भारतीय आरक्ष संरक्षणगर्दै सीमावर्ती नेपाली
- सोमबार फाल्गुण ९ , २०७८
यादव आचार्य, गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ९ नेपाल–भारत सीमावर्ती टेपरी गाउँका स्थानियहरु दाउरा, घाँस लगायतका प्राकृतिक श्रोत साधनका लागि भारतीय बनमा परनिर्भर छन् । नेपाल तर्फ जंगल नहुँदा उनीहरु भारतीय बनमा आश्रित हुनु परेको छ ।
हातमा हँसियाँ, कम्मरमा नाम्लो लिएर साथीसँगै दशगजामा भेटिएकी गुलरिया नगरपालिका वडा नम्वर ९ टेपरी गाउँ निवासी ५५ बर्षिया जुनी गुरुङले भनिन् नेपालमा जंगल नहुँदा सीमावर्ती भारतको जंगलमा दाउरा, घाँस लिन जानुपर्छ । सजिलै पाईदैन । भारतीय बन रक्षकहरुलाई खुशी बनाएर केही मात्रामा प्राकृतिक श्रोतहरु ल्याउँछौ । सजिलै त कहाँ ल्याउन पाईन्छ र कहिले काँही त गाली पनि खानुपर्छ । जंगलमा हामीले जनावरलाई जिस्काउँदैनौ, लखेट्दैनौ जनावर आफ्नो बाटो लागेपछि घाँसपात ल्याउँछौ ।
ठूला विरुवाहरु नोक्सान पनि गर्दैनौ । उनले थपिन खसेका साना तिना हाँगा विँगा ल्याउने हो । सास्ती खेपेरै ल्याउँछौ । बोटविरुवाको मायाँ लाग्छ । आफ्नो गाउँमा जंगल छैन । सानो तिनो झरापरा घाँस दाउरा ल्याउन भारत सरकारले सजिलो बनाईदिए पनि हुन्थ्यो घाँसदाउरा ल्याउँदाको डरत्रास सम्झिदै उनले भनिन् । कित नेपाल सरकारले नेपाल तर्फ सामुदायिक वन बनाउन सार्वजनिक जमिन उपलब्ध गराईदिए पनि हुन्थ्यो ।
बर्दियाको भारतीय सीमातर्फ कर्तनियाघाट वाईल्डलाईफ सेन्चुरी पर्छ । भारतकै किशनपुर वाईल्ड लाईफ सेन्चुरी र दुधवा नेशनल पार्कसँग कर्तनियाघाट जोडिएको छ । नेपालको खाता जैविकमार्ग हुँदै बर्दिया राष्ट्रिय निकुञ्जसँग पनि जोडीन्छ । यी क्षेत्रहरु लोपोन्मुख पाटेबाघको बासस्थान क्षेत्र हो । बर्दियाको बाघ भारतमा र भारतका बाघ नेपालमा विचरण गर्ने मनोरम क्षेत्र मानिन्छ ।
हामी सीमावर्ती क्षेत्रमा बस्छौं । सीमा रक्षा गर्छौ । तर भारतीय सुरक्षाकर्मीहरुको हेपाई खानु पर्छ । टेपरी गाउँ निवासी रत्नप्रसाद देवकोटाले भने नेपालको सीमा क्षेत्रमा बस्छौं तर हाम्रो जमिनको स्थायी लालपुर्जा छैन । २६ बर्षदेखि बसोवासगर्दै आएका छौं नेपाल सरकारले कुनै वास्ता गर्दैन । वोर्डरमा सिभिल सेनाका रुपमा हामी छौं तर राज्यले सम्मान गरेन । प्रायजसो भारतीय पक्षहरुसँग सीमाका साना तिना झगडा भैरहन्छन् । उनले थपे गाउँमा करिव ५ सय घरका ४ हजार परिवार ०५२ सालदेखि वसोवासगर्दै आएका छौं ।
आफूहरु निम्न वर्गिय सुकुम्वासी भएकाले पनि राज्यले वेवास्ता गरेको उनीहरुले महशुस गर्न थालेका छन् । नेपाल तर्फ बन जंगल नहुँदा वनपैदावारका लागि भारतीय जंगलमा आश्रित हुनु परेको पिडा उनले सुनाए । वस्तीमा धेरै पिडा छन् । भारतीय जंगलमा घाँसदाउरा लिन जाने महिलाहरुलाई पक्रन्छन् । जरिवाना तिराउँछन् । उनीहरुको धेरै वेईजत सहनुपर्छ । सरकारले पहल गरी नेपालतर्फ बृक्षारोपण गरी बनक्षेत्र बनाए हामीलाई धेरै सहज हुन्थ्यो उनले भने । अन्नपूर्ण पोस्ट्बाट ।