नेपालमा भूमिहिनलाई हेर्ने दृष्टिकोण फरक : शान्ता चौधरी
- बुधबार चैत २३ , २०७८
चुरेकुञ्ज, गुलरिया । नेपालमा राज्य र समाजको भूमिहिनप्रतिको दृष्टिकोण फरक रहेको नेकपा एमाले पोलिट ब्युरो सदस्य एवम् नेपाल भुमिहिन सुकुम्वासी संगठनकी अध्यक्ष शान्ता चौधरीले बताएकी छिन् । संगठनको प्रथम केन्द्रिय महाधिवेशन तयारीको पूर्वसन्ध्यामा नेकपा एमाले बर्दियाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतृ चौधरीले भुमिहिनलाई गरिबको दर्जामा राखेर अपहेलित गर्ने गरिएको बताईन् ।
हलिया, चरुवा, मुक्तकमलरी, भुमिहिन लगायत मुक्तकमैयाहरुको मुक्तिका लागि नेकपा एमाले सधै अग्रपंक्तिमा रहेको बताउँदै श्रमजीवी र सर्बहारा बर्गहरुको संगठन बन्न सफल भएको जिकिर गरिन् । बर्दिया जिल्ला शोषित, पिडित समुदायहरुको वाहुल्यता रहेका कारणले पनि भुमिहिन संगठनले बर्दियालाई अधिवेशन स्थल तोकेको प्रष्टपार्दै नेपालमा हरुवा, चरुवा, भूमिहिन, सुकुम्वासी, मुक्तकमैया लगायत ६० हजार मानिसहरु जमिनको मालिक बनेको दोहोर्याईन् ।
ओली सरकारका पालामा ९ सय विगाहा जमिन भुमिहिनहरुलाई वितरण गर्न नापी सकेको अवस्थामा सरकार विघटन भएपछि जग्गा वितरण कार्य ओझेलमा परेको उनको भनाई छ । नेपालमा ११ लाख भुमिहिनले फारम भरेको भएपनि जमिन दिने बारेमा सरकारले अलमलमा पारेको बताईन् । नेकपा एमालेको ६ वटा बाहेक २३ बटै जनवर्गिय संगठनहरुको अधिवेशन भैरहेको जानकारी दिईन् । भुमिहिन सुकुम्वासीहरु एमालेको चुनावी नारा नभएको प्रष्ट्याउँदै उनले भनिन् स्थानिय निर्वाचनको उम्मेदवारी छनौटका कारण केही प्रतिनिधिहरु बर्दिया आउन नसकेपनि ५ सयदेखि ७ सय सम्म संगठनका प्रतिनिधिहरु सहभागी हुने विस्वास दिलाईन् ।
पत्रकार सम्मेलनका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य एवम् बर्दिया जिल्ला इन्चार्ज लक्ष्मण ज्ञवालीले नेपालमा भुमि आन्दोलन बर्दियाबाट शुरु गरिएको स्मरण गराए । संगठनको अधिवेशनलाई सम्वोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बर्दिया आउने जानकारी दिदै ०४८ सालमा कन्द्रामा भुमिहिनको बस्ती बसाएर शुरु गरेको आन्दोलन अझै नसकिएको प्रष्टपारे । बर्दियामा २० हजार अब्यवस्थित बसोवासी र ११ हजार भुमिहिनहरुले आवेदन दिएका छन् । परमादेशबाट बनेको गठवन्धनयुक्त देउवा सरकारको पालामा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितता बढेको उनको आरोप छ ।
सरकारका गलत कृयाकलापहरु उजागर गर्न उनले संचारकर्मीहरुलाई आग्रह गरे । नेकपा एमालेका केन्द्रिय सदस्य कमल गौतमले भुमिहिन सुकुम्वासी संगठनको अधिवेशनको औचित्य माथी प्रकाशपार्दै भुमिहिनहरुलाई जनता आवास कार्यक्रम मार्फत ब्यवस्थापनगर्दै रोजगारयुक्त बनाउन माग गरे । बर्दियामा श्रमीकहरुले १२ घण्टा काम गरेर ५ सय रुपैया मात्र पाएको बताउँदै नेता गौतमले बर्गिय आन्दोलनलाई समाजबाद तर्फ लैजाने निति रहेको सुनाए ।