बाघ अवलोकनका लागि गेरुवामा ट्रि हाउस (तस्विर सहित)
- आइतबार फाल्गुण १५ , २०७८
विष्णु अधिकारी, गेरुवा । प्रकृतीको अनुपम उपहार पाएको बर्दियाको गेरुवा गाउँपालिका वडा नं. १ मा अवस्थित ओखरिया इन्टेक अहिले पर्यटकिय गन्तब्यको रोजाई बन्दै गइरहेको छ । ओखरिया इन्टेकबाट कर्णाली र गेरुवा नदिको मनमोहक दृष्य, बर्दिया राष्ट्रिय निकुञ्जको हरियाली र चिसो हावाले त्यहाँ जाने पर्यटकको मन जित्ने भएकोले आन्तरिक तथा वाह्य पर्यटकको रोजाई बन्दै गएको छ ।

ओखरीया बाँध तथा बर्दिया राष्ट्रिय निकुञ्ज संगै जोडिएको जनक नगर मध्यवर्ती सामुदायिक वनमा रहेको ट्रि हाउसमा पर्यटकहरुलाई बन्यजन्तु अवलोकनका लागि बस्ने सुविधा रहेको होमस्टे संचालक तथा जनकनगर मध्यवर्ति सामुदायिक होमस्टेका अध्यक्ष तिलक बन्डालेले बताए । त्यहाँ बास बस्नेले ट्रि हाउसबाट पाटेबाघ, हात्ती लगायतका वन्यजन्तु तथा पर्यावरणको मनमोहक दृष्य सजिलै अवलोकन गर्न सकिन्छ । जनकनगर मध्यवर्ति सामुदायिक वनमा दिनहँु जसो पाटेबाघ ओहोर दोहोर गरिरहेको सुन्दर दृष्य देखिने गरेको उनको भनाई छ ।

अध्यक्ष बन्डालेले बाघ अवलोकनका लागि मध्यवर्ति सामुदायिक वनमा रहेको ट्रि हाउस सुरक्षित गन्तव्य रहेको प्रष्ट्याए । पर्यटकका लागि होमस्टे संचालकहरुले ट्रि हाउसमा बास बस्नका लागि प्रति पर्यटक ५ सयका दरले सेवा दिने गरेको होमस्टे संचालकहरुले बताएका छन् । पर्यटकहरुका लागि अर्डर अनुसार खाना प्याकिङ्ग गरेर ट्रि हाउसमा नै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । ट्रि हाउसमा २ कोठा र १ बाथरुम छ । गेरुवा गाउँपालिका वडा नं. १ जनकनगर इन्टेकमा आउनेआउने पर्यटकलाई आवास तथा भोजनका लागि घर परिवारको झझल्को दिने होमस्टेहरु संचालनमा रहेको छ ।

त्यहाँ अवस्थित होमस्टेहरुमा अटेच बाथरुम सहितका कोठाहरु, आगन्तुक पर्यटकलाई स्थानीय रुपमा उत्पादन गरिएका अर्गानिक खाद्यबस्तुले स्वागत गर्ने गरेका छन् । ओखरिया इन्टेकबाट कर्णाली र गेरुवा नदिको मनमोहक दृष्य र चिसो हावाले त्यहाँ घुम्न जाने पर्यटकको मन जितेको छ । ओखरिया इन्टेकबाट कर्णाली चिसापानी पुल समेत देख्न सकिन्छ । कर्णाली नदी र गेरुवा नदिको दोभानमा रहेको इन्टेक वास्तवमा नै मनमोहक रहेको पर्यटकहरुको भनाई छ । ओखरिया इन्टेक घुम्नका लागि बर्दिया सहित बाँके, कैलाली लगाएतका जिल्लाबाट आन्तरिक पर्यटकको विदाको समयमा भिड नै लाग्ने गरेको कैलालीबाट आएकी पर्यटक मालती देवि चौधरीले बताइन ।

चौधरीले यस क्षेत्रलाई प्रकृतिले अमुल्य उपहार दिएको हुनाले अब राज्यले पार्क लगाएत अन्य प्रकृति सँग मेल खाने भौतिक संरचना निर्माण गरेमा अझ यस क्षेत्रको विकास हुने उनको भनाई छ । गेरुवा गाउँपालिकाको मुटुको रुपमा रहेको ओखरिया बाँधलाई थप विस्तार गर्न सरकारले थप लगानी गरि प्रवद्र्धन गरेमा यस क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको पर्यटन गन्तब्यको रुपमा विकास हुने समाजसेवि नरेन्द्र पौडेलले बताएका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज संग जोडिएको कारण पनि यस क्षेत्रको महत्व बढ्दै गएको र पाटबाघ, एकसिङ्गे गैडा, कर्णाली नदिमा डल्फिनको डुबुल्की तथा नजिकै रहेको चुरे पाहाडले पनि यस क्षेत्रलाई थप रौनक प्रदान गरेको कारण पनि यस क्षेत्रको महत्व बढ्दै गएको चुरेकुञ्जलाई बताए । यस क्षेत्रलाई थप रमणिय र पर्यटनमय बनाउनका लागि कर्णाली नदिमा झोलुङ्गे पुल, र¥याफ्टिङ्ग, भ्यु टावरको समेत व्यवस्था भएमा गेरुवा क्षेत्रको थप महत्व बढ्ने उनको भनाई छ ।
