fbpx

गुलरिया स्थित खैरापुरको पर्वतिया मन्दिरमा धार्मिक महोत्सव

गुलरिया स्थित खैरापुरको पर्वतिया मन्दिरमा धार्मिक महोत्सव

चुरेकुञ्ज, गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर १ खैरापुरमा अवस्थित पर्वतिया मन्दिर परिसरमा पर्वतिया माई ज्ञान विज्ञान धार्मिक महोत्सव गरिने भएको छ । मन्दिरको पुरातात्विक महत्वको उजागरगर्दै मन्दिरको स्तरोन्नती गर्ने हेतुले स्थानिय सरकार र समुदायको पहलमा महोत्सव आयोजना गरिएको छ ।

पर्वतिया मन्दिर विकास संस्थाको आयोजनामा चैत्र २१ गतेदेखि २८ गते सम्म हुने धार्मिक महोत्सवमा संगीतमय श्रीमदभागवत ज्ञान महायज्ञ, बालसंस्कार, योग विज्ञान शिविर सहित १००८ शालिग्रामको पुजा अर्चना हुने पर्वतिया मन्दिर विकास संस्था एवम् गुलरिया नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष प्रताप गौतमले बताउनु भयो । धार्मिक अनुष्ठानमा संजेलजी महाराजको मुखारविन्दबाट कथा बाचन हुँदैछ । महोत्सव सम्पन्न गर्न विभिन्न उपसमितिहरु निर्माण गरिएको छ ।

उद्घाटनका दिन कलशयात्रा, बाजागाजा, बजारपरिक्रमा सहित धार्मिक अनुस्ठान आरम्भ गरिने अध्यक्ष गौतमको भनाई छ । खैरापुरमा अवस्थित पर्वतिया मन्दिरको धार्मिक महत्व रहेकाले यसको ऐतिहासिक विरासत जोगाउन वडाले मन्दिर निर्माणको लागि डीपीआर तयार पारेको छ । प्राचिन कालमा कैलाश मानोसरवरबाट दक्षिणापन्तको भ्रमणका बेला पर्वतिया क्षेत्रमा आराध्यदेव शिव पार्वती लामो समय सम्म बसेको किंवदन्ती रहीआएको छ । विश्रामका क्रममा शिवपार्वतीले जाँतोले पिसेर भोजन गरेको स्थानका रुपमा पर्वतिया क्षेत्रलाई लिईन्छ ।

पर्वतिया मन्दिर परिसरमा अवस्थित प्राचिन जाँतो अझै छ । जसको संरक्षणको जरुरी रहेको वडाध्यक्षले बताउनु भयो । मन्दिर लगायत परिसरमा रहेका पुरातात्विक सम्पदा अनुसन्धानको लागि पुरातात्विक विभागसँग समन्य भैरहेकाले मन्दिरको संरक्षणको लागि समुदाय लगायत स्थानिय सरकार लागिपर्नु पर्ने गौतमको भनाई छ । पर्वतिया मन्दिर जिल्लाकै ऐतिहासिक मन्दिर भएपनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।

तपाइको मत