fbpx

भारतमा टाँगा चलाउन पाउनुपर्ने ब्यवसायीहरुको माग

भारतमा टाँगा चलाउन पाउनुपर्ने ब्यवसायीहरुको माग

चुरेकुञ्ज, गुलरिया । सीमावर्ती भारतमा नेपाली टाँगा चलाउन प्रतिवन्ध गरेपछि टाँगा ब्यवसायीहरु समस्यामा परेका छन् । ब्यवसाय संचालन गर्न नपाउँदा बेरोजगार बनेका उनीहरुले स्थानिय प्रशासनलाई बातावरण मिलाईदिन माग गरेका छन् ।

लामो समयदेखि निर्वाध रुपमा भारतीय मूर्तिहा स्टेशन सम्म टाँगा चलाउँदै आएका थियौं । केही दिन अघि दशगजामा नेपालीहरुसँग भारतीय बन कर्मचारीको विवाद भएपछि हामीलाई भारत जान रोक लगाईयो । गुलरिया नगरपालिका वडा नम्वर ६ निवासी टाँगा ब्यवसायी ईन्ताज मनिहारले भने भारतमा बनका डीएफओ, रेञ्जर लगायत बनका कर्मचारीहरुले टाँगा भारतमा छिर्न दिएनन् । नेपालमै लगेर टाँगा चलाउन उनीहरुले दवाव दिएको मनिहारले सुनाए ।

टाँगा नचल्दा आयआर्जन बन्द छ । केटाकेटी पाल्न पनि कठिनाई पर्यो टाँगा ब्यवसायी रहिस अहमद सिद्धिकीले भने । स्थानिय प्रशासनले पहल नगर्दा सम्म हामीले टाँगा लैजान पाउँदैनौ । हाम्रो लागि पहल गरिदिनु पर्यो । यदि टाँगा चल्न नपाए सो नाकाबाट कुनैपनि आवागमन दिनु भएन । बर्दियामा ३२ जना ब्यवसायीहरुले भारतीय मूर्तिहा स्टेशन सम्म नेपाली टाँचा मार्फत यात्रु ओसार पसार गर्दै आएका छन् । अन्यत्र टाँगा विस्थापित भएपनि बर्दियामा परम्परागत घोडगाडी (टाँगा) सवारी साधनका रुपमा चल्दै आएको छ ।

पछिल्लो समय भारतमा टाँगा लैजान नपाएपछि नेपाली टाँगा ब्यवसायीहरु समस्यामा परेका छन् । सीमावर्ती भारततर्फ कर्तनियाघाट बन्यजन्तु आरक्ष अवस्थित छ । आरक्षका कारण भारतीय बन कार्यालयले बेला बेलामा आवागमन कडाई गर्ने गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताए । यस क्षेत्रमा नेपाली टाँगा ब्यवसायीहरुले परम्परागत तथा ब्यवहारीक रुपमा भारतमा टाँगा चलाउँदै आएका छन् । यस पटक अवरोध भएको छ ।

उनले भने भारतको मूर्तिहा आधिकारिक नाका नभएकाले पनि आवागमन तथा निकासी, पैठारीको लागि अनुमति छैन । बन्यजन्तुको बासस्थान भएकाले पनि बनले कहिले काँही कडाई गर्दा नेपालीहरुलाई कठिनाई पर्छ । प्रजिअ सुनारले थपे हामीले समस्या समाधानको प्रयास कुटनितिक रुपमा गर्दैछौं । बर्दियाबाट डिभिजनल वन अधिकृतलाई भारतीय बन अधिकारीहरुसँग छलफल गरी समस्याको समाधान गर्न पहल भैरहेको छ ।

तपाइको मत