बर्दियामा चैत्र २३ गतेदेखि टाईफाईड बिरुद्ध खोप अभियान
- मंगलबार चैत २२ , २०७८
चुरेकुञ्ज, बर्दिया । सरकारले देशैभरी एकै चरणमा टाईफाईड रोग बिरुद्ध बालवालिकालाई खोप अभियान शुरु गरेको छ । खोप लगाउन छुटेका बालवालिकालाई अभियानपछि नियमित खोपमा टाईफाईड खोप लगाउनेगरी अभियान शुरु गरेको हो ।
नजिकिँदो निर्वाचन, कोभिड बिरुद्धको खोप अभियान, एसईई परिक्षा लगायत शैक्षिक शत्रको दोसाँधमा खोप अभियान शुरु हुने भएपछि स्वास्थ्य संस्थाहरु चापाचापमा परेका छन् । चैत्र २५ गतेदेखि ०७९ वैशाक १८ गते सम्म टाईफाईड रोग विरुद्धको खोपअभियान तालिका तय गरिएको छ । बर्दियामा चैत्र २३ गतेदेखि २८ गते सम्म सबै स्थानिय पालिकाहरुमा टाईफाईड रोग बिरुद्ध खोप लगाईदै छ । ५ बर्षदेखि १५ बर्ष मुनीका विद्यालयमा अध्ययनरत बालवालिका खोपका टार्गेट हुन् ।
विद्यार्थीहरुको परिक्षा नजिकिनु र विद्यालय बन्द हुने महिनामा अभियान संचालन गर्दा विद्यार्थी बालवालिकाहरु नभेटिने हुन्की भन्ने कारणले चैत्र वुधवारदेखि खोप अभियान शुरु गरिएको हो । विद्यालय उमेर समूहका बालवालिका बाहेक १५ महिनादेखि ४ बर्ष उमेर समुहका बालवालिकालाई एचएमआईएसको तथ्यगत आधारमा खोप दिने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए । विद्यालयहरु बन्द नहुँदै खोप लगाउने गरी हामीले तयारी गरेका छौं । जेठ महिनापछि पनि खोप अभियान कार्यक्रम संचालन गर्न बर्षायामले कठिनाई पार्छ ।
अभियानमा छुटेका बाल वालिकालाई अभियानको १ महिनापछि नियमित खोपमै टाईफाईड विरुद्धको खोप संचालन हुन्छ । विद्यालय बाहिर रहेका बालवालिका पनि खोपबाट वञ्चित हुँदैनन् । गिरीले भने विश्वका ४ वटा देशहरुले मात्र यो खोप लगाएका छन् । खोप लगाएपछि टाईफाईड रोगबाट जोगिन मद्दत पुग्छ । खोप लगाएपछि केही दुख्ने बाहेक अन्यकुनै लक्षण देखिदैन । ढुक्क भएर खोप लगाउन उनले आग्रह गरे । खोप राम्रो छ । ट्रायलमा आएको खोप होईन । निसंकोच भएर लक्षित उमेर समुहका बालवालिकालाई खोप लगाउन अभिभावक लगाएत सबैले सहयोग गरौं । खोप संचालन निर्देशिका अनुसार खोप लगाईने उनले जानकारी दिए ।
जिल्लामा १ लाख १० हजार ६९ जना लक्षित बालवालिका छन् । अभियानका लागि ५ सय ४९ जना स्वास्थ्यकर्मी र १ हजार ९८ जना स्वयंसेवक खटिएको प्रमुख गिरीले प्रष्ट्याए । बर्दियाका ८ वटै पालिका गरी ३ सय ८९ वटा विद्यालयहरु रहेको शिक्षा बिकास तथा समन्वय इकाइ बर्दिया प्रमुख रेविका अमात्यले बताईन् । २ सय ७४ वटा विद्यालयहरु र ७५ वटा स्वास्थ्य संस्थाहरुलाई खोप केन्द्रका रुपमा तोकिएको छ । लक्षित विद्यार्थीहरु खोप लगाउनबाट कोहिपनि नछुटुन भनी समन्वय इकाइले विद्यालयहरुमा सहजीकरण गरेको प्रमुख अमात्यको भनाई छ ।
बर्दिया जिल्लाको सबै स्थानिय तहहरुको वडाहरुमा १५ महिना देखि १५ बर्ष मुनिका सबै बालवालिकालाई टाईफाईड रोग बिरुद्धको खोप लगाउने अभियान संचालन हुने भएकोले आफ्ना बालबालिकाहरुलाई नजिकैको खोप केन्द्रमा लगि टाईफाईड रोग विरुद्धको खोप लगाउन स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीले अनुरोध गरे । साथै खोप संचालन हुने विद्यालय र मिति थाहा पाउन नजिकैको महिला स्वास्थ्य स्वयम सेविका, विद्यालय वा स्वास्थ्य संस्थामा सम्पर्क गर्न चौधरीको आग्रह छ ।