बारबर्दिया नगरपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर
- बुधबार चैत १६ , २०७८
यादव आचार्य, गुलरिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्वर ९ स्थित वसाहा वर्डा गौसेवा आश्रम कर्तनियामा पशु स्वास्थ्य शिविर मार्फत पशुहरुको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । कैलालीमा अवस्थित टिकापुर वहुप्राविधिक शिक्षालय पशु विभागको टोलीले आश्रममा रहेका पशुहरुसँगै स्थानियले पालन गरेका पशुहरुको उपचार गरेको छ ।
शिविर मार्फत ५ सय १८ वटा गाई, भैसी, बाख्रा र ४ हजार गोटा कुखुरा गरी ४ हजार ५१८ पशुपंक्षीको उपचार गरिएको पशु विभागिय प्रमुख डाक्टर नन्दलाल खत्रीले बताए । आईएससी एजी (जनावर विज्ञान) संकाय तेश्रो बर्षमा अध्ययनरत ३३ जना विद्यार्थीको सहभागीतामा उपचार गरेका हौं । उनले भने आश्रमका पशुसँगै शिविरमा ल्याउन नसकेका पशुपंक्षीहरु घरघरमै पुगेर उपचार गरेका छौं । शिविर मार्फत स्थानियहरु लाभान्वित हुनु भएको छ ।
पोलिक्लिनले बार्षिक कार्यक्रम अन्र्तगत बर्दियामा पशु स्वास्थ्य शिविर आयोजना गरेको हो । हामीले बर्षेनी निःशुल्क पशु स्वास्थ्य चेकजाँच गर्दै आएका छौं । प्रशिक्षकका रुपमा डा. उद्धव पौडेल, डा. प्रमोद उपाध्याय, डा. सुदिप चौधरी र सह प्रशिक्षक राजकुमार खड्का तथा ओम भगत चौधरीले उपचारमा सहजीकरण गरेका हुन् । बृहत निःशुल्क शिविरमा पशुहरुको जुका, टीटी, गर्भ परिक्षण, प्लाष्टर, सिंग काट्ने लगायत भिटामिनका कमी भएका पशुहरुलाई भिटामिन दिएर उपचार गरिएको छ ।
घरमा पालेका बाख्रा, गाई, भैसी, कुकुर, हाँस, कुखुराको उपचारबाट स्थानियले लाभ लिएको प्रमुख खत्रीको भनाई छ । अशक्त पशुहरुको घरमै पुगेर उपचार गर्न पाउँदा खुशी लागेको छ । पालिकासँग समन्वय गरी शिविर आयोजना गरेका हौं । पशु स्वास्थ्य शिविरको आवस्यकता भएका ठाउँमा खबर गरे शिविर आयोजना गर्न हामी जुनसुकै बेला तयार छौं । बारबर्दिया नगरपालिकामा शिविर आयोजना गर्न पाउँदा खुशी लागेको छ उनले भने । हजारौं पशुपंक्षीको उपचारगर्दै ४ दिने शिविर सकिएको छ ।
बर्दियामा पछिल्लो समय पशुहरुमा विभिन्न रोग देखा परेको छ । जिल्लामा पशुहरुमा खोरेतको समस्या देखिएको एकिकृत कृषि तथा पशुपंक्षी विकाश कार्यालय पशु शाखाका अधिकृत अनिल शर्माले बताए । उनले भने हामीले खोरेत बिरुद्धको अभियान संचालन गरेका छौं । विशेष गरी बाख्राहरुमा खोरेत रोगले ठूलो समस्या निम्ताएकाले खोरेत बिरुद्धको भ्याक्सिन लगाउने अभियान बर्दियामा जारी छ । घरपालुवा पशुहरुको स्वास्थ्यमा किसानहरु समयमै सजग हुनुपर्ने शर्माको भनाई छ । अन्नपूर्ण पोस्ट्बाट ।