याक्टर गुडाउन रोक
- बुधबार चैत २३ , २०७८
हरि गुरुङ्ग, मधुवन । बर्दियाको मधुवन नगरपालिका वडा नं.–३ मा पर्ने गौरी महिला सामुदायिक वनभित्र ट्रिपर र ट्याक्टर प्रवेश गर्न निषेध गरिएको छ । जैविकमार्गमा रहेको सामुदायिक वन क्षेत्रमा बाघ लगायत जंगली जनावरहरुको आवागमन हुने भएकाले उक्त स्थानबाट नदिजन्य पदार्थको ओसारपसार गर्ने साधनहरु निषेध गरिएको हो ।
बन्यजन्तुसँग संभावित दुर्घटना हुन नदिन जैविक मार्गमा मानवीय आवात जावतका साथै सवारी साधन आवागमन रोक्ने ब्यवस्था गर्न जिल्ला अनुगमन समितिले निर्देशन दिए अनुसार निषेध गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा परिचित खाता जैविक मार्ग सानो तर अति संवेदनशील क्षेत्रको रूपमा लिने गरिन्छ । उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष जोड्ने जैविक मार्गलाई संवेदनशील मानिएको छ ।
गौरी महिला सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ता सदस्यहरु, मधुवन नगरपालिका वडा नं.–३ का वडा सदस्य होम बहादुर चौधरी नेपाल प्रहरी, बि.ओ.पी. भग्रैया सशस्त्र प्रहरी बल, डिभिजन वन कार्यालय बर्दियाका वन कर्मचारी र खाता सामुदायिक वन समन्वय समितिका पदाधिकारीहरुको उपस्थितिमा सूचना टाँस गरि प्रवेश निषेध गरिएको गौरी महिला सामुदायिक वन उपभोक्ता समुह मधुवन नगरपालिका वडा नं.–३ का अध्यक्ष भदै थारुले जानकारी दिनु भएको छ ।