बर्दियाको बढैयाताल गाउँपालिका जातीय भेदभाव तथा छुवाछुत मुक्तपालिका घोषणा
- सोमबार चैत १४ , २०७८
मुरली गोडिया, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका जातीय भेदभाव तथा छुवाछुत मुक्त पालिका घोषणा भएको छ । गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले भब्य समारोहका बीच पालिकालाई छुवाछुत मुक्त पालिका घोषणा गरेका हुन ।
जिल्लाका ८ वटा पालिका मध्ये बढैयाताल गाउँपालिकाले दलितका सवालमा काम गर्ने गैर सरकारी संघ संस्था र दलति अधिकारकर्मिहरुको समन्वय तथा सहकार्यमा पालिकालाई जातीय भेदभाव तथा छुवाछुत मुक्त पालिका घोषणा गरि पहिलो पालिका बनेको हो । पालिकामा जातिय विभेद नहुने बताउँदै कसैले उल्लंघन गरेमा कानुन बमोजिम कार्वाही गर्ने प्रतिबद्धता अध्यक्ष श्रेष्ठले जनाए । उनले नेपालको संबिधानमा उल्लेखित छुवाछुत विरुद्ध बनेका कानुनको पूर्ण रुपमा कार्यान्वयन गर्ने र जातीय विभेद, छवाछुत मुक्त गाउँपालिका बनाउने संकल्प गरे ।
लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले घोषणा सभा कार्यक्रमको उद्धघाटन गरेका हुन् । विभिन्न राजनैतिक दलका प्रतिनिधीले पालिकालाई छुवाछुत मुक्त राख्ने कार्यमा सहयोगको प्रतिबद्धता जनाएका छन । दलित महिला संघकी केन्द्रिय सचिव तथा बर्दिया जिल्ला अध्यक्ष हेमा सुनारले कार्यक्रमको सहजीकरण गरेकी थिइन । घोषणा पुर्व गाँउपालिकाले “जातिय भेदभाव तथा छुवाछुत उन्मुलन कार्यनिति २०७८” निर्माण गरेको थियो ।
कार्यनिती निर्माण तथा घोषणा सभाको सहजीकरण गर्न समन्वयकारी भुमिका निर्वाह गरेकोले दलित महिला संघ बर्दियालाई सम्मान समेत गरिएको छ । घोषणा सभामा स्थानिय जन प्रतिनिधि राजनितक दलका प्रतिनिधि, दलित अधिकारकर्मि, मानब अधिकारकर्मी, पत्रकार, नागरिक समाज, शिक्षक, बिद्यार्थी लगाएत झण्डै पाँच सयको सहभागिता रहेको थियो ।