गुलरिया स्थित भैसाहीको कन्जरहवा नालामा पुल शिलान्यास
- सोमबार फाल्गुण ३० , २०७८
गिता चौधरी, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर १२ स्थित भैसाहीको कन्जरहवा नालामा पुलको शिलान्यास गरिएको छ । पूर्व सिंचाई मन्त्री संघीय सांसद एवम् नेपाली काँग्रेसका केन्द्रिय सदस्य संजयकुमार गौतमले धार्मिक अनुष्ठानकाबिच सोमवार पुलको शिलान्यास गर्नु भएको छ ।
लामो समयदेखि विभिन्न नेताहरुबाट पुल बनाउने आस्वासन पाएको भैसाहीमा पुलको शिलान्यास भएपछि स्थानिय समुदायहरु खुशी भएको बताएका छन् । शिलान्यासपछि स्थानियलाई सम्बोधनगर्दै गौतमले तोकिएकै समयमा पुल सम्पन्न गराउन आफू लागि पर्ने विस्वास दिलाउनु भएको छ । पुल निर्माणसँगै बारबर्दिया, गुलरिया नगरपालिका, धधवार लगायतका क्षेत्रको अर्थतन्त्र लगायत सामाजिक परिवर्तन ल्याउन सहज हुने बताउँदै राजनितिक जीवनदेखि नै भैसाही क्षेत्रको विकासमा आफ्नो मन गएको प्रष्ट्याउनु भयो ।
भैसाही क्षेत्रमा आफूले गरेका बाचा क्रमशः पूरागर्दै गएको बताउँदै भजना खोलामा पनि शिघ्र पुल निर्माणको लागि पहल गर्ने उहाँले प्रतिवद्धता ब्यक्त गर्नुभयो । त्यसक्षेत्रमा मुक्तकमैया तथा सुकुम्वासीहरुको समस्या समाधान गर्ने विस्वास दिलाउँदै नेता गौतमले स्थानिय निर्वाचन नजिकिदै गरेकाले दलहरुका भ्रममा नपर्न अनुरोधगर्दै नेपाली काँग्रेस पार्टीले तोकेका उम्मेदवारहरुलाई जिताउन अनुरोध गर्नु भएको छ । उहाँले भैसाही क्षेत्रमा आफूले निर्माण गरेका सडक, सिंचाई, तटबन्ध लगायत पुलपुलेसाहरुको स्मरण गराउनु भएको छ ।
