मधुवनको वडा कार्यालयलाई जग्गा दान दिने दम्पती सम्मानित
- मंगलबार चैत १५ , २०७८
हरि गुरुङ्ग, मधुवन । बर्दियाको मधुवन नगरपालिका वडा नं.–३ को प्रशासनिक भवन निर्माणका लागि जग्गा दान गर्ने श्रीमान श्रीमती सम्मानित हुनु भएको छ । वडा प्रशासनिक भवन समुदघाटनका क्रममा जग्गा दाता दाङ्ग जिल्ला शान्तिनगर गाउँपालिका वडा नं.–६ का राम बहादुर बुढाथोकी र श्रीमती पोटी कुमारी बुढाथोकीलाई सम्मान गरिएको छ ।

जग्गा दातालाई मधुवन नगरपालिका नगरप्रमुख गणेशबहादुर के.सी. (कृष्ण) र मधुवन नगरपालिका वडा नं.–३ का वडा अध्यक्ष नारायण मल्लले दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको छ । समुदघाटन कार्यक्रममाबोल्दै मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर के.सी.(कृष्ण) ले मधुवन नगरपालिकाको विकास गर्न सम्पूर्ण दल एक ढिक्का हुन जरुरी रहेको बताउनु भएको छ । मधुवन नगरपालिकाले पहिले भन्दा अहिले धेरै विकास गरेको बताउँदै साबिकका गा.वि.स. को अवस्था भन्दा स्थानीय सरकार आएपछिको अवस्थामा विकासले फड्को मारेको उहाँको जिकिर छ । जनप्रतिनिधिले गरेको काम र चरीत्रको आधारमा मतदान गर्नुपर्ने उहाँको भनाई छ ।

निर्वाचनमा बोलेका पुरा नभएका कुराहरु क्रमशः पूरागर्दै जाने प्रतिवद्धता ब्यक्तगर्दै वडा नं.–३ को प्रशासनिक भवन बनाउन भुमिदानकर्तालाई धन्यवाद ज्ञापनगर्दै भुमिदान गर्नेलाई स–सम्मान नमन ब्यक्त गर्नुभयो । वडा कार्यालयको भवन निर्माण गर्न मधुवन नगरपालिकाले ३८ लाख ७० हजार ८ सय ८८ रुपैयाँ अनुदान दिएको थियो । वडा प्रशासनिक भवन बनाउन करिब ३० लाख रुपैयाँ बराबरको (०–३–७) भुमि वडाले दानमार्फत प्राप्त गरेको छ । कार्यालयको ४ कोठे भवन मधुवन नगरपालिका वडा नं.–३ वडा अध्यक्ष नारायण मल्लले २०७६ बैशाख २२ गते शिलान्यास गर्नुभएको थियो । २०७८ माघ महिनामा निर्माण सम्पन्न गरिएको थियो ।

भवन निर्माण गर्ने जिम्मेवारी खड्का निर्माण सेवा बैजनाथ गाउँपालिका वडा नं.–१ चिसापानी बाँकेले पाएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर के.सी.(कृष्ण) विषेश अतिथिका रूपमा भुमिदानकर्ता राम बहादुर बुढाथोकी अतिथिहरुका रूपमा विभिन्न राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकायका सुरक्षाकर्मी, सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरु र समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो । वडा अध्यक्ष नारायण मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सचिव कल्याण कुमार तिमिल्सिनाले कार्यक्रम संचालन गर्नुभएको थियो ।
