सशक्तिकरण तथा यौनजन्य रोगबारे महिलालाई सचेतना
- शनिबार फाल्गुण ७ , २०७८
चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिका वडा नम्बर ५ का महिलाहरुलाई महिला सशक्तिकरण तथा क्षमता विकास सम्बन्धि तालिम दिइएको छ । गुलरिया नगरपालिका वडा नम्बर ५ को आर्थिक सहयोग र सहयोगी हात नेपालको आयोजनामा २ दिने तालिम प्रदान गरिएको हो ।
गुलरिया नगरपालिका वडा नम्बर ५ का विभिन्न टोलबाट तीन÷तीन गरी ४५ महिलालाई तालिममा सहभागिता गराईएको छ । तालिममा गुलरिया नगरपालिकाका वरिष्ठ शाखा अधिकृत मुकुन्द आर्याल र स्वास्थ्य शाखाकी स्वास्थ्यकर्मी सुनिता शर्माले सहजीकरण गरेका छन् । नेपाली समाजमा महिलाहरुले आफुलाई कमजोर ठान्ने प्रबृति हाम्रै समाजको उपज भएको अर्यालले बताउनु भयो । प्रकृतिक रुपमा महिला र पुरुषमा केही फरक भएपनि अन्य क्षेत्रमा महिलाहरुलाई बहाना बनाएर अवसरबाट बञ्चित हुन परेको बताउनु भयो ।
महिलाहरु शिक्षा तथा अन्य अवसरहरुको पहुँचमा भए पनि निर्णय गर्ने स्थानमा अझै पुग्न नसकेकोले महिलाहरु अझ सशक्त तथा आत्मविश्वासी हुनुपर्नेमा जोड दिनु भयो । उक्त महिला सशक्तिकरण तथा क्षमता विकास तालिममा विभिन्न संक्रमणजन्य तथा यौनजन्य रोग बारे सचेतना दिइएको छ । गुलरिया नगरपालिका स्वास्थ्य शाखाकी स्वास्थ्यकर्मी सुनिता शर्माले हालको कोभिड १९ संक्रमण, विभिन्न सरुवा रोगहरु तथा प्रजनन् अंगहरुको विषयमा सहजीकरण गर्नु भएको सहयोगी हात नेपाल बर्दियाका सचिव विष्णुप्रसाद अधिकारीले जानकारी दिनु भयो । कार्यक्रमका अवसरमा संस्थाको जानकारी तथा एचआइभी संक्रमितले सेवन गर्ने औषधी एआरटी बारे लोकमाया विकले जानकारी दिनु भएका थियो । सहयोगी हात नेपालले बर्दियामा विगत १५ वर्षदेखि एचआईभी एड्सका क्षेत्रमा राम्रो काम गर्दै आएको छ ।