नेपाल चक्रब्युहमा फस्यो : राप्रपा अध्यक्ष लिङ्देल
- सोमबार फाल्गुण ३० , २०७८
विष्णु अधिकारी, गुलरिया । राजनैतिक दल र नेताका कारण ३१ बर्ष देखि देश चक्रव्युहमा समय विताई राखेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देलले बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी बर्दियाको आयोजनामा सदरमुकाम गुलरियामा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।
काँग्रेस, एमाले र माओवादीले देश पूर्ण रुपमा बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा परिणत गराएको उनले आक्रोस पोखे । देश सेवामा समर्पित हुनुपर्ने योग्य कुशल युवाहरु ठुलो संख्यामा सामान्य परिवार पाल्नका लागि अरबको मरुभुमि, मलेसियाको जंगलमा पसिना बगाउन बाध्य भएको लिङ्देलको भनाई छ । करिब ३ करोड जनसंख्या भएको नेपालमा ५० लाख निरोगी युवाशक्ति बैदेशिक रोजगारमा जानु देशका लागि दुखद भएको उनको भनाई छ ।
अध्यक्ष लिङ्देलले जनताले करिब दुई तिहाई बहुमत दिएर कम्युनिष्ट पार्टी तत्कालिन बाम गठबन्धनलाई सरकारमा पु¥याउदा पनि पुरा कार्यकाल चलाउन नसकेकोले यो व्यवस्था असफल भएको उनले दाबी गरे । उनले व्यवस्था मात्र असफल नभएर नेतृत्व पंक्ति पनि असफल भएकोले आउने निर्वाचनमा नेपाली जनताले विकल्प खोज्नु पर्ने बेला आएको नेता लिङ्देलले बताए ।
कार्यक्रममा बोल्दै राप्रपा प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले कलाकारले समाजमा देखिएको दृष्यलाई कलाकारिताका माध्यमले प्रस्तुतगर्दा आफुलाई गणतन्त्र वादीको हिमायती ठान्नेहरुले धम्काई, डरत्रास देखाएकोमा रोष प्रकट गरेका छन् । प्रवक्ता शाहीले हिजो राजाका पालामा बोल्न लेख्न पाइदैन भनेर ल्याएको गणतान्त्रिक व्यवस्थामा पनि लेख्न बोल्नका लागि हात र मुख बन्द गराउनु कहाँको गणतन्त्र हो भनि प्रश्न गरे । कार्यक्रममा राप्रपाको केन्द्रिय महामन्त्री धवल शमसेर राणा, कुन्ति शाहि, रेखा थापा लगाएतले सम्बोधन गरेका थिए ।