मानव–बन्यजन्तु द्वन्द चुलिँदै, सह–अस्तित्व खल्बलिँदै
- सोमबार फाल्गुण २ , २०७८
यादव आचार्य, गुलरिया । राजापुर नगरपालिका स्थित नेपाल–भारत सीमा नजिकै बाख्रा चराउन पुगेकी वडा नम्वर ९ निवासी ५४ बर्षिया भुसिया थारु जंगली हात्तीको आक्रमणमा परी देह त्यागिन् । गोठाला गएकी उनी अजंगको हात्तीको लपेटामा परीन् । राजापुर क्षेत्रमा सधैं जंगली हात्ती लगायत पाटेबाघको आक्रमणको त्रास दिनहुँ भैरहन्छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको संवेदनशील कोर एरिया बघौरा फाँटामा न्युरोको साग टिप्न पुगेकी ठाकुरबाबा नगरपालिका वार्ड नम्वर ७ की ६२ बर्षिया डल्ली रावतलाई गत चैत्र पहिलो साता पाटे बाघले झम्टिएर झाडीमा कुदायो । सँगै गएका साथीहरुले नेपाली सेनालाई खबर गरेपछि तत्काल खोजीगर्दा बाघले खाएको अवस्थामा रावतको शव भेटियो ।
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार बन्यजन्तुबाट ज्यान गुमाउनेका परिवारलाई १० लाख रुपैया राहत दिने प्रावधान छ । तर डल्ली रावतका परिवारले बाघको आक्रमणबाट मृत्यु हुँदापनि कुनै राहत पाएनन् । निकुञ्जले बन्यजन्तुबाट ज्यान गुमाउनेका सबै परिवारलाई राहत दिएको छ । तर रावत निकुञ्जको कोर एरियामा साग टिप्न गएको प्रमाण जुटेकोभन्दै उनका परिवारले राहत पाएनन् । हात्ती आक्रमणमा वावु गुमाएका ठाकुरबाबा नगरपालिका वडा नम्वर ९ निवासी चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले भने ।
निकुञ्जमा मात्र होईन मधुवन नगरपालिकामा अवस्थित अन्र्तराष्ट्रिय खाताजैविक मार्गमा ज्यान गुमाएका अर्का ब्यक्तीले पनि राहत पाएनन् । किनकी सीमापारी भारततर्फ बाघको आक्रमणमा परी उनको मृत्यु भएको थियो । बर्दियाको जैविकविविधता संरक्षणमा उपलब्धी प्राप्त भएपछि बनजंगलसँगै बन्यजन्तुको बृद्धि भएको छ । जसका कारण पछिल्लो समय मानव–वन्यजन्तु विचको द्वन्द बढेको छ । आचार्यले थपे दुवै प्राणीविच सह–अस्तित्व कायम गराउन चुनौती छ ।
डल्ली रावत निकुञ्जको निषेधित क्षेत्रमा प्रवेश गरेको प्रमाणित भएकाले उनको परिवारलाई राहत दिन कठिन भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण विष्णुप्रसाद श्रेष्ठले बताए । बघौरा फाँटा निकुञ्जको संवेदनशील निषेधित क्षेत्र भएकाले निकुञ्ज ऐन तथा राहत सहयोग निर्देशिका अनुसार राहत दिन मिल्दैन । सीमापारी अन्यमुलुकमा भएका आक्रमणबाट ज्यान गुमाउनेहरुका लागि पनि ऐन र निर्देशिकाले राहतका लागि अनुमति दिदैन । उनले भने राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन र राहत सहयोग निर्देशिका २०६९ अनुसार कुनै पनि बन्यजन्तुको आक्रमणमा ज्यान गुमाएका ब्यक्तीका परिवारलाई एकमुष्ठ १० लाख रुपैया राहत सहयोग उपलब्ध गराईने प्रावधान छ । अहिले सम्म रावत बाहेक राहत पाएनौ भनेर कोही पनि हामीकहाँ आएका छैनन् ।
निर्देशिकाको मापदण्ड अनुसार राहत वितरण गर्छौ । मध्यवर्ती क्षेत्रका स्थानियको हकमा ५० हजार रुपैया थप राहत दिने गरेका छौं । श्रेष्ठले थपे बन्यजन्तुको आक्रमणमा ज्यान गुमाएका ब्यक्तीका एकल महिलालाई मासिक १५ सय रुपैया भत्ता हामीले उपलब्ध गराउँदै आएका छौं । बर्दियामा २८ जना एकल महिलाहरुले मासिक रुपमा भत्ता लिँदै आएका छन् । उनीहरुलाई निकुञ्जले आजिवन भत्ता उपलब्ध गराउँछ । एकल महिला कोष खडा गरी जिविकोपार्जनका लागि सहुलियत ऋण समेत उपलब्ध गराउँदै आएको छ ।
बर्दियामा अधिकांस मानिसहरु निकुञ्ज वा जंगल पसेका बेला बन्यजन्तुले आक्रमणमा परी मृत्यु हुने गरेको घटनाका तथ्यांकहरुले पुष्टि गरेको श्रेष्ठले सुनाए । गतबर्ष बाघको आक्रमणबाट बर्दियामा १२ जनाले ज्यान गुमाएका छन् । जंगल भित्र भैसी, बाख्रा चराउन लगायत प्राकृतिक श्रोत संकलनका लागि र राजमार्गहरुमा बन्यजन्तुसँग जम्काभेटका क्रममा घटना हुने गरेको संरक्षण अधिकृत श्रेष्ठले प्रष्ट्याए । बन्यजन्तुले मानविय मात्र होईन खेतीपाती लगायत धनजनमा क्षती पुर्याउने गरेका छन् । उनले निकुञ्ज लगायत जंगल क्षेत्रभित्र अनावस्यक रुपमा प्रवेश नगर्न आग्रह गरे ।
जलवायु परिवर्तनको असर जैविकविविधतामा
बढ्दो औद्योगिकरण, जैविकविविधताको क्षयीकरणसँगै कार्वन उत्सर्जनको गतिलाई नियन्त्रण गर्न नसक्दा पृथ्वीको तापक्रम दिनानुदिन बढ्दै छ । विकशित देशहरुले गरेको हेलचक्राईले विस्तारै पारिस्थिकिय प्रणाली माथी नै आघात पुगेको छ । बन्यजन्तु संरक्षण ऐन ०२९ ले संरक्षित बन्यजन्तुको सूचिमा सुचिकृत नेपालको खैरापुर स्थित प्राकृतिक बासस्थानमा पाईने एन्टीलोप प्रजातीको कृष्णसार जलवायु परिवर्तनको चपेटामा छ । पोथी कृष्णसारको सिंग हुँदैन जलवायु परिवर्तनको असरले कुनै कुनै पोथी कृष्णसारमा सिंग पलाएको छ । कृष्णसार संरक्षण क्षेत्रमा बाढीको डर थिएन । जलवायु परिवर्तन कै असरले केही बर्षदेखि बाढी आउने समस्याले संरक्षण क्षेत्रमा उच्चस्थली निर्माण गरिएको छ ।
जलवायु परिवर्तनको असरले वनस्पतिय विविधतामा मात्र होईन बन्यजन्तु लगायत यिनीहरुको प्रजाती विविधता माथी नै असर पुग्न थालेको बताउँदै एनटीएनसी बर्दियाका संरक्षण अधिकृत रविन कडरियाले समयमै सचेत हुनुपर्नेमा सजग गराउँदै भने जलवायु परिवर्तनका कारण बन्यजन्तुको आहारा लगायत बासस्थानमा असर पुगेको छ । बनक्षेत्रमा नदी कटान, घाँसे मैदान लगायत चरिचरण क्षेत्रमा मिचाहा प्रजातीको वाहुल्यताले ठूलो असर पुर्याएको छ । बनमाराले घाँसे मैदानहरु घटेका छन् । घाँसे मैदानहरु घटेका कारण चित्तल लगायतका शाकाहारी बन्यजन्तु विस्थापित हुँदैछन् ।
उनले भने बाघ लगायतका मांसाहारी बन्यजन्तुहरुको आहारा प्रजातीहरु लोपहुने खतरा छ । पाटेबाघका ९ उपप्रजाती मध्ये ३ वटा प्रजातीहरु संसारबाट लोपभैसकेका छन् । चरिचरण क्षेत्रमा मिचाहा प्रजातीको घनत्वले हात्ती लगायतका शाकाहारी बन्यजन्तुहरु जंगल छाडेर बस्तीतर्फ जान थालेका छन् । यसले गर्दा पनि मानव वन्यजन्तु विचको द्वन्द बढाएको छ । जलवायु परिवर्तनका कारण नदीको मुहान सुक्दैछन् कर्णाली नदीमा हिउँदका वेला जलस्तर घट्दा बन्यजन्तुलाई पानीको अभाव खेप्नुपर्ने बाध्यता छ । प्राकृतिक पोखरीहरु सुकेका कारण हात्ती, गैंडा लगायतका बन्यजन्तुहरु पानी अभावमा भड्किने गर्छन् । कडरियाले थपे तराईमा पाईने पाटेबाघहरु चुरेक्षेत्रमा पनि देखिनु जलवायु परिवर्तनकै असर मान्न सकिन्छ ।
हात्ती बढी आक्रामक
बर्दिया राष्ट्रिय निकुञ्ज तथा आसपासका मध्यवर्ती क्षेत्रका सामुदायिक बनहरुमा ज्यान गुमाउनेहरुको संख्या धेरै छ । त्यस्तै पूर्व पश्चिम राजमार्गमा चल्ने सवारी साधन र्दुघटनाबाट बन्यजन्तुहरु मारिने क्रम उत्तिकै छ । निकुञ्जको तथ्यांक अनुसार ०५६ सालदेखि ०७८ पुस २० गतेसम्म २२ को अवधिमा ७६ जनाले विभिन्न बन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएका छन् । २१४ जना बन्यजन्तुको आक्रमणबाट घाईते भएका छन् ।
बन्यजन्तुहरुमा बढी आक्रामक हात्ती नै देखिन्छ । २२ बर्षको अवधिमा हात्तीको आक्रमणबाट ४५ जनाको मृत्यु भएको र १२० जना घाईते भएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले सुनाए । गतबर्ष हात्ती आक्रमणमा परी ४ जनाले ज्यान गुमाएका हुन् । पाटेबाघको आक्रमणमा परी सोही अवधिमा २२ जनाले ज्यान गुमाएका छन् भने १९ जना घाईते भएका छन् । बाघको आक्रमणमा गतबर्ष १२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै गैंडाको आक्रमणबाट ५ जनाको मृत्यु भएको छ । २८ जना घाईते भएका छन् । चितुवाले ३ जनाको ज्यान लिएको छ भने १४ जना घाईते भएका छन् । अन्य जनावरको आक्रमणमा १ जनाको मृत्यु र ३३ जना घाईते भएको तथ्यांक निकुञ्जको छ । गत ३ बर्षको अवधिमा मात्र बन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ जन छन् ।
बन्यजन्तुले मानिस माथी आक्रमण गर्ने समस्या त छदैछ । मानिसबाट बन्यजन्तु मारिने क्रमपनि बढ्दो छ । पुर्व पश्चिम राजमार्ग, हुलाकी मार्ग लगायतका सडक खण्डमा गुड्ने सवारी साधनमा ठोकिएर तिन बर्षको अवधिमा ११० वटा बन्यजन्तुहरु मारिएको श्रेष्ठले जानकारी दिए । आर्थिक वर्ष ०७५÷७६ मा २७, ०७६÷७७ मा ३५ र ०७७÷७८ मा ४८ वटा बन्यजन्तुहरु सवारी र्दुघटनामा परी ज्यान गुमाएका छन् । राजमार्गमा बन्यजन्तु मारिने क्रम बढेपछि र्दुघटना रोक्न निकुञ्जले टाईम कार्ड लागु गरेको छ । तरपनि बन्यजन्तु मारिने क्रम रोकिएको छैन । राजमार्ग क्षेत्रका सडकहरुमा भौतिक संरचना परिवर्तन गर्न सकेमात्र बन्यजन्तु माथीको सवारी र्दुघटना न्युनिकरण हुने अधिकृत श्रेष्ठको भनाई छ ।
राजमार्गमा बाघको संख्या यकिन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम मार्फत अटोमेटिक क्यामेरा जडान गरी अनुसन्धान गरिएको एनटीएनसीका संरक्षण अधिकृत रविन कडरियाले बताए । हामीले सडकमा बन्यजन्तुको अनुसन्धान गर्दैछौ । नतिजा पछि राजमार्गमा आवस्यक भौतिकपूर्वाधारको बास्तविकता थाहा हुन्छ । बन्यजन्तुको घनत्व सडक क्षेत्रमा बढेकाले उनीहरुलाई ओहोरदोहोर लगायत सडक पारगर्न झमेला हुने गरेको पाएका छौं । अनुसन्धानपछि सबै समस्या हल हुन्छ कडरियाले आस्वस्त पारे ।
मानव–वन्यजन्तु विचको द्वन्द डरलाग्दो अवस्थामा पुगिसकेको छ । धेरै घटनाहरु जंगल क्षेत्रमा भएका छन् । बन्यजन्तुहरु घरघर पुगेर आक्रमण गरेका छैनन् । जथाभावी जंगल प्रवेश गर्ने परिपाटि अन्त्य हुनुपर्छ । बन्यजन्तुका वासस्थान अतिक्रमण गर्ने क्रम रोकिनुपर्छ । उनले थपे बाघ लगायत जंगली जनावरहरुको आनीवानीका बारेमा समुदायलाई सचेतपार्दै राज्यले राहतको प्याकेज ल्याउन सक्नुपर्छ ।
मानवियसँगै भौतिक क्षती
बर्दियाको राजापुर नगरपालिका वडा नम्वर १० ढुण्डीपुरमा वयस्क भाले हात्ती मृत भेटियो । नेपाल भारत सीमा नजिकै नेपाल तर्फको तोरी बारीमा मृत हात्ती फेला परेको हो । बनक्षेत्र अन्र्तगत पर्ने सो स्थानमा करिव ३०–३५ बर्षको बयस्क भाले हात्ती मृत भेटिएको डिभिजनल बन कार्यालय बर्दियाका बन अधिकृत प्रविन विडारीले बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम मार्फत पशु चिकित्सक सहितको प्राविधिक टोलीले मृत हात्तीको पोष्टमार्टमसहितको अध्ययन गर्दैछ । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा बयस्क भाले हात्तीको स्वभाविक मृत्यु नभएको अनुमान हाम्रो छ । घटनाको बारेमा सुस्म अनुसन्धानगर्दै छौ । रोग वा अन्य मृत्युका बारेमा थप अनुसन्धान लगायत पोष्ट मार्टम रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लगाउँछौं ।
जिल्लामा बर्दिया राष्ट्रिय निकुञ्जले ९ सय ६८ बर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ । जसमा थप मध्यवर्ती क्षेत्र ५ सय ७ बर्गकिलोमिटर छ । निकुञ्ज लगायत आसपासका मध्यवर्ती क्षेत्रहरुमा बर्षेनी ठूलो धनजनको क्षती हुँदै आएको छ । निकुञ्जले बन्यजन्तुका कारण घाईते, मृत्यु, पशुधन, घरगोठ, अन्नवाली लगायतका क्षती ब्यहोरेका परिवारलाई राहत रकम उपलब्ध गराउँदै आएको छ ।
आर्थिक बर्ष ०७६/७७ र ०७७/७८ मा २ करोड ८८ लाख ७० हजार रुपैया राहत वितरण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए । उक्त रकममा मृतकका परिवारलाई १ करोड ६० लाख रुपैया उपलब्ध गराएका छौं । अन्नवाली क्षती बापत ३६ लाख ७० हजार रुपैया समुदायलाई बुझाएका छौं । गत दुई बर्षको अवधिमा १५ सय ७४ वटा पशुधन क्षती बापत ६५ लाख ११ हजार रुपैया भुक्तानी दियौं । १९ जना सख्त घाईतेहरुलाई उपचारका लागि १८ लाख ३० हजार रुपैया उपलब्ध गराईएको श्रेष्ठले बताए ।
द्वन्द रोक्ने प्रयास
पछिल्लो समय बर्दियामा मानव–वन्यजन्तुविचको द्वन्द न्यूनिकरणका लागि विविध प्रयास गरिएपनि आशातित उपलब्धी हुन सकेको छैन । निकुञ्जले गाउँघरमा बन्यजन्तुको प्रवेश रोक्न संवेदनशील क्षेत्रहरुमा जैविक, विद्युतिय लगायत कंक्रिट वालहरु लगाएको छ । त्यसले जंगली हात्तीहरुलाई रोक्न सकेको छैन । हात्तीले पटक पटक तारवारहरु भत्काई दिने गरेको छ ।
बर्दियामा अधिकांस बन्यजन्तुबाट मानविय आक्रमणको घटना जंगलमै हुने गरेकाले समुदायलाई जंगल क्षेत्रमा जथाभावी प्रवेश गर्न रोक लगाउँदै बन्यजन्तुका वासस्थानहरुमा नजान अनुरोध गरेका छौं । मानिसहरु गाई, भैसी, बाख्रा चराउन, घाँस, साग लगायत जथाभावी वनपैदावार संकलन गर्न निकुञ्ज प्रवेश गरेका कारण बन्यजन्तुको आक्रमणमा परेको पायौं । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले थपे जंगलबाट गाउँमा बन्यजन्तुको आवागमन रोक्न विद्युतिय तथा कंक्रिट वाल बनाएका छौं त्यसले केही हदसम्म आक्रामक जनावरहरुलाई जंगलमै रोक्ने गर्छ ।
समुदायले सावधानी अपनाई दिए घटनामा कमी आउँथ्यो । हामीले मानव–वन्यजन्तु विच सह–अस्तित्व निर्माण गर्न रणनिति योजना बनाएर अघि बढेका छौं । बर्दियाको गेरुवा, राजापुर, मधुवन, ठाकुरबाबा, बारबर्दिया र बासगढी नगरपालिका तथा सुर्खेत जिल्लाका केही पालिकाहरु निकुञ्जसँग जोडिएको छ । जुन संवेदनशिल छ । हामीले निकुञ्जसँग जोडिएका मध्यवर्ती क्षेत्रका स्थानियहरुलाई बन्यजन्तुबाट नोक्सानी नहुने बैकल्पिक खेती प्रर्बद्धनमा जोडदिदै वीमाको ब्यवस्था गरेका छौं । बन्यजन्तु जंगलबाहिर निस्किएको अवस्थामा माईक, साईरन लगायत एसएमएसबाट सूचना प्रवाह हुने ब्यवस्था छ उनले भने ।
संरक्षणमा समुदायको हातेमालो भएका कारण निकुञ्जमा बन्यजन्तुको संख्या बढ्दो क्रममा छ । निकुञ्जमा १ सय २० को हाराहारीमा जंगली हात्ती, राष्ट्रिय गैंडा गणना ०७७ अनुसार ३८ वटा एक सिंगे गैंडा र पछिल्लो बाघ गणना अनुसार बर्दियामा ८७ वटा पाटेबाघ छन् । बन्यजन्तुबाट हुने आक्रमणबाट समुदायलाई जोगाउन समस्याग्रस्त बन्यजन्तुहरु क्यामेरा मार्फत पहिचान गरी उद्धार केन्द्रहरुमा राख्ने गरेका छौं । समुदायमा सचेतनात्मक कार्यगर्दै घटना क्षेत्र लगायत मानिस आवागमन गर्ने क्षेत्रका झाडी, वुट्यानहरु सरसफाई गर्ने कार्यलाई तिव्रता दिएको उनले प्रष्ट्याए । साभार:अन्नपूर्ण पोस्ट्बाट ।