भगवान र मान्छेसँगै कहाँ हुन्छ र ?
- शनिबार फाल्गुण २८ , २०७८
भूपेन्द्र शेराला, बर्दिया । म करिब ४ बर्षको हुँदा मेरो आमाले मलाई छोडेर जानू भयो, आज आमाले छोडेर गएको पनि ठिक २६ बर्ष भयो । मलाई यो २६ बर्ष २६ दिन जस्तो पनि लागेको थिएन । मेरो बुवाले मलाई आमा बुबा दुबैको माया, आशिष, करुणा दिनु भएको थियो, मेरो बुवाले संसारको सबै भन्दा शत्तिशाली ब्यक्ती लाग्थ्यो मलाइ । संसारमा मेरो बुवा जति शत्तिशाली ब्याक्ती कोहि छैन भन्ने महशुस हुन्थ्यो । बुबाको हात समाउदै बुबाको पछी लागेर बाल्यकालको करिब १३ वर्ष बुबाको हात समाउदै बुबाको अगाडी पछाडी हिडेको कुरा अहिले सम्झन्छु ।
अखिर बुवा भनेको गौरब पनि रहेछ । आज कसैले फलनाको छोरा होइन भनेर सोध्दा मलाइ आफु खुब भाग्यमानि रहेको महशुस हुन्छ । बुढेशकालको छोरा भएर पनि होला बुुवाको माया बढीनै पाएको महसुश हुन्छ मलाई । अहिले सम्झन्छु आफुलाइ रित्ताएर आफ्ना सन्तानकै लागीमात्र सोच्दा रहेछन आफ्ना बुवा र आमाले । आफ्नो बुढोभएको शरिर भन्दा छोराहरुको भबिष्यको चिन्तामात्र रहिरहेको रहेछ बुवालाई । बुवाको काध मलाइ संसारको सबै भन्दा प्रिय लाग्छ । यहि काँध आफ्ना सन्तानको भविष्यको लागी पिल्साउँदा पिल्साउदै आफ्ना अनेकै रहरहरुलाइ तिलाञ्जली दिएका हुन्छन सबै बुवाहरुले । अहिले जब मेरो बोझमा भारी हुन्छ तब म सधैं मेरो बुबालाई सम्झन्छु ।
बुवाहरुले कहिले आफ्ना सन्तानहरुलाइ कहिलो ठुलो बोझ बोक्न दिएका हुदैनन । बुवा जुन मेरो जीवन छ, मैले यो तपाईबाट प्राप्त गरेको छु । मैले जुन काम गर्दैछु मैले त्यो तपाईबाट सिकेको छु । तपाईं जीवनको हरेक क्षणमा मेरो छायाँ हुनुभएको छ । जब तपाईं मलाई आफ्नो दैनिक जीवनयापनको क्रममा आफनो छातीमा टाँस्नुहुन्थ्यो, म आफूलाई सुरक्षित महसुस गर्थे । मेरो प्रतिष्ठा, मेरो प्रसिद्धि, मेरो स्थान, मेरो साहस र मेरो विश्वास सबथोकमा तँपाइनै हुनुहुन्थ्यो । बुवा हजुरले हाम्रो सुन्दर भविष्यका लागि अनवरत खटिएर खियाउनु भएको घुँडामा सन्तान सुखको मल्हमले सदैव आराम दिलाउन पाइरहूँ । सिर्फ यो शिरमाथि सधैँ हजुरको आशीर्वाद रूपी हात भइरहोस् । भगवान् छन् वा छैनन् थाहा छैन, तर मेरा लागी साक्षात् भगवान् नै हजुर हो, जसको आराधना मेरो जीवनको नित्यकर्म बनेर रहेको छ बुवा ।
हिजो माइल दाजिलाइ फोन गरें, सन्चो बिसन्चो सोधें, लगत्तै अर्को प्रश्न मनमा आइसकेको थियो, ‘दाइ बुबालाई कस्तो छ ?’ तर मन कन्ट्रोल गरें । अब यो प्रश्न मनबाटै हटाउनु पर्छ मैले । म हरेक समय दाइलाई नै फोन गर्थे र बुवाको बारेमा सोध्थें । कारण केही समय अघिदेखि बुवाको पेट दुखाइको समस्या थियो र बुवा खासै त्यति बोल्नु हुदैनथ्यो । २०७८ फागुन १७ गते रातिको घटनाले परिवारमा सन्नाटा छायो । केही समय एक महिनाको अस्वस्थ भएर बुवा हामीबाट सदाको लागि बिदा भइसक्नु भएको छ । बुवाले हामीलाई सदाको छोडेर गएको पनि करिब आज १३ दिन हुन लागिसक्यो, तर मन पटक्कै मानिरहेको छैन । थाहा छ जन्मपछि मृत्यु निश्चित छ । र पनि मृत्यु यति भयावह किन हुन्छ ?
लाग्छ बुवा घेरमै बेडमा सुतिरहनु भएको छ । संसारमा सबै कुरा किन्न पाईन्छ शिवाय आमाबुवा । आमाबुवाको मायालाई हामीले कुनै कुरासँग पनि तुलना गर्नै सक्दैनौ । म अझै विश्वास गर्न सकिरहेकी छैन । बेला बेला मन झसंग हुन्छ, बुवाको त्यो अन्तिम बिदाई, शोकाकुल परिवार, र छोरामा फेरिएको रुप । घरको अविभावक गुमायौं हामीले । उज्यालो गुमायौं हामीले र सदा सदाको लागि बुवा गुमायौं । सुन र हिराका करोडौं ढिक्का दिए पनि जीवनको एक क्षण पाइँदैन, र हामीले पाएको यो अमूल्य समय र जीवनलाई मेरो बुवाले जस्तै सधै सत्कर्ममा खर्चिऊँ । मैले आफ्नो बुवा भनेर तारिफ गरेको होइन । बुवा समाजसेवी, सकारात्मक सोंच र सबैलाई असल देख्ने व्यक्ति हुनुहुन्थ्यो । गाउँको बुढो मान्छे सबैको जिम्मेवार व्यक्ति अझ भनौं सारै रमाइलो व्यक्ति ।
मेरो बुवा अतिनै सिधा हुनुहुन्थ्यो, न कसैसंग झगडा, न कसैको रीस एकदम परोपकारी ब्यक्ति हुनुहुन्थ्यो । आज हामीबीच बुवाको भौतिक शरीर नभएपनि लाग्छ, आत्मा सधैं हाम्रै वरिपरी रहनेछ । बुवाको आत्मविश्वासीपन, कर्मठ, सहयोगी भावना र लगनशिलताले हामी परिवारलाई मात्र होइन, समाजलाई नै ठूलो पाठ सिकाएको छ । बुवाको निधनले परिवार सुन्य भएको छ । हामीलाई गहिरो घाऊ लागेको छ । तर सम्हालिनुपर्छ, दुखाई भुल्नुपर्छ । आफु बाँच्नुपर्छ, अनि सम्बन्ध बचाउनुपर्छ । घाऊ त गहना हुन जिन्दगीका, जहाँ नेर दुख्छ त्यहीं त महसुस हुन्छ जिन्दगी । घाउलाई मलम लगाउँदै विस्तारै अगाडि बढाउनुपर्छ जिन्दगी ।
हामी सबै भाइले बुवालाइ आफुले भ्याय सम्म बुवाको सेवा औसधि उपचार गरेका नै थियौ । सबैभन्दा दुःखद कुरा हामी तीन वटा भाइ नै बुवाको बुवाको सास जादा नजिकै नहुदा हामिलाइ सार्है पछुतो लागिरहेको छ । मैले बुबा बितेको खबर रातिको ११ः३० बजे पाएँ । एक्कासि खबरले मलाई आकाश खस्यो जस्तो भो । हामी सबै परिवार रातिको २ बजे बर्दिया बाट हिंड्यौ, रातिको ५ बजे कैलाली घरमा पुगियो । २०७८ फागुन १७ गतेको बेलुका ठिक १० बजेर १० मिनेटमा बुवाको अन्तिम बिदाईको समय थियो । बुवालाई हल कोठामा सुताइएको थियो । परिवार, आफन्तजन शोकाकुल अवस्थामा थिए । मलाई लाश भनेपछि असाध्यै डर लाग्थ्यो । मैले त्यति नजिकबाट आजसम्म कसैको लाश हेरेकी थिइन् । तर आज डर कता गयो ? थाहा छैन ।
सायद मायाले होला र आफ्नो भनेर होला । मैले एकनासले बुवालाई हेरिरहें । मनमा धेरै कुरा आइरहेका थिए, ‘बुवा बेहोस मात्र हुनु भएको हो, सास अझै बाँकी छ’ जस्तो लाग्यो तर यथार्थ त्यो थिएन बुवा त चीर निन्द्रामा गइसक्नु भएको थियो । मलाई त मुटुमा गाँठो परिरहेको थियो, झन् मेरो दाइहरुलाइ कस्तो भयो होला ? यो अवस्थामा मैले बुवालाइ हेर्न सकिरहेको थिइन् । बिहान सवै आफन्तजन ईष्टमित्रहरु आइसक्नु भएको थियो, तर बुवाको माइलो छोरा मेरो माइला दाइ बाजुरा बाट बिहानको ११ बजे पुग्नुभयो । बुवाको लाश उठाउनै लाग्दा एउटा कारुणिक दृश्यले मन झनै भक्कानियो । अन्तिम बिदाईसँगै सबै आफन्तजनहरुको रुवाइले मेरो भकानो, मुटु नै आफ्नो नभए जस्तो भयो । हार्दिक श्रद्धाञ्जली बुवा ।
लेखक शेराला नेकपा एमाले बर्दिया जिल्ला सदस्य तथा नेपाल उत्पीडित जातीय मुक्ति समाज, बर्दियाका अध्यक्ष हुनुहुन्छ ।