न्यायालयमा बेथिती बढेपछि गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश माथी महाअभियोग दर्ता : कृष्णबहादुर महरा
- सोमबार फाल्गुण २ , २०७८
डबल महतरा, बर्दिया । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरामाथि महाअभियोगको प्रस्ताव दर्ता भएको बताउनुभएको छ । जनयुद्ध दिवसको अवसरमा आईतवार बारबर्दिया आउनु भएका महराले कार्यकर्ता भेलामा सोकुरा बताउनु भएको हो ।
न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि त्यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको उल्लेख गर्नुभयो । पूर्व सभामुखसमेत रहनुभएका महराले राष्ट्रिय हित बिपरित एमसिसी पास हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘संशोधन र परिमार्जनबिना एमसिसी पास हुन सक्दैन ।’ कार्यकर्ताले राखेको जिज्ञासामा उहाँले पार्टी शहरीया र वुर्जुवाकरण हुँदै गएकोमा चिन्तासमेत व्यक्त गर्नुभयो । ‘शहरीया र वुर्जुवाकरण हुँदै गएको पार्टीलाई फेरि पनि जनताको पार्टी बनाउनका लागि गाउँ फर्किने अभियान सञ्चालन गरेको उहाँको भनाई थियो ।
‘नेतादेखि कार्यकर्तासम्म सबै जनतामा फर्किन आवश्यक छ ।’ गुलरियाको कृष्णसार कटेजमा माओवादी केन्द्र गुलरिया नगर समितिले आयोजना गरेको कार्यक्रममा बाँके जिल्लाका नेता तथा पार्टी केन्द्रीय सदस्य अञ्जना चौधरी, लुम्बिनी प्रदेश समिति सदस्य तथा बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारु ‘कबिर’, प्रदेश समिति सदस्य कोलराज पुरी, बिनायक रसायली, गुलरिया नगर समितिका अध्यक्ष गेहेन्द्र ढकाल लगायतका नेता कार्यकर्ताहरु सहभागी थिए । नेता महरालाई अन्य जिल्लाको कार्यक्रममा जान हतार भएकोले गुलरियाको कार्यक्रम छोटो पारिएको नगर अध्यक्ष गेहेन्द्र ढकलले बताउनुभयो ।