बर्षा पिडित किसानलाई राहत माग्दै सरकारलाई ज्ञापन पत्र
- बुधबार चैत २ , २०७८
विष्णु अधिकारी, गुलरिया । बेमौसमी बर्षाका कारण किसानहरुको बालीनालीमा भएको क्षतिको क्षतिपुर्ति समयमा उपलब्ध नगराएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगरकमिटी गुलरियाले विरोध प्रदर्शन सहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । उनीहरुले बुधवार बर्दियाको सदरमुकाम गुलरियामा नगर परिक्रमागर्दै जिल्ला प्रशासन कार्यालय अगाडी नाराबाजीगर्दै विरोध प्रदर्शन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई पठाएको विज्ञप्तीमा कार्तिक महिनामा आएको बाढी तथा अविरल बर्षाका कारण किसानले उत्पादन गरि भित्राउन तयार भएको धान बाढी तथा बर्षाले क्षति पु¥याएको हुँदा यथासक्य जाँडो किसानलाई राहत वितरण गर्न माग गरिएको छ । नेपाल सरकारले २०७८ कार्तिक ११ गतेको निर्णय अनुसार बाली तथा पशुबस्तुमा भएको क्षतिपुर्तिका सम्बन्धमा १० कठ्ठा सम्म क्षति भएको साना किसानलाई उत्पादन लागतको ६५ प्रतिशत, मझौला किसानलाई जसको ११ कठ्ठा देखि ४० कठ्ठा सम्म छ उसको क्षतिको ३० प्रतिशत र ४० कठ्ठा भन्दा माथिका किसानलाई २० प्रतिशत सम्म राहत दिने सरकारले घोषणा गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेकपा एमाले गुलरिया नगरकमिटिका अध्यक्ष अमरबहादुर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ बेमौसमी बाढी तथा बर्षा भएको महिनौ वितिसक्दा पनि बालिमा भएको क्षतिको यकिन तथ्याङ्क संकलन गर्ने काम भएको छैन । सरकारले राहत वितरण गर्ने कार्य गृह मन्त्रालय अन्तर्गत रहेको विपद व्यवस्थापन मार्फत गर्ने निर्णय गरेता पनि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र गृह मन्त्रालय विच आवश्यक समन्वय नहुँदा किसानले ५ महिना वितिसक्दा पनि राहत पाउन नसकेको उल्लेख छ ।
बेमौसमी अविरल बर्षा तथा बाढीबाट प्रभावित किसानलाई नष्ट भएको धान, अन्य कृषि बाली तथा पशुपंक्षीमा भएको क्षतिको आधारमा क्षतिपुर्ति उपलब्ध गराउन जोडदार माग गरिएको छ । अधिया, बटैया गर्ने किसानलाई पहिलो प्राथमिकतामा राखी क्षति लागत मुल्यको शत प्रतिशत, मध्यम किसानलाई ८० प्रतिशत र ठुला किसानलाई क्षतिको ५० प्रतिशत राहतको लागि नेपाल सरकार सँग विज्ञप्ती मार्फत जोडदार माग गरेका छन् ।