fbpx

ओलीमा सामूहिक भावना छैन

ओलीमा सामूहिक भावना छैन

धनकुटा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड, नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीमा पार्टी भावना, सामूहिकता र काम गर्ने अठोट नभएकै कारण अहिलेको स्थिति आएको आरोप लगाएका छन् ।
शनिबार धनकुटामा आयोजित प्रतिनिधिसभा विघटनको असंवैधानिक एवम् प्रतिगामी कदमविरुद्ध विरोधसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले केपी ओलीको खुट्टी देखेर पत्याए, तर मान्छे अगतिलो रहेको बताए । उनले भने, ‘आफ्नै सन्तान कुसन्तान बने, ओली देउता होलान् भन्ठानेको थिएँ, दानव पो रहेछन् ।’

पार्टीको तर्फबाट पाँच वर्ष प्रधानमन्त्री चलाएर पार्टी घोषणापत्र, चुनावी घोषणपत्र अनुसार काम गर्नुस् भन्दा पनि ओली आफैँले काम नगरेर पार्टीले काम गर्न दिएर भन्नुमा कुनै तुक नरहेको बताए । उनले यो विरोधसभा कुनै पद प्रतिष्ठाको लागि नभएर केपी ओली प्रवृति विरुद्धको लडाइँ रहेको उल्लेख गरे । उनले भने, ‘यो लडाइँ लोकतन्त्र बचाउनको लागि हो । संसद प्रतिनिधिसभा पुनस्र्थापना गराउने पक्षको लडाइँ हो ।’

उनले केपीले देश डुबाए, संविधान खाए तर अहिले उनका भजनमण्डलीले भनेको केपी बामा रमाएको बताए । ‘ओलीलाई आफ्नो स्वार्थबाहेक केहीको चिन्ता छैन’, उनले भने, ‘ओलीलाई गरिब, मजदुर, बेरोजगार र समाजवादको चिन्ता छैन ।’

‘प्रचण्ड, नेपाल जहाँ छन् त्यही नेकपा आधिकारिक हो । प्रचण्ड, नेपाल जहाँ छन् सूर्य चिह्न त्यहीको हुन्छ । ओलीको चिह्न त वयलगाडा हो’, नेता नेपालले भने, ‘जनआन्दोलनको वेला वयलगाडा चडेर अमेरिका पुगिँदैन भनेका थिए । एमाले हुँदा ओलीबाट म पछुताए । अहिले वामदेव पछुताएका छन् । मैले वामदेवलाई भनेको छु । वालुवा पेलेर तेल निस्किदैन । बरु आफ्नै तेल निस्किन्छ । उहाँ अझै पर्खनुस् भन्दै हुनुहुन्छ’ ।

विरोध सभामा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री वर्षमान पुन, केन्द्रीय सदस्य रामुकुमारी झाँक्री, हेमराज भण्डारी, नेकपा १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्य लगायतले बोलेका थिए ।

तपाइको मत