चुनौतीपूर्णबन्दै बाघ संरक्षण
- शनिबार फाल्गुण १ , २०७७
यादव आचार्य, बर्दिया । नेपालगञ्जबाट घरतर्फ फर्किरहेका कैलाली लम्कीचुहा नगरपालिका वडा नम्वर ४ निवासी २२ बर्षिय मोटर साईकल चालक सन्तोष थापा राती पौने ९ बजे बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ राजमार्गमा तैनाथ नेपाली सेनाको चेकपोष्टमा हस्याँग फस्याँगगर्दै पुगे । केही महिना अघि पूर्व पश्चिम राजमार्ग अन्र्तगत बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्वर २ अम्रेनी देखि करिव साढे ६ किलोमिटर भित्र गुमनाह पुल आसपास क्षेत्रमा आफूसँगै मोटरसाईकलमा सवार ५० बर्षिया आमा नन्दकला थापालाई पाटेबाघले मोटरसाईकलबाटै आक्रमण गरी घिसारेर जंगल भित्र पुर्याएपछि उनले आमाको जीवन रक्षाका लागि सुरक्षाकर्मीसँग गुहार मागे ।
थापाको खोजीका लागि तत्काल निकुञ्ज कर्मचारी, नेपाली सेना लगायतको टोली निकुञ्ज भित्र पुगेर चारैतिर खोजीगरे । बाघले दगुराएकी महिलालाई उद्धार टोलीले फेला पार्न सकेन । घटनस्थलबाट अलि भित्र उनका केही कपडा फेला परे । रातीको घटना भएकाले खोजी कार्य स्थगित भयो । शनिवार विहान हात्ती लिएर खोज्ने क्रममा नन्दकलाको शव घटना स्थलदेखि २ सय मिटरको दुरीमा क्षतविक्षत अवस्थामा भेटियो । तत्काल खोज तथा उद्धारको पहल गरेपनि रात्रीकालिन समय भएकाले बाघ आक्रमणमा परेकी थापालाई फेला पार्न नसकेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।
शवको प्रकृति हेर्दा बाँया खुट्टा छुट्टिएको, मुख तथा कम्मर भन्दा मुनिको भाग विक्षत अवस्थामा छ । मोटरसाईकलका चालक छोराको अवस्था सकुशल छ । मृतकको शव पोष्टमार्टम पश्चात परिवारलाई जिम्मा लगाईएको छ । उनले राहत सहयोगका बारेमा केन्द्रमा कुराकानी भैरहेको जानकारी दिए । सडक क्रस गरेको बाघले पछाडीबाट आएर आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ । बाघले थ्रेट महशुस गरेर आक्रमण गरेको हुनसक्छ । घटनास्थल क्षेत्र बाघको मुभमेन्ट हुने क्षेत्र भएकाले पनि जोखिम निम्तिएको हुनसक्ने अनुमान निकुञ्जको छ ।
दुई दशक अघि बर्दिया राष्ट्रिय निकुञ्जको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा भएको घटना पुनः दोस्रो पटक दोहोरिएको छ । जोखिम न्युनिकरण गर्न पूर्वपश्चिम राजमार्ग अन्र्तगत बर्दियाको अम्रेनी–कर्णाली–चिसापानी सडकखण्डमा बेलुकी ८ बजेदेखि विहान ६ बजेसम्म पैदल, साईकल र मोटरसाईकलमा यात्रा गर्न बन्द गरेका छौं । घटना नदोहोरियोस् भन्ने हाम्रो तत्कालीन तयारी हो । दीर्घकालिन रुपमा समस्या समाधान गर्न हिंसात्मक क्षेत्रहरुमा स्काईव्रिज राख्नु जरुरी छ । उनले थपे आक्रामक बाघको पहिचान लगायत द्वन्द रहित बाघको दीगो संरक्षणका लागि नियमित गस्तीसँगै क्यामरा राखेर अध्ययन गर्दैछौ ।
पछिल्लो गणनाको तथ्यांक अनुसार बर्दियामा ८७ वटा वयस्क पाटेबाघ छन् । गणनाका बेला बच्चा रहेका बाघहरु पनि वयस्क बन्ने क्रममा छन् । जसले गर्दा संख्यात्मक रुपमा बाघको बृद्धि भैरहेको छ । बर्दियाको खाता जैविकमार्ग, गेरुवा लगायत निकुञ्ज क्षेत्रमा बाघ आक्रामक बन्न थालेका छन् । साढे १ बर्षको अवधिमा बर्दियामा १२ जनाले बाघको आक्रमणमा परी ज्यान गुमाएका छन् । जसअनुसार ७ जना निकुञ्ज क्षेत्र र ५ जना बनक्षेत्रमा बाघको आक्रमणमा परी ज्यान गुमाएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठ वताउँछन् । गत बर्ष १ जना निकुञ्ज कर्मचारी सहित ६ जना र यसबर्षको छ महिनामा ६ जनाको बाघका आक्रमणमा परी मृत्यु भएको हो । मानव तथा बाघ विच ह्वात्तै द्वन्द बढेकाले समयमै दीगो समस्या समाधान गर्न नसके थप जटिल चुनौती निम्तिने खतरा यसपटकको घटनाले प्रष्ट्याएको छ ।