बाघ दोब्बर बनाए बापत बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविकमार्गलाई टीएक्स टू पुरस्कार
- आइतबार माघ २३ , २०७८
यादव आचार्य, बर्दिया । विश्वबाटै लोपोन्मुख बन्यजन्तुको सूचिमा रहेको पाटेबाघ दोब्बर बनाउन सन् २०१० मा बाघ पाईने देशहरुले रुसको सेन्टपिटर्सवर्गमा गरेको प्रतिवद्धता अनुरुप नेपालमा पाटेबाघको संख्या बढेपछि टीएक्सटु अवार्ड प्रदान गर्ने घोषणा गरिएको छ । विश्वबन्यजन्तु कोष (डब्लुडब्लुएफ) सम्मिलित अन्र्तर्राष्ट्रिय संघ संस्थाहरुले नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्जसँग जोडिएको खाता जैविक मार्ग दुवैलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।
नेपालसँगै भारतको सत्यमंगलम टाईगर रिजर्वलाई पनि पुरस्कृत गर्न लागिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । विश्वमा बाघको संख्या दोब्बर पार्ने देशहरु अन्र्तगत नेपालका राष्ट्रिय निकुञ्जहरु मध्ये बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका जैविक मार्गहरु मध्ये भारतको कर्तनियाघाट बन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने बर्दियाको खाता जैविकमार्गलाई पुरस्कृत गर्ने घोषणा भएको हो ।
उनले भने बाघ दोब्बर पार्न संरक्षणमा स्थानिय समुदायको अपनत्व ग्रहणगर्दै जैविक मार्गले योगदान गरे बापत पुरस्कृत गरेको छ । निकुञ्जमा बाघ संरक्षणका लागि घाँसे मैदान, पानी पोखरी ब्यवस्थापन लगायत चोरी शिकार नियन्त्रणको परिणाम स्वरुप बाघ बृद्धि भएको छ । स्थानिय समुदाय, सरकार, मिडिया, नागरिक समाज सबैको संरक्षणमा भएको सहकार्यको प्रतिफल स्वरुप बर्दिया राष्ट्रिय निकुञ्ज अन्र्तर्राष्ट्रिय स्तरबाट पुरस्कृत हुन पाउँदा हामी धेरै हर्षित छौं । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ संरक्षणका लागि उल्लेख्य कार्य गरेको डब्लु डब्लु एफ लगायतका संस्थाहरुले सार्वजनिक गरे ।
आगामी सेप्टेम्वरमा रुसमा गरिने बाघ संरक्षण सम्वन्धी समारोहको अवसर पारेर अवार्ड प्रदान गरिने बुझिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको कन्जरवेशन अवार्ड पाउने भएपछि संरक्षणकर्मीहरु उत्साहित छन् । बर्दियामा सन् २००९ मा १८ वटा मात्र पाटेबाघ थिए । प्रतिवद्धतापछि हाल बर्दियामा करिव ९० वटा पाटेबाघ छन् । पछिल्लो तथ्यांक अनुसार नेपालमा चितवन (९३), बर्दिया (८७), बाँके (२१) पर्सा (१८) र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा (१६) गरी २ सय ३५ वटा पाटेबाघ छन् । नेपालमा बाघ गणना भैरहेकोले बाघको तथ्यांक बढ्ने अनुमान गरिएको छ ।
बाघलाई पारिस्थितिकिय प्रणालीको सूचक मानिन्छ । बाघ पाईने जंगल जैविकविविधता भरिपूर्ण हुने भएकाले पनि यसको संरक्षण जरुरी छ । यस अघिपनि बर्दिया राष्ट्रिय निकुञ्जले २०१९ सस्टेनएवल टप १०० डेस्टिनेशन अवार्ड प्राप्त गरिसकेको छ । निकुञ्जले पाएको अन्र्तर्राष्ट्रिय ख्यातीबाट विश्वमा बर्दियाको पहिचान बढ्ने विस्वास उनको छ । अवार्डबाट बर्दियाको विश्वभरी बाघ हेर्ने गन्तब्यको रुपमा पहिचान बनाएको छ । यसरी पहिचान बढ्दा कोभिड पछिको सामान्य अवस्थामा विदेशी पर्यटकहरु भित्रिने आशा गरिएको अधिकृत श्रेष्ठले सुनाए । साभार : अन्नपूर्ण पोस्ट्बाट …