fbpx

बिचल्लीमा परेका गुलरियाका बालबालिकालाई सहयोग

बिचल्लीमा परेका गुलरियाका बालबालिकालाई सहयोग


विष्णु अधिकारी, गुलरिया । आमा बेपत्ता भएपछि विचल्लीमा परेका ३ जना बालबालिका सहयोग उपलब्ध गराईएको छ । विभिन्न संचार माध्यमहरुमा आमा वेपत्ता भएपछि तिन बालबालिका विचल्लीमा भएको समाचार आएपछि काठमाडौं कलंकी निवासी सहदेव प्रसाद सापकोटाले उनीहरुलाई सहयोग उपलब्ध गराएका छन् ।

सहयोगी सापकोटाले आर्थिक अभावमा बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न आर्थिक सहयोग गरेको बताएका छन् । उनले बालबालिकाको दयनिय अवस्था देखेर तत्कालका लागि बालबालिकाको बुवा शसीराम घर्ती मगरलाई नगद रु. १० हजार प्रदान गरेका छन् । आउने शैक्षिक सत्र देखि ३ जना बालबालिकाको शिक्षामा निरन्तरताका लागि सहयोग गर्ने सापकोटाले बचन दिएका छन् । उनले एक बालबालिका लागि मासिक २ हजारका दरले ३ जना बालबालिकालाई ६ हजार रुपैया मासिक प्रदान गर्ने प्रतिवद्धता गरे ।

बालबालिकाका लागि प्रदान गर्ने रकम बैकंको खाता मार्फत प्रत्येक महिना ६ हजारका दरले १ बर्षसम्म रकम उपलब्ध गराउने सापकोटाले चुरेकुञ्जसँग बताए । बालबालिकाको शैक्षिक प्रगति हेरेर आगामी शैक्षिक सत्रका लागि पनि सहयोगलाई निरन्तरता दिने उनको भनाई छ । सहयोग प्राप्त भएपछि बालबालिकाको बुवा सशीरामले संचारकर्मी र सहयोगदातालाई धन्यवाद दिएका छन् । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ६ दिपेन्द्र नगर टोलमा भाडामा बस्दै आएका सशीराम घर्तिको ३५ बर्षिया श्रीमती एक महिना देखि बेखबर भएपछि ३ जना बालबालिकाहरु विचल्लीमा परेका छन् ।

घर्तीले म यि छोराछोरीलाई आफ्नो दयनीय अवस्थाले कसरी लालनपालन गर्ने चिन्ता भैरहेको बेला सहयोग प्राप्त भएकोमा जिवनमा आशाको पालुवा पलाएको बताए । ४ बर्षिया छोरी, ६ र १० बर्षका छोरा भएकाले सम्पुर्ण अभिभारा आफुमा परेको र छोरा छोरीको विचल्ली भएकाले सहयोगी मनहरुलाई सहयोग गरिदिन आग्रह गरेका छन् । एक महिना अघि गुलरिया नगरपालिका वालवालिका तथा महिला शाखाले उनीहरुलाई न्यानो कपडा उपलब्ध गराएको थियो ।

तपाइको मत