गेरुवा गाउँपालिकामा खानेपानी बितरण शुरु
- शुक्रबार फाल्गुण २७ , २०७८
मिन अधिकारी, राजापुर । बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ४ मा रहेको भाँगाबारी खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटनगर्दै हस्तान्तरण गरिएको छ । ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति काठमाण्डौँको आर्थिक सहयोगमा मानपुर युवा समाज (मायुस) को सहजिकरणमा संचालित खानेपानीको शुक्रबार एक समारोहका बिच हस्तान्तरण गरिएको हो ।
गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले खाने पानीको टुटी खोलेर उद्घाटन गर्नुभएको हो । मानपुर युवा समाज (मायुस) का अध्यक्ष शशीराम विकको अध्यक्षतामा भएको कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष केसीले विपन्न बस्तीमा संचालन गरिएको खानेपानीले यहाँका स्थानीय लाभान्वीत भएको बताउँदै अव खानेपानीको हस्तान्तरणसँगै यसको जिम्मेवारी पालिकाले लिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । आगामी दिनमा खानेपानीमा कुनै समस्या भए त्यसको समाधान गर्न पालिका पछि नहट्ने बताउँदै खानेपानीमा आवश्यक भवनका लागि सहयोग गर्ने विस्वास दिलाउनु भयो ।
गेरुवा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष बल बहादुर चलाउनेले वडा नं. ४ मा विभिन्न उदाहरणीय कार्यहरु भएको बताउनु भएको छ । सिँचाईका लागि पानीको अभाव भइरहेको बेलामा वडाले साढे ४ लाख बजेट विनियोजन गरेर साँघुरा कुलाहरुमा जेसिबीको प्रयोग गरी सुधारेपछि अहिले पानीको अभाव टरेको उहाँको भनाई छ । वडाका सबै घरधुरीलाई स्वच्छ खानेपानीको पहुँचमा ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।
मानपुर युवा समाज (मायुस) का अध्यक्ष शशीराम विकले यस क्षेत्रमा खानेपानी निर्माण गर्नुको मूख्य उद्देश्य अति विपन्न परिवारको बसोबास रहेको र बाढी प्रभावित क्षेत्र भएकोले यस क्षेत्रलाई विशेष प्राथमिकता दिएर खानेपानी संचालन ल्याइएको बताउनुभयो । उहाँले खानेपानी संचालन सँगै अब स्थानीयलाई दुषित पानीबाट लाग्ने रोगहरुको संक्रमणमा कमी आउने बताउनुभयो । कार्यक्रममा उपभोक्ता समितिकी अध्यक्ष सिता आचार्य, वडा सदस्य हुकुम चलाउने, मोबिला शर्मा लगायत विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन मानपुर युवा समाज (मायुस) का कार्यक्रम संयोजक प्रेमलाल चौधरीले गर्नुभएको थियो ।