श्रीमानको क्रिया गर्न पाउँ सरकार
- सोमबार फाल्गुण २ , २०७८
यादव आचार्य, गुलरिया । द्वन्दकालिन अवस्थामा श्रीमान वेपत्ता भएपछि एक्लिएकी ठाकुरबाबा नगरपालिका वडा नम्वर ८ की जयन्ती शाहीका आँखा अझै ओभाएका छैनन् । घरमुली गुमाउनुको पिडा उनको मानसपटलमा सधैं ताजा रहँदै आएको छ । ०५८ सालमा राज्यपक्षबाट वेपत्ता श्रीमान हुकुम बहादुर शाही अझै घरमा फिरेनन् । परिवार पाल्ने एक मात्र सहारा जिउँदा छन् वा मृत छन् बेखवर अनि वेसहारा बनेर सन्तानका लागि बाँचेको जयन्तीले गहभर्दै सुनाईन् ।
वेपत्ता श्रीमान कुरेर बसेको दुई दशक वितिसक्यो । अब त गाउँघरमा समेत हेला गर्न थाले । भक्कानिँदै उनले भनिन् गाउँघरमा हुने शुभ कामहरुमा श्रीमान नभएकी महिला भनेर विभेद गर्छन् । अब त अति भैगो श्रीमान फर्किनु हुन्न जस्तो लाग्छ । सरकार अब त श्रीमानको क्रिया गर्न पाम । कति दिन अन्यौलमा जीवन गुजार्ने । क्रिया नगरे र होकी सधै सपनामा देख्छु । वेपत्ता श्रीमानलाई सम्झदै उनले थपिन् कहिले चराको रुपमा देख्छु । कहिले कुनै रुपमा देख्छु । छिमेकीहरुले पनि वितेको श्रीमानको क्रिया नगरेको भनेर सामाजिक रुपमै वहिष्कार गर्न थालीसके ।
पतिको संस्कार गर्न नपाउँदा शाहीलाई मनोसामाजिक समस्या पनि देखिन थालेको छ । २ छोरी र १ छोराको रेखदेखमा कठिनाई भोगेकी उनले छोरा छोरीलाई उचित शिक्षा दिन सकिनन् । सन्तानहरु पनि वेरोजगार छन् । सरकारले दिएको १० लाख रुपैयाले परिवारमा पनि झगडा गरायो । श्रीमान वेपत्ता भएकै कारण विभिन्न लाञ्छना र विभेदको चपेटामा परेकी छु उनले दुःखेसो पोख्दै उनले सोधिन् हाम्रो मानवअधिकार कहाँ छ ?
०५९ सालमा राज्यपक्षबाट श्रीमान लिखाराम थारु वेपत्ता पारिएपछि वेसहारा बनेकी गुलरिया नगरपालिका वडा नम्वर १२ की वेलरानी थारु सरकारले पिडितलाई दिएको १० लाख रुपैया परिवारमा झगडाको विउ बनेको बताईन् । जेठाजुहरुले अंशवण्डा गर्नुपर्छ भनेपछि परिवारमा झगडा मच्चियो । श्रीमानको मृत्यु दर्ता नहुँदा परिवारबाट पाउनु पर्ने अंशपनि पाएछैन । अब त श्रीमानको क्रिया गर्न पाएपनि हुन्थ्यो । उनको घरमा पनि साँस्कृतिक समस्याको जटिलता परेको सुनाईन् ।
ठाकुरबाबा नगरपालिका वडा नम्वर ४ की पानु थारुपनि राज्यपक्षबाट वेपत्ता पारिएका श्रीमान धामु चौधरीलाई कुरेर वसेकी छिन् । कागजात नबन्दा अंशवण्डा रुकेको उनको गुनासो छ । परिचय पत्र पाएपनि परिचय पत्रको आधारमा कुनै काम बन्दैन । छोराछोरी पढाउन सकिन । सरकारले मर्दो वा जिउँदो घोषणा गरी काजक्रिया गर्न दिए आफूहरुलाई धेरै सहज हुने उनको भनाई छ । द्वन्दपिडितहरु पिडकहरु उपर बदला लिने भावनाबाट रुपान्तरित भएका छन् । सरकारले समस्या समाधान गर्न ढिलासुस्ती गरेको छ । द्वन्दपिडित समिति बर्दियाका अध्यक्ष भागीराम थारुले भने । बर्दियामा देशैभरी भन्दा बढी वेपत्ता भएका छन् । साढे दुई सयभन्दा बढी जिल्लाबाट बेपत्ता पारिएको सरकारी तथ्यांक छ । ईन्सकेक लुम्विनी प्रदेस नेपालगञ्जले बेपत्ता परिवारलाई जिल्लाका संचारकर्मी माझ समस्या उजागर गर्न सहजीकरण गरेको छ ।
बर्दियामा पिडितहरुलाई परिचय पत्र दिने काम हुनु राम्रो कुरा हो । तर उनीहरु धेरै कानूनी अड्चनका बिच दिन गुजार्न बाध्यछन् । आयोगले छानविन गरी निकास दिन नसक्दा पछिल्लो समय पिडितहरुमा साँस्कृतिक समस्या देखिन थालेको छ । परिपुरणसहित संक्रमणकालिन न्यायलाई सम्बोधन गर्न ढिलाई गर्नु हुँदैन । थारुले थपे सम्मानसहितको सामाजिक न्यायको ग्यारेन्टी गर्नसक्नुपर्छ । अनिमात्र शान्ति प्रकृयाले सार्थकता पाउँछ । मेलमिलापको पाटोलाई थातीराख्दै जीवन यापनका लागि पिडितका सामु आएका समस्याहरु सम्वोधन गर्नेतर्फ आयोग लाग्नुपर्ने उनको सुझाव छ ।