fbpx

बर्दियामा पहिलो चोरीशिकार नियन्त्रण दिवसको सम्झना

बर्दियामा पहिलो चोरीशिकार नियन्त्रण दिवसको सम्झना


रमेश थापा । मार्च ३ संसारभर बिश्व वन्यजन्तु दिवसको रुपमा मनाइन्छ भने नेपालमा “चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान दिवस“ को रुपमा मनाइन्छ । हामी यसबर्ष भब्यतापूर्वक यो दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने क्रममा छौं । यो दिवस मनाइरहँदा मेरो मानसपटलमा पहिलो कार्यक्रमको रुपरेखा सल्बलाइरहेको छ । जतिबेला देश बिकराल द्वन्दको भूमरीमा फसेको थियो ।

निकुञ्जका कर्मचारी र सुरक्षाकर्मी बाहिर निस्किन नपाउने अवस्था थियो, चोरीशिकारीहरुले दिनदहाडै गेरुवा नदितटिय क्षेत्र, बबई उपत्यका र खाता जैविक मार्गसंग जोडिएका भू–भागमा स्थानीय लाटा सोझा युवाहरुलाई बिभिन्न लोभ, प्रलोभन र प्रभावमा पारेर वन्यजन्तु मार्ने र यिनका अङ्गहरु चोरीनिकासी गर्ने काममा प्रयोग गरिरहेका थिए। त्यति बेला चोरीशिकारी र तस्करका बिरुद्ध प्रतिकार गर्न स्थानीय युवाहरुकै साथ, सहयोग र समर्थनको आवश्यक्ता थियो ।

हामीले स्थानीय युवाहरुको साथ र सहयोगमा वन्यजन्तु सम्बन्धी अपराध नियन्त्रण गर्ने प्रयास गर्यौं र यसमा सफलता पनि प्राप्त गरेका थियौं । स्थानीय युवाहरुको सहयोगमा चोरीशिकारी र तस्करहरुलाई पक्राउ गरी कानूनको दायरामा ल्याउने काममा सफलता प्राप्त भएको थियो । यस्तो बिकराल अवस्थामा वन्यजन्तुको चोरीशिकार नियन्त्रण गर्ने कार्यमा सहयोग गर्ने युवाहरुको समूहलाई कानूनी रुपमा मान्यता प्रदान गरी एउटा शसक्त र जुझारु सामुदायिक संरक्षण साझेदार निर्माण गर्ने उद्देश्यका साथ “चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान“ संचालन गरिएको थियो । यो अभियानमा आवद्ध युवाहरुको समूहलाई नै उपभोक्ता समिति अन्तर्गतको उपसमितिको रुपमा दर्ता गरिएको थियो ।

युवाहरुको साथ र सहयोगले गर्दा ठूलो संख्यामा अपराधमा संलग्न हुनेहरु पक्राउ परे । कतिपय फरार भए । स्थानीय युवाहरु नै वन्यजन्तुको गोठालो बनेर वन्यजन्तु संरक्षणको अभियानमा लागे । वन्यजन्तु मार्ने, वन्यजन्तुका अङ्गको अबैध व्यपार गर्ने अपराधिहरुलाई खोजि खोजि पक्राउ गर्ने कार्यमा उनिहरु सक्रियतापूर्वक खटिन थाले । त्यसपछि बिस्तारै वन्यजन्तुको चोरीशिकारी सून्यतर्फ उन्मुख हुँदै गयो । वन्यजन्तुको संख्या बढ्न थाल्यो । फेरी नदितटीय क्षेत्रमा वन्यजन्तुहरु बिचरण गर्न थाले । यस्तो महान कार्यमा योगदान गर्ने स्वयंसेवक युवाहरुको जति प्रसंसा गरे पनि कम नै हुन्छ ।
समयक्रमसंगै पक्राउ परि कारागरमा रहेका र फरार रहेका अपराधीहरु फेरि संगठित हुन थाले ।

उनीहरुले चोरीशिकार नियन्त्रण कार्यमा सहयोग गर्ने स्थानीय युवा र निकुञ्जका कर्मचारीहरुलाई आक्रमण गर्ने, मार्ने सम्मका योजना बनाउन थाले । बिभिन्न माध्यमबाट धम्कि दिने, घर घरमा गएर जहान परिवारलाई तर्साउने गतिबिधि गर्न थालेको हुँदा संरक्षणकर्मीका बिरुद्ध हुने सबै किसिमका गतिबिधिको समुदाय स्तरबाट नै प्रतिकार गर्नु जरुरी थियो । छरिएर रहेका चोरीशिकार नियन्त्रण युवा परिचालन अभियानका अभियन्ता र सदस्यहरु बीच परिचय आदान प्रदान गर्ने, सुमधुर र घनिष्ट अन्तरसम्बन्ध कायम गर्ने, अनुभव आदान प्रदान गर्ने, हरेक चुनौतीको सामना गर्न एकजुट भएर लाग्ने एउटा शसक्त, जुझारु र शक्तीशाली संजाल बनाउनुपर्ने आवश्यक्ता महशुस भएकोले एउटा साझा चौतारीको रुपमा “चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान दिवस“ को अवधारणा ल्याइएको हो ।

“चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान दिवस“ को अवधारणा स्वयं मैले नै ल्याएको हो । मैले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागका तत्कालिन महानिर्देशक कृष्ण प्रसाद आचार्य समक्ष पेश गरेको अवधारणा सहितको प्रस्तावना महानिर्देशकज्यूबाट स्वीकृत भै “चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान दिवस“ मनाउन शुरु गरिएको हो । यो दिवस मनाउन थालेपछि यो अभियानमा हजारौं स्थानीय युवाहरु लामबद्ध भए । यो अभियानमा आवद्ध युवाहरुको संख्या र शक्ती देखेपछि यस क्षेत्रका चोरीशिकारी र तस्करहरुको सातो उडेको थियो त्यतिबेला ।

हामीले “चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान दिवस “२०६७ साल देखि मनाउन थालेका हौं । पहिलो दिवश मिति २०६७।११।२७ गतेका दिन बर्दिया जिल्लाको ठाकुरद्वारामा भब्यताका साथ मनाईएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गठन भएका “चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान उपसमिति“ का सदस्यहरुको सहभागितामा पहिलो “चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान दिवस“ आयोजना गरिएको थियो । पहिलो पटक यो दिवस बर्दिया राष्ट्रिय निकुञ्ज स्थापना दिवस पारेर मनाउने तय गरिएको थियो । बिशेष कारणले फाल्गुण २७ गते मात्र कार्यक्रम आयोजना गर्न सम्भव भयो । पहिलो पटक वन्यजन्तु संरक्षण र चोरीशिकार नियन्त्रण सम्बन्धी जनचेतनामूलक नारा, ब्यानर र प्लेकार्ड सहितको जुलुसले बजार परिक्रमा गरी ठाकुरबाबा मन्दिर परिसरमा पुगेर शभामा परिणत भएको थियो ।

मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष देबी प्रसाद देबकोटाको अध्यक्षतामा सञ्चालन भएको उक्त समारोहको उद्घाटन पूर्वमन्त्री एवं बर्दिया क्षेत्र नं.४ का सभासद माननीय आर.सि. चौधरीले गर्नुभएको थियो । कार्यक्रममा बर्दिया क्षेत्र नं. १ का सभाशद माननीय शरला रेग्मी, राष्ट्रिय योजना आयोगका सदस्य माननीय राम कुमार शर्मा, राट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागमा महानिर्देशक कृष्ण प्रसाद आचार्य, राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा.शान्त राज ज्ञवाली, डब्लु.टि.एल.सि.पी.का जगन्नाथ कोईराला, बर्दिया र बांके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत फणीन्द्र राज खरेल लगायतका महानुभावहरुले मन्तब्य राख्नु भएको थियो ।

चोरीसिकार नियन्त्रण युवा परिचालन अभियान बञ्जरिया सेक्टरका संयोजक हरीराम चौधरीले चोरीशिकार नियन्त्रण सम्बन्धि अवधारण सहितको मन्तब्य राख्दै अभियानमा सूर्यपटुवा उपसमितिमस १३८ जना, बिन्द्रा उपसमितिमा ४१ जना, असारेगौडी उपसमितिमा ५९ जना,गेरुवा उपसमितिमा ३२ जना, ठाकुरद्वारा हात्तीसार उपसमितिमा ४६ जना र गोब्रेला ठाकुरद्वारा उपसमितिमा ५८ जना गरी जम्मा ४०२ जना सदस्य रहेको र करेलिया, भादा, कोलडांडा, श्रीरामनगर उपभोक्ता समितिमा पनि युवाहरु संगठित हुने क्रममा रहेको जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा निम्न पदाधिकारीहरुको सहभागिता रहेको थियोः
१. सभापति श्री देबी प्रसाद देबकोटा, अध्यक्ष म.क्षे.ब्य.समिति
२. प्रमुख अतिथिः माननीय आर.सि.चौधरी, पूर्वमन्त्री एवं सभासद, बर्दिया क्षेत्र नं.४
३. बिशेष अतिथिः माननीय शरला रेग्मी, शभासद बर्दिया क्षेत्र नं.१
४. बिषेश अतिथि माननीय राम कुमार शर्मा, सदस्य राष्ट्रिय योजना आयोग
५. बिशेष अतिथि कृष्ण प्रसाद आचार्य, महानिर्देशक रा.नि.तथा व.ज.सं.बिभाग
६. एकीकृत ने.क.पा.माओबादीका जिल्ला इन्चार्ज तिलक शर्मा हिमाल
७. नेपाली कांग्रेसका सभापति सञ्जय गौतम
८. रा.प्र.पा.का सभापति मेघनाथ अधिकारी
९. रा.प्र.पा.नेपालका.तारानाथ शर्मा
१०. राष्ट्रिय जनसक्ति पार्टीका गजेन्द्र मल्ल
११. राष्ट्रिय जनमोर्चाका अध्यक्ष बासुदेब शर्मा
१२. पश्चिमी तराई भू परिधि बिकास आयोजनाका आयोजना प्रमुख श्री जगन्नाथ कोईराला
१३. बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत फणीन्द्र राज खरेल
१४. रा.प्र.सं.कोषका निर्देशक डा.शान्तराज ज्ञवाली
१५. बर्दिया रा.नि.का प्रमुख संरक्षण अधिकृत टीकाराम अधिकारी
१६. बांके रा.नि.का प्रमुख संरक्षण अधिकृत
१७. ज्वाला दल गणका गणपति प्रमुख सेनानी प्रकाश देउजा
१८. डब्लु डब्लु एफ.का प्रतिनिधि माधब खड्का

उक्त कार्यक्रममा बर्दिया निकुञ्जमा वन्यजन्तुको चोरीशिकार नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा राट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा. शान्तराज ज्ञवाली र ज्वाला दल गणका गणपति प्रमुख सेनानी प्रकाश देउजालाई कदर पत्र प्रदान गरिएको थियो भने सहयोगी संघ सस्था रा.प्र.सं.कोष, डब्लु डब्लु एफ र पश्चिमी तराई भू परिधि बिकास आयोजना लाई पनि प्रसंशापत्र प्रदान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट जनचेतनामूलक सास्कृतिक कार्यक्रम प्रस्तुत गरेकोमा असारेगौडी उपसमितिले प्रथम पुरुस्कार नगद रु.५०००। तथा प्रमाणपत्र, सूर्यपटुवा उपसमितिले दोस्रो पुरुस्कार नगद रु.३०००। तथा प्रमाणपत्र, बिन्द्रा उपसमितिले तेस्रो पुरुस्कार नगद रु.२०००। तथा प्रमाणपत्र प्राप्त गरेको थियो । सहभागि उपसमिति गोब्रेला र पाताभारलाई नगद पुरुस्कार रु.१०००। तथा प्रमाणपत्र उपलब्ध गराईएको थियो । कार्यक्रमका प्रमुख अतिथि माननीय आर.सि.चौधरीले पुरुस्कार र प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

आज हामी बर्दियामा १२ औं चोरीशिकार नियन्त्रण युवा परिचालन दिवस र राष्ट्रिय स्तरमा ८ औं दिवस मनाइरहेका छौं । यो अभियान कुनै लहडमा शुरु गरिएको थिएन । कतिपयले यो अभियानलाई झारा टार्ने कृयाकलापको रुपमा हेर्ने गरेको पनि देखिन्छ । कतिपय कर्मचारीहरुले नै चोरीशिकार नियन्त्रण युवा परिचालन अभियानलाई आफ्नो प्रतिस्पर्धी नजरले हेर्ने गरेको पनि देखिन्छ । यो अभियान भित्रका कथा, ब्यथा र मर्महरु धेरै छन । यो अभियानमा लागे बापत आज सम्म पनि अनेकौं धम्कि, आरोप, प्रत्यारोप सामना गरिरहनु परेको छ । सेवा निबृत्त भैसकेका कर्मचारीलाई समेत बेला बेलामा ज्यान मार्ने धम्कि आउन छोडेका छैनन । कतिपय साथीहरुलाई झुठा मुद्धामा फसाउने काम गरिएको छ । कतिपयलाई राजनीतिक रुपमा अवसरबाट पञ्चित हुनुपरेको अवस्था पनि छ ।

चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान संचालन गर्नका लागि शुरुका दिनहरुमा नेपाल सरकार र संरक्षणका सहयोगि सस्थाहरुबाट पनि राम्रो आर्थीक सहयोग प्राप्त भएको थियो । जसले गर्दा अभियान प्रभावकारी रुपमा संचालन भएको पनि थियो । मन्त्री, सचिव र महानिर्देशकहरु कार्यक्रममा आऊँदा अत्यन्त उत्साहित भएर भोली नै अभियानको लागि बजेट व्यवस्था गर्ने खालका आश्वासन दिने तर त्यो आश्वासन कहिल्यै पुरा नगर्ने रोगका कारण अभियान सोचे जस्तो प्रभावकारी हुन सकेको छैन । शुरु शुरुमा अभियानका लागि आएको बजेट र कार्यक्रम सोझै उपसमिति मार्फत स्थानीय स्तरमा नै खर्च गर्ने गरी सम्झौता गरेर दिने परिपाटि थियो । जसको फलस्वरुप स्थानीय स्तरमा धेरै युवाहरु समेटिन्थे, धेरै कार्यक्रमहरु हुने गर्दथे ।

जसले गर्दा युवा सहभागिताको अवस्था पनि निकै राम्रो थियो । तर आजकल यस्ता बजेटहरु सम्बन्धित निकायले नै खर्च गर्ने, प्रतिनिधिको रुपमा केहि युवालाई सहभागि गराउने, झिना मसिना, छिटपुट कार्यक्रम मात्र दिने गरेकोले सबै युवाहरु नसमेटिने हुँदा क्रमशः युवाहरुको आकर्षण र सहभागिता कम हुँदै गएको उनिहरुको गुनासो रहेको छ । “चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान दिवस“ को अवधारणा ल्याइ यसको शुरुवात गर्ने सस्थापक मध्येको सदस्य भएको नाताले हरेक चुनौतिको सामना गर्दै यो अभियानलाई यहाँसम्म पुर्याउने सम्पूर्ण संरक्षणप्रेमि महानुभावहरुमा सादर सम्मान ब्यक्त गर्दछु । यो अभियानले निरन्तरता पाओस, सफलता मिलोस भन्ने शुभकामना पनि ब्यक्त गर्न चाहन्छु । जय संरक्षण । जय प्रकृति माता । २०७८ फाल्गुण १९, ठाकुरद्वारा, बर्दिया ।

रमेश थापा बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन हुन् ।

तपाइको मत