टिप्परले लियो आगो तापिरहेका दुई जनाको ज्यान
- मंगलबार माघ १८ , २०७८
हरिवंश पाण्डे, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वार्ड नं. ३ सतपतियामा गए राति टिप्पर अनियन्त्रित भई घर अगाडि आँगनमा आगो तापेर बसिरहेका व्यक्तिलाई ठक्कर दिदा एक जनाको घटना स्थलमै र अर्का एक जनाको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको छ । सुर्खेतबाट बर्दियाको जमुनी तर्फ जाँदै गरेको भे १ क १४९५ नम्बरको टिप्पर अनियन्त्रित भै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बढैयाताल गाउँपालिका वार्ड नम्बर ३ बस्ने वर्ष ४५ को सोम बहादुर विकको घटना स्थलमै मृत्यु भएको छ । सोही बस्ने वर्ष ४५ को रामु थारुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यसै गरी वर्ष ३५ की प्रमिला चौधरी, वर्ष ४० को चमीलिया थारु र टिप्पर सह चालक सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वार्ड नम्बर ११, बस्ने वर्ष १९ का लक्ष्मण सुनार घाइते भएका छन् ।
टिप्पर चालक सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वार्ड नम्बर ११ घर भएका वर्ष ३३ को दुर्गा विकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।