दैलेख र राजविराजमा दलित समुदायको जनप्रदर्शन
- शनिबार फाल्गुण १ , २०७७
दीपकलाल श्रेष्ठ, दैलेख । राष्ट्रिय दलित मुक्ती जागरण अभियानको उद्घाटन कार्यक्रम अन्तर्गत शनिवार पश्चिम नेपाल तर्फ दैलेख र पुर्वतर्फ राजविराजमा जनप्रदर्शन गरेका छन् । नेपाल् सरकारले सधैं दलितमाथि गरेको भेदभाव र कार्यशैलीको विरुद्ध जागरण अभियान शुरु गरिएको हो ।
राष्ट्रिय दलित जागरण अभियान अन्र्तगत दैलेखमा आयोजित बृहत जनजागरण कार्यक्रमलाई सम्बोधनगर्दै राष्ट्रिय दलित जागरण अभियानका पश्चिम् संयोजक खगेन्द्र सुनारले सधै भरि पार्टि र नेताले दलितलाई भोट बैंकको लागि मात्र प्रयोग गरेको बताए । अब दलित समुदाय गम्भीर हुनुपर्ने बेला आएको छ ।

राजनीतिमा लागेका केही दलित अगुवाहरुलाई समुचित अवसरबाट वञ्चित गरेर कार्यकर्ताको रुपमा प्रयोग गर्न खोजेको बताउँदै सुनारले भने ‘हरेक राजनीतिक परिवर्तनहरुमा दलित समुदायले सहभागिता मात्र नभई बलिदान समेत दिएका छन् । तर अवसरमा भने अझैं समानता पाउन सकेका छैनन् त्यसैले हामी सधैं अरुकै लागि लड्यौं, अब आफ्नैलागि एकतावद्ध भएर संघर्ष गर्नुको विकल्प छैन ।’
दैलेखमा भएको कार्यक्रममा पश्चिम नेपालका हरेक जिल्लाका दलित अभियन्ताहरुको उपस्थितिमा गरिएको कार्यक्रममा हजारौको उपस्थिति रहेको थियो ।
सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा पनि राष्ट्रिय दलित मुक्ति जागरण अभियान पूर्वीय कार्यक्रम अन्तर्गत शनिबार बिशाल जनप्रदर्शन गरिएको छ । राष्ट्रिय दलितमुक्ति जागरण अभियान अन्तर्गत पूर्वी जिल्लाका दलित समुदायका अभियन्ता हरुको बाक्लो उपस्थिति रहेको थियो । बिभिन्न जिल्लाबाट सहभागी हुन हजारौं सहभागी थिए ।
दलित माथी सामाजिक न्याय, मुक्ती र विभेदविरुद्ध देशव्यापी रुपमा राष्ट्रिय दलित मुक्तीजागरण अभियान सुरुवात गरिएको राष्ट्रिय दलित मुक्ति जागरण अभियानका पूर्वीय संयोजक राजेश विद्रोहीले बताए । दलित एवम् उत्पीडित समुदायमाथि हत्या, हिंसा, बलात्कार जस्ता जघन्य घटनाहरु भईरहँदा पनि सरकार मात्र नभई राजनीतिक दलहरुले मौनता साधेको बताउँदै उनले भने ‘दलित समुदायलाई राजनीतिक दलहरुले भोट बैंकको रुपमा प्रयोग मात्र गर्दैआएकोले यस विषयमा दलित समुदाय गम्भीर बन्नु आवश्यक रहेको सचेत पारे ।

सरकारको मौनताले कडा परिश्रम गर्ने दलित एवम् उत्पीडित समुदायलाई भोकभोकै मर्नुपर्ने बाध्यता आइ लागेको चर्चागर्दै विद्रोहीले भने ‘पटक–पटक आन्दोलन भए, ती आन्दोलनहरुमा दलित लगायत उत्पीडित समुदायले भोकभोकै बसेर सहभागिता जनाए, दर्जनौंले बलिदानी दिइरहे तर, अझै दलित समुदायको सामाजिक, आर्थिक र राजनीतिक अवस्था फेरिएको छैन् ।’
गरीब झन झन गरीब भएका छन् । सामन्त जमिनदारहरु नै सत्तामा पुगेर थप सवल भएका छन् ।’ विद्रोहीले थपे सामन्ती जमिन्दारहरु नै सत्ता पुगे पनि उत्पिडितलाई हेर्ने दृष्टिमा परिवर्तन आएन । उत्पीडित समुदायलाई भोकभोकै बस्नुपर्ने बाध्यता आइलाग्यो । अब पनि दलित समुदाय सचेत नभए समाजमा दशकौं उत्पीडनबाट मुक्ति पाउन नसकिने उनले दावी गरे ।
राजनीतिमा अब आफ्नै उम्मेदवार बनाएर जिताउनुपर्ने सम्मकालागि तयारी गर्नुपर्नेमा सामाजिक अभियन्ता समेत रहेका कार्यक्रमका प्रमुख अतिथि विद्रोहीले सचेत गराए । सप्तरीको राजविराज र दैलेख बजारबाट एकैसाथ अभियान सुरु भएको हो । अभियानमा सहभागीहरुले ‘दलितलाई निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गरियोस, ‘दलित समुदायमाथि भएका दमनमा संलग्नलाई कारवाही गरियोस, दलित आयोगलाई स्थानीयतह सम्म विस्तार गरियोस्, संबैधानिक आयोगहरुमा दलितहरुको प्रतिनिधित्व अनिवार्य गरियोस, निशुल्क उच्च शिक्षा को ग्यारेन्टी गरियोस् लगायत १४ बुदे मागहरु गरेका छन् ।
पटक पटक भएको आन्दोलनमा दलितसहित उत्पिडित समुदायले बलिदानी दिइरहेपनि सामाजिक, आर्थिक र राजनीतिक अवस्था अझै नफेरिएको भन्दै बाध्य भएर देशव्यापी रुपमा जागरण अभियान थालिएको जनाइएको छ ।