१३ बर्षिया बालिका सुत्केरी भएपछि बलात्कारको रहस्य खुल्यो
- आइतबार फाल्गुण ८ , २०७८
यादव आचार्य, गुलरिया । बर्दियामा बलात्कृत बालिका सुत्केरी भएकी छिन् । कक्षा ६ मा अध्ययनरत १३ बर्षिया बालिका सुत्केरी भएपछि मात्र बलात्कारको घटना पत्ता लागेको छ । यसैबर्ष वैशाक २७ गते बलात्कृत बालिकाले छोरी जन्माईन् । सुत्केरी बालिका यतिखेर नगरसेवा केन्द्र गुलरियाको आश्रयमा छिन् ।
माघ १६ गते बालिकाको एक्कासी पेट दुखेर उपचारको लागि स्थानिय क्लिनिकमा पुगी चेकजाँच गर्ने क्रममा भिडियो एक्सरेबाट बच्चा देखिएपछि मात्र ९ महिना अघि बालिका बलात्कृत भएको परिवारले थाहा पाए । कलिलै उमेरमा बालिका आमा बन्न लागेकाले सुविधा सम्पन्न अस्पतालमा रेफर गरीएकी बालिकाले बेथा लागेकाले अन्यत्र लैजान नपाउँदै स्वास्थ्य संस्थामै नर्मल छोरी जन्माईन् । पेटमा बच्चा देखिएपछि सोधखोजका क्रममा बलात्कार भएको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक इश्वर कार्कीले भने हामीले बालिका बलात्कारमा संलग्न ४१ बर्षिय मनिराम थारुलाई नियन्त्रणमा लिई जबरजस्ती करणी सम्वन्धी कसुरमा अनुसन्धान गर्दैछौं । बलात्कारका आरोपितले घटना स्विकारी सकेका छन् । बालिकालाई घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाई घरभित्रै जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान भैरहेको बताउँदै एसपी कार्कीले थपे बलात्कार गरेपछि कसैलाई भनिस भने मारेर फालिदिन्छु भनी बालिकालाई त्रास दिएको देखिन्छ ।
बालिकाले शुरुमै घटनाको बारेमा नभन्दा कसैलाई थाहै भएन । अन्तिम अवस्थामा घटना थाहा भयो । बालिका १२ बर्षमै बलात्कृत भएको पुष्टि हुन्छ । अज्ञानतावश कडा अपराध समाजमा लुक्यो । पिडित विपन्न परिवारको भएकाले बालिकाको बावुले भारतमा काम गर्ने गरेको देखिन्छ । हामीले घटनालाई गम्भीर रुपमा लिएका छौं । बर्दिया जिल्ला अदालतमा मुद्धा चलिरहेकाले पुष्टि भए दोषी उपर हदै सम्मको कारवाही हुन्छ ।
गुलरिया स्थित सेवा केन्द्रमा आश्रय लिईरहेकी बालिका आमा र नवजात बच्चाको स्वास्थ्य सामान्य रहेको सेवा केन्द्रकी प्रमुख लक्ष्मी मुडवरीले बताईन् । बच्चाको तौल २ केजी ६०० ग्राम छ । स्याहार केन्द्रमा ४५ दिन सम्म हामीले आश्रय दिन्छौं । त्यसपछि सेवा केन्द्रले निर्णय गर्नुपर्छ । सुत्केरी बालिका दुई वहिनी हुन् । उनकी दिदी छिन् । उनले भनिन् स्याहार केन्द्रमा बालिकाकी आमा र हाम्रो स्टाफबाट सुत्केरी र बच्चा दुवैको रेखदेख भैरहेको छ । पुर्नस्थापनको मुद्धा पेचिलो छ । अभिभावकले घरमा लैजान अफ्टेरो मान्नु भएको छ । केन्द्र प्रमुख मुडवरीले थपिन् बालिका सानी छिन् बच्चाको हेरविचार गर्न पनि समस्या छ । अन्नपूर्ण पोस्ट्बाट ।