बर्दियाको भौराक्षेत्रमा चैते धान रोपाईको चटारो
- आइतबार चैत १३ , २०७८
मिन अधिकारी, राजापुर । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको भौराक्षेत्रका किसानलाई चैते धान रोपाई गर्न भ्याइ नभ्याई परेको छ । उर्वर माटो सिँचाईको सहज सुविधाका कारण राजापुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपर जोनले चैते धान खेतीको क्षेत्र विस्तारका लागि पहल गरि रहेको छ ।
विगतमा चैते धान खेतीमा खासै रुचि नदेखाउने यो क्षेत्रका किसानले अहिले उत्सुकताका साथ चैते धान रोपाई गरिरहेको बदालपुर शाखा कुला मुरैया मौजा र मुरैया गाउँका बरघर जगतराम थारुले वताउनु भयो । यो वर्ष आफ्नो मौजामा करिब १० प्रतिशत किसानले चैते धान खेती गर्न थालेको उहाँको भनाई छ ।
स्थानीय किसान खुशीराम थारुले चैते धान खेती गर्ने किसानलाई सुपरजोनले ५० प्रतिशत सम्म अनुदानमा कृषि यन्त्र उपकरण दिने भएकाले यस प्रति आकर्षण बढेको वताउनु भयो । वर्षे धानको अनुपातमा धेरै मेहनत र स्याहार सुसार गर्नु नपर्ने चैते धानको क्षेत्र विस्तारका लागि किसानलाई प्राविधिक देखि विभिन्न प्रकारका सहयोग गर्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपर जोन संचालक समितिका संयोजक पहारी थारुले वताउनु भयो । अहिले किसान मैत्री प्रविधि हुदै गएकाले चैते धान स्याहार्न धेरै समस्या नरहेको संयोजक थारुको भनाई छ ।